११ कार्तिक २०८३, बुधबार

सम्पत्ति हत्याउने खेल, बाबु छाेराकै पटक पटक मृत्यु दर्ता जारी

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ मंसिर । मान्छेको मृत्यु भएपछि सम्बन्धित मृतकका परिवारले एक पटक मात्र मृत्यु दर्ता बनाउन पाउने नियम छ । तर, सिरहा जिल्लाको लहान नगरपालिका, १२ मा एक मृतक व्यक्ति बाबु छोराको फरक फरक मिति राखेर मृत्यु दर्ता प्रमाण पत्र बनाएको भेटिएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

साविकको पडरिया गाविस, ८ मा पर्ने पाँचु फनैत थारुको नाममा फरक मिति राखेर तीन पटक मृत्यु दर्ता गरिएको खुलेको हो । वडा नं। १२ को कार्यालयमा रहेको अभिलेखअनुसार २४ मंसिर २०४७ मा मृत्यु दर्ता प्रमाण पत्र जारी गरिएको देखाएको छ । जसमा उनकी पत्नी जोखनी चौधरीको समेत मृत्यु भएको भन्ने आधार रहेको छ । उक्त प्रमाण पत्रमा उनको मृत्यु ८ मंसिर २०४४ मा भएको उल्लेख छ ।

किशोर कुमार चौधरी सूचक रहेको अर्को मृत्यु दर्ता २५ वैशाख २०४९ मा जारी भएको छ । यस प्रमाण पत्रमा पाँचुको ७४ वर्षको उमेरमा १५ वैशाख २०४७ मृत्यु भएको उल्लेख गरिएको छ । यस्तै १७ चैत २०५१ मा जारी मृत्यु दर्ता प्रमाण पत्रमा ६५ वर्षको उमेरमा २ मंसिर २०४४ मा मृत्यु भएको उल्लेख गरिएको छ ।

मृतकका आफन्तको भनाई अनुसार पाँचुको मृत्यु ८ मंसिर २०४४ मा भएको हो । उनकी पत्नी जोखनी सूचक रहेको २४ मंसिर २०४७ मा तत्कालीन गाविस कार्यालयबाट जारी मृत्यु दर्ता प्रमाण पत्र नै सही रहेको परिवारको दाबी रहेको छ ।

पूर्व पश्चिम सडकअन्तर्गत भोटिया टोलमा पाँचुको नाममा रहेको एक अर्बभन्दा बढीको सम्पत्ति हत्याउन उनको मृत्यु दर्ता बारम्बार भएको आफन्तले जनाएको छ । उनको नाममा करिब चार बिघा जग्गा हत्याउन माफियाले पाँचु फरक फरक मितिमा मृत्यु दर्ता निकालेको परिवारले जनाएको छ । माफियाले नक्कली मृत्यु दर्ता बनाएर केही जग्गा नामसारी गरेको परिवारजनले बताए पनि कुनै तथ्य फेला पार्न सकेको छैन ।

मृत्यु भइसकेको पाँचुको सम्पत्तिको हकवाला कान्छो छोरा लालबिहारी चौधरीको समेत दुई वटा मृत्यु दर्ता बनाएको अभिलेखमा भेटिएको छ । जोखनी थरुनी सूचक रहेको मृत्यु दर्ता २८ चैत २०५८ मा जारी गरिएको छ । यस मृत्यु दर्तामा ३ वैशाख २०४७ मा मृत्यु भएको जनाएको छ ।

उनको अर्को मृत्यु दर्ता १७ चैत २०५१ मा जारी भएको देखाएको छ । यस प्रमाण पत्रका अनुसार लालबिहारीको ५ माघ २०४३ मा मृत्यु भएको उल्लेख छ । उनको मृत्यु ३ वैशाख २०४७ मा भएको परिवाजनको बताएका छन् ।