११ कार्तिक २०८३, बुधबार

१५ कात्तिकको गोप्य बैठकमै सहमति, निर्वाचन अगाडि मिलेका यी पार्टीहरू फुट्ने खतरा

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ मंसिर । राष्ट्रिय जनता पार्टी नेपालमा आन्तरिक संकट गहिरिन थालेको छ । पार्टीको संयोजक परिवर्तन भएसँगै राजपा अध्यक्षमण्डलको बैठक बहिष्कार गर्ने तहसम्म विवाद बढेको छ । गत मंगलबारको राजपा अध्यक्षमण्डलको बहुमत निर्णयले महन्थ ठाकुरलाई हटाएर राजेन्द्र महतोलाई संयोजक तोकेको थियो । जुन निर्णय अहिले विवादमा परेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

राजपा संयोजक महतोले सोमबारका लागि बोलाएको अध्यक्षमण्डलको बैठक स्थगित भएको छ । अध्यक्षमण्डलका सदस्यद्वय ठाकुर र अनिल झाले बहिष्कार गरेपछि बैठक स्थगित भएको स्रोतले बताएको छ । तर, अर्को पक्षले भने राजकिशोर यादव काठमाडौंबाहिर भएकाले बैठक स्थगित भएको दाबी गरेको छ । ‘अध्यक्षमण्डलका सदस्य राजकिशोर यादव बैठकको समयभित्र आइपुग्ने अवस्था नभएकाले बैठक स्थगित भएको हो,’ महासचिव केशव झाले नयाँ पत्रिकासँग भने । ठाकुरनिकट नेता डा। सुरेन्द्र झाले भने यादवको अनुपस्थितिलाई बहाना बनाएर बैठक स्थगित गरेको बताए ।

बैठकमा पार्टीभित्र देखिएको विवादलाई व्यवस्थापन र सरकारलाई दिएको समर्थनबारे पनि छलफल गर्ने एजेन्डा थियो । तर, ठाकुर र झाले गत मंगलबारको अध्यक्षमण्डलका बहुमतले गरेको निर्णय नमान्ने अडानमा रहेका एजेन्डा अलपत्र परेको छ ।

कहाँबाट सुरु भयो विवाद ?

७ वैशाख ०७४ मा ६ वटा मधेसकेन्द्रित दलहरू मिलेर राजपा गठन भएको हो । पार्टी एकता भए पनि डेढ वर्षसम्म महाधिवेशन हुन सकेको छैन, जबकि निर्वाचन आयोगमा बुझाएको राजनीतिक प्रतिवेदन र पार्टीको विधान बुझाउने क्रममा एक वर्षभित्र महाधिवेशन गर्ने भनिएको थियो । गत असारमा निर्वाचन आयोगले पत्र लेखेर यो कुरा सम्झाएको पनि थियो । तर, नेता व्यवस्थापनमा समस्या भएपछि राजपाले अहिलेसम्म पार्टीको विधानमा समेत सहमति जुटाउन सकेको छैन । जनमत कमजोर भएका ठाकुरले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभामा आफूनिकटका नेतालाई बढी उम्मेदवार बनाएपछि त्यहीँबाट विवाद सुरुवात भएको हो ।

त्यसैगरी, राष्ट्रिय सभा सदस्यमा आफूनिकट वृशेषचन्द्र लाललाई पठाएको, प्रदेश २ को संसदीय दलको नेतामा जितेन्द्र सोनल र प्रमुख सचेतकमा परमेश्वर झालाई बनाएको आरोप ठाकुरमाथि छ । साथै, संसदीय दलको नेतालाई मन्त्री नबनाउने सहमतिविपरीत सोनललाई मन्त्री बनाएको र राज्यमन्त्री बनाउँदा शरतसिंह भण्डारीको टिमबाट एकजनालाई बनाउने सहमतिविपरीत आफ्नै मान्छे पठाएको भन्दै अध्यक्षमण्डलमा असन्तुष्टि थियो । प्रतिनिधिसभामा ठाकुर आफैँ संसदीय दलको नेता भएकोप्रति पनि आक्रोश छ । दलको नेतामा राजेन्द्र महतो पनि दाबेदार थिए । प्रदेश २ मा नीति आयोग गठन र प्रदेशको नामकरण तथा राजधानी तय गर्न गठन समितिमा सदस्य चयन गर्दा ठाकुरले एकलौटी गरेको बहुमत अध्यक्षहरूको आरोप छ ।

१५ कात्तिकको गोप्य बैठकमै सहमति

गत १५ कात्तिकमा ठाकुरविरुद्ध अध्यक्षमण्डलका अन्य सदस्यको गठजोडले मूर्त रूप पाएको हो । ठाकुरले पार्टी एकलौटी रूपमा चलाएको भन्नेमा अध्यक्षमण्डलका सदस्यहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, राजकिशोर यादव र महेन्द्रराय यादव सहमत भएका थिए । भण्डारीको महोत्तरीमा रहेको होटेल पवन मिथिलामा बैठक भएको थियो ।

सोही बैठकमा सहमति भएअनुसार गत मंगलबारको अध्यक्षमण्डलको बैठकमा ठाकुरलाई संयोजकबाट हटाइएको हो । बैठकमा महेन्द्र राय यादवले विधानअनुसार अब अध्यक्षमण्डल चक्रीय प्रणालीमा जानुपर्ने प्रस्ताव राखेका थिए र त्यसमा समर्थन गर्दै थप व्याख्या भण्डारीले गरेका थिए ।

पार्टी फुट्न पनि सक्छ

विवाद बढ्दै गएपछि राजपा विभाजन हुन सक्ने टिप्पणी सुरु भएको छ । ठाकुरनिकट नेताहरूले अनौपचारिक छलफल सुरु गरेका छन् । ठाकुरनिकट नेता वृशेषचन्द्र लालले भने, ‘पार्टीभित्र उत्पन्न असहज परिस्थितिबारे हामी साथीहरूसँग अनौपचारिक छलफलमा छौँ ।’ राजनीतिक दलसम्बन्धी नयाँ व्यवस्थाअनुसार पार्टी विभाजन गरी नयाँ दर्ता गर्न केन्द्रीय समिति र संसदीय दल दुवैमा कम्तीमा ४० प्रतिशत सदस्य पु(याउनुपर्छ । संसदीय दलमा राजेन्द्र महतो बलियो भए पनि ठाकुर र झा मिल्दा केही सदस्य मात्रै पुग्दैनन् । राजपा स्रोतले भन्यो, ‘त्यसैले अहिले तत्काल पाटी विभाजनको अवस्था नरहे पनि प्रयास भने देखिन थालेको छ ।’

‘पर्ख र हेर’को स्थितिमा छौँ
वृशेषचन्द्र लाल, वरिष्ठ नेता राजपा

राजपा गठन हुँदा सबैले महन्थ ठाकुरको नेतृत्वमा अगाडि बढ्छौँ भनेर वाचा गरेका थिए । गत ४ देखि ६ असारसम्म भएको राजनीतिक समितिको बैठकमा आगामी वैशाखमा एकता महाधिवेशन गर्ने र ठाकुरको संयोजकत्वमा जाने निर्णय भएको थियो । तर, अहिले एक्कासि संयोजक फेरियो । अध्यक्षमण्डलको एक सदस्यले ठाकुरलाई साह्रै नराम्रो शब्द प्रयोग गर्नुभएको छ । त्यसैले, अहिले मधेसमा मुद्दाको एजेन्डाप्रति प्रतिबद्ध हुने कि राजनीतिक व्यापार गर्ने रु भन्ने प्रश्न उठेको छ । हामी अहिले ‘पर्ख र हेर’ को अवस्था छौँ । परिस्थिति फेरिएन भने फरक ढंगले सोच्न बाध्य हुनेछौँ ।