काठमाडौं, १८ मंसिर । प्रमुख प्रतिपक्ष कांग्रेसले दुई तिहाइ समर्थनबाट बनेको प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार आर्थिक समृद्धिका यात्रा तय गर्न नसकेको निष्कर्षसाथ पार्टीको आर्थिक नीति र कार्यक्रम तयार पारेको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
पार्टी सहमहामन्त्री प्रकाशरण महत नेतृत्वको समितिले तयार पारेको प्रतिवेदन मंगलबार केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गर्ने तयारी छ ।
मंसिर २८ देखि सुरु हुने महासमिति बैठकमा प्रस्तुत गर्नका लागि उपसभापति विमलेन्द्र निधिको नेतृत्वमा राजनीतिक र महत नेतृत्वमा आर्थिक लेखन समिति बनेको थियो ।
महतको प्रतिवेदन प्रस्तुत गरेलगत्तै निधि नेतृत्वको समितिले पनि राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछ । यी दुवै प्रतिवेदन केन्द्रीय कार्यसमितिको बैठकमा छलफल हुनेछन् । केन्द्रीय सदस्यहरूको सुझावलाई समेत समावेश गरी परिमार्जित प्रतिवेदन महासमिति बैठकमा प्रस्तुत गरिनेछ ।
‘महासमिति बैठकले पारित गरेपछि पार्टीको आधिकारिक दस्ताबेजका रूपमा रहनेछ,’ सहमहामन्त्री महतले भने, ‘पार्टीको नेतृत्वमा सरकार बन्दा या सरकारमा सहभागी हुँदा यो दस्ताबेज जगका रूपमा रहनेछ ।’
सरकारको ९ महिनाको कार्यकालले आर्थिक समृद्धिका लागि आवश्यक पूर्वाधार र वातावरण निर्माण गर्नुको साटो उद्योग व्यवसायी र निजी क्षेत्रलाई हतोत्साही बनाउने काम भएको कांग्रेसको ठहर छ ।
‘आफूले भनेअनुसार चल्ने उद्योग व्यवसायीलाई प्रोत्साहन गर्ने तर कानुनअनुसार चल्ने उद्योग व्यवसायीलाई नियन्त्रण गर्न खोज्ने सरकारको नीति देखिन्छ,’ महतले भने, ‘नौ महिनाको अवधिमा निजी क्षेत्रको लगानी घटेको छ । उद्योग क्षेत्र धारशायी अवस्थामा छन् । बाह्य लगानीको वातावरण छैन । सरकारको अनुदार र नियन्त्रणकारी नीतिका कारण पुँजी बिदेसिएको छ । सरकारको यस्तो नीतिले आर्थिक समृद्धि होइन, आर्थिक संकट ल्याउने खतरा छ ।’















प्रतिक्रिया