३० आश्विन २०८३, शुक्रबार

 ‘सुपारी तस्करी’ गरेरै बाँचेको गाउँ, जहाँ सीमा कटाउन प्रहरीलाई २० रुपैयाँ तिरे पुग्छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

supari_20121103093400

– लक्ष्मी काफ्ले

काँकरभिट्टा १६ माघ । झट्ट हेर्दा काँकरभिट्टा नाकामा सुरक्षा स्थिति निकै नै कडा पारेको देखिन्छ ।
तस्करी रोक्न नेपाल प्रहरी अनि शसस्त्र प्रहरीलाई हतियार सहित खटाइएको छ ।

तर, मेची पुलबाट केही मिटर दक्षिणमा पर्ने गाउँ ‘भान्साखोला’ हेर्दा रमाईलो ठाउँ देखिएपनि यहाँको कहानी भने बेग्लै छ । भान्सा खोलाका अधिकांशको रोजिरोटी सुपारी सीमा कटाउनु नै हो ।

उनीहरु निर्धक्कसँग भन्छन्, ‘यहि सुपारी नै हाम्रो कमाई खाने मेलो हो । हामी सबैले गर्ने सुपारीकै काम हो ।’ भान्साखोलामा बस्ने नेपाली मात्र होईन, सीमापारीका केही भारतीय नागरिकको पनि दैनिकी सुपारी सीमा कटाउनु नै हो ।

उनीहरु एक पटकमा एक किलोदेखि पाँच किलोसम्म सुपारी शरीरमा लुकाएर कटाउने बताउँछन् । भारतबाट सुपारी लिन भान्साखोला आएका महिलाहरु प्रहरीलाई पैसा दिएको पनि खुलेरै बताउँछन् ।

यहाँ बस्ने अधिकांश नागरिक सुपारी सीमा कटाएरै जीवन चलाउँछन् । यन्य क्षेत्रकाले पनि यहाँ बसेर यही ‘धन्दा’ गर्ने गरेका छन् । ‘हुन त खेतीपाती गर्दा पनि हुन्थ्यो होला तर हामीलाई खेतीबाट मात्र पोशाउँदैन ।’ स्थानीय अर्जुन बाँस्कोटा भन्छन्– ‘खेतीले त त्यही चामल त आउने हो नि । हामीलाई बाहिरी खर्च आउने सुपारीले नै हो ।’

उनले सुपारी ओसार–पसारलाई ‘पार्ट टाईम’ बताएता पनि उनीहरु आफ्नो पूरै समय सुपारी तस्करीमै बिताउँछन् । काँकरभिट्टाका गोदामवालाबाट सुपारी किनेर लुकिछिपी भारत पुर्याउनु भान्साखोला बासीको पेशा हो ।

सुपारी तस्करी रोक्नकै लागि भन्दै ईलाका प्रहरी कार्यालय काँकरभिट्टाले भान्साखोलाको बाटो–बाटोमा, गल्ली गल्लीमा प्रहरी खटाएको छ । भान्साखोलाका घरैपिच्छे नेपाल प्रहरी देखिन्छन् ।

‘रोक्न त खोज्छन् नि, तर पनि लुकिछिपि लैजाने गरेका छौं,’ बाँस्कोटाकी बहिनीले भनिन्– ‘पुलिसले भेट्यो भने त मान्छेसहित लिएर जान्छ नि । छोरी मान्छे पनि भन्दैन लगेर भन्सार बुझाईदिन्छ ।’ उनीहरुका अनुसार पहिले भान्साखोलाबासी कपडा ओसार्ने काम गर्थे ।
त्यो बन्द भएपछि सुपारीको ‘लाईन’ समातेको चार वर्ष भएको उनीहरु बताउँछन् । पहिले नाम्लो लगाएर बोरा–बोरा कटाएको सम्झिँदै उनले भनिन् ‘अहिले त्यसो गर्न सक्ने अवस्था छैन । लुकिछिपि पोका–पोका कटाउने गरेका छौं ।’

दिउँसो हामी त्यहाँ पुगेकै बेला हतियारसहित आधा दर्जन भारतीय प्रहरी भान्साखोला प्रवेश गरी स्थानीयबासीलाई केरकार गरिरहेका थिए । भारतीय प्रहरी नेपाल प्रवेश गरेका बेला सुरुमा भान्साखोलाका घरघरमा देखिएका नेपाल प्रहरीको छायाँ पनि भेटिएन ।

यसअघि पनि भारतीय सीमा सुरक्षा बल एसएसबीको टोलीले दशगजा क्षेत्र नाघेर नेपाली भुमी खानतलासी गरेको प्रशस्त सुनिन्थ्यो । एसएसबीका कमाण्डर अतुल मिश्र नेतृत्वको भारतीय शसस्त्र प्रहरीको टोलीले नेपाल–भारत सीमामा पर्ने मेचीपुल दक्षिणतर्फको मेचीनगर–११ भान्साखोलास्थित हरि चौधरीलगायतको घरमा अनुमतिबिना पसेर आतङ्क मच्चाएको भन्दै स्थानीयबासीले गुनासो गरेका थिए ।
भारतीय प्रहरी भान्साखोलामा दिनहुँ आउँदा पनि न नेपाल प्रहरीले केही भन्न सक्छ न स्थानीयले नै । भारतीय प्रहरी भान्साखोला आउनुको कारण पनि सुपारी नै हो ।

घरव्यवहार कसरी चलाउँदैहुनुहुन्छ भन्ने जिज्ञासामा भान्साखोलामा पाँच वर्षदेखि बस्दै आएकी देवकुमारी चौधरीले भनिन्– ‘यो ठाउँमा त्यै सुपारी वारीपारी त हो नि ।’ दिनमा १५ देखि २० किलोसम्म सुपारी पारी कटाउने गरेको उनले बताईन् ।

प्रहरीले देख्नासाथ भागेर जोगिन अभ्यस्त भईसकेको उनले सुनाइन् । ‘फिटिङ’ गरेर (शरीरमा लुकाएर) डेढ किलो÷ दुई किलो गर्दै दिनभरी पारी कटाउने गरेको उनले बताईन् । ‘अरु कामै छैन अनि के काम गर्नु त ?’ प्रश्न गर्दै चौधरीले भनिन्– ‘खेतीपाती पनि छैन, काम पनि छैन, गरेर त खानै पर्यो नि ।’

एक सय ६० भारतीय रुपैयाँमा किनेर एक सय ८० सम्ममा बेच्ने गरेको उनले बताईन् । उनीहरुलाई एउटै कुराले सताईरहन्छ– ‘प्रहरीले सुपारी समात्यो भने ऋणमा डुबिन्छ ।’

भान्साखोलाका बासीन्दा भारतीय प्रहरीको विरुद्ध ठूला आवाज गर्न सक्दैनन् । उनीहरु दशगजा क्षेत्रमा छन् । नेपाल प्रहरीसँग भन्दा भारतीय प्रहरीसँग उनीहरु डराउँछन् ।

भारतीय प्रहरी दिनहुँ आएर केरकार गरिरहँदा पनि उनीहरु कुरा लुकाउँछन् । ‘भर्खरै ‘‘माल है कि नहिँ है’’ भन्दै आएका थिए’ देवकुमारीले भनिन् –‘अलिकति सुपारी थियो त्यो पनि लिएर गए ।’

भान्साखोलामै जन्मिएका शुवास राईको पनि दैनिकी सुपारी पार गराउँदैमा बित्ने गरेको छ । सीमाना हेर्न र सुपारी चेकजाँच गर्न उनीहरु नेपाल आउने र घर–घरमा छिरेर सुपारी लैजाने गरेको राईले बताए ।

भारतीय महिलाहरुको ठूलो समूह देखिन्छ भान्साखोलामा । उनीहरु नेपाली बोल्न पनि जान्दैनन् । भान्साखोला पूर्वपट्टिको बगरमा उनीहरु घाम तापेर बस्छन् । प्रहरीको आँखा छल्दै उनीहरु सुपारी पार गराउँछन् । भान्साखोलाबाट सुपारी कटाउन सजिलो भएको उनीहरु बताउँछन् ।
यतिबेला उनीहरु सजिलै खोला तर्न सक्छन् । जसका कारण मेची पुलमा हतियार बोकेर बसेका नेपाल प्रहरीबाट उनीहरु जोगिन्छन् । तर, भारतीय प्रहरीलाई भने पैसा नतिरी सुपारी कटाउन नसकिने भारतीय महिलाहरु बताउँछन् । ‘उता केही काम छैन के गर्नु र ? बरु यहाँ २÷४ किलो भएपनि सुपारी हुन्छ नि ।’

एक भारतीय महिलाले उनको आफ्नै भाषामा भनिन्– ‘पानीट्यांकीमा लगेर बेच्दै परिवार चलाउँदैछु ।’ उनले १०÷१० रुपैयाँ गर्दै दिनभरीमा भारु एक सय रुपैयाँजति प्रहरीलाई दिने गरेको बताईन् ।

ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी अर्जुनप्रसाद तिम्सिनाले सुपारी तस्करी नियन्त्रण गर्न आफूले कुनै कसर बाँकी नराखेको बताएता पनि उनको क्षेत्रमा एउटा सिङ्गो गाउँ नै ‘सुपारी तस्करी’ले टिकेको छ ।

तस्करीमा संलग्न महिलाहरुका अनुसार फिटिङ गरेर पारी कटाउँदै गरेको नेपाल प्रहरीले थाहा पाएमा २० रुपैयाँ तिरे पुग्छ ।