
काठमाडौं, १० मंसिर । जनकपुर उपमहानगरपालिकाको एउटा गरिब परिवारकी १६ वर्षीया छोरी अरूको घरमा काम गरेर फर्किरहेकी थिइन् । बाटोमा दुईजनाले उनलाई समातेर नजिकैको एउटा घरमा लगेर सातजनाले रातभरि बलात्कार गरे । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
ती बालिकाका अनुसार, बलात्कारीले बिहान हुन लागेपछि उनलाई घरछेउमा लगेर छाडिदिए । कहिलेकाहीँ काम गर्ने घरमै पनि रात बस्ने गरेकाले घरमा सोधखोज भएन । उनलाई ती बलात्कारीहरूले घटना कसैलाई नभन्नु र भने परिवारै सिध्याइदिने भनेर धम्की दिएका थिए । तर, दुई दिनपछि एकजना दिदी पर्नेलाई त्यो कुरा भनेपछि उनकी हजुरआमाले ‘प्रहरीमा जानुपर्छ’ भनिन् । घटनाको चार दिनपछि जिल्ला प्रहरी कार्यालय, धनुषामा जाहेरी दर्ता भयो ।
बलात्कारमा संलग्न सातमध्ये तीन जना सुमन पाण्डे, धनिकलाल साह र राहुल भनिने ओजिर हुसैन अहिले पुर्पक्षका लागि थुनामा छन् भने रन्जितकुमार साह ९महोत्तरी० र सिद्धार्थ दास ९धनुषा० फरार छन् । अरू दुईजना पीडितले पनि चिनेका थिएनन् र प्रहरीले पनि पत्ता लगाउन सकेको छैन । हाल काठमाडौंको एक संस्थाको संरक्षणमा बसिरहेकी ती बालिकालाई उनको घरमा पुनस्र्थापना गर्न समस्या छ । त्यही भएर परिवारले पनि यतै बसेर पढोस् भन्ने चाहेको छ । घर फर्केमा ती बालिकालाई जुनसुकै वेला आक्रमण हुन सक्ने पीडित परिवारका सदस्यहरू बताउँछन् । पीडकहरू पाण्डे, साह र हुसैनले आफूहरूलाई थुनामा राख्नु नपर्ने भनेर पुनरावेदन अदालत, जनकपुरमा पुनरावेदन गरेका छन् ।
रौतहटको गुजरा नगरपालिकाकी एक बालिका ०७४ वैशाखमा एकाएक हराइन् । परिवारले तत्कालै प्रहरीमा खबर ग¥यो । तर, प्रहरीले दुई महिनासम्म किशोरी कहाँ छिन् भनेर पत्ता लगाउन सकेन । अपहरणमा परेकी किशोरी करिब दुई महिनापछि फेला परिन् । त्यसपछि किशोरीलाई अपहरण गर्ने मुख्य योजनाकार स्थानीय औषधिपसले बलिष्टर चौधरी पक्राउ परे । चौधरीलगायतले ती किशोरीलाई वीरगन्जमा कोठा लिएर बन्धक बनाएर राखेका थिए ।
इलाका प्रहरी कार्यालय, गरुडाका अनुसार, १३ वर्षीया ती बालिकाले क्रमशः ३५, २४ र १९ वर्षका बलिष्टर चौधरी, धमेन्द्रकुमार चौधरी र जियालाल महतोले आफूलाई पटक–पटक बलात्कार गरेको बताएकी छिन् । तीनैजनालाई पुर्पक्षका लागि थुनामा राखेर अपहरण, शरीर बन्धक र बलात्कारमा जिल्ला अदालत, रौतहटमा मुद्दा चलिरहेको छ ।
तर, मुद्दा फिर्ता लिन किशोरीका बाबुआमालाई पटक–पटक धम्की आएकाले उनीहरूसमेत काठमाडौंमा बस्न थालेका छन् । सानोतिनो व्यापार गरेर बसेका उनीहरूको पारिवारिक जीवन चौपट भएको छ । किशोरीका बाबु भन्छन्, ‘छोरीको जीवन पनि बर्बाद भयो, हाम्रो अवस्था पनि बर्बाद भयो ।’
०७५ जेठको कुरा हो, पाँचथर फिदिमकी एक १४ वर्षीया बालिकालाई छिमेकीले बलात्कार गरे । गरिब परिवारकी उनी तीनजना दिदीबहिनी र एक भाइसहित आमासँग बस्थिन् । बाबुले पहिले नै छाडेर हिँडेका थिए । छिमेकीले मोटरसाइकल चढाएर घर पु(याइदिन्छु भनेर जंगलमा लगेर बलात्कार गरेका थिए ।
केही दिनमै पीडक पक्राउ परे । उनलाई जिल्ला अदालत, पाँचथरले १० वर्षको कैदसजाय हुने फैसला गरेको छ । तर, उनले बाहिर निस्किएपछि ‘खसीबोका जसरी काट्छु’ भन्ने धम्कीका खबर जेलबाटै पठाइरहेका छन् । पीडित परिवारलाई छरछिमेकले सहयोग त गरेका छन्, तर आमालाई अरू छोरीहरूको चिन्ता छ । संस्थाले पुनस्र्थापना गर्ने तयारी गरे पनि ती बालिका डरले घर जान चाहेकी छैनन् । गएको दसैँमा घर पठाउँदा पनि उनी डरले फेरि काठमाडौं आएकी छिन् ।
तीन वर्षअघि स्याङ्जाको एउटा गाउँको घरमा हजुरबा, आमा र नातिनी बस्थे । नातिनी ६ वर्षकी हुँदा आमा घर छाडेर हिँडिन् । उनको हेरचाह र स्याहारसुसार ७० वर्षीय वृद्ध हजुरबाको जिम्मामा पुग्यो । ती बालिकाले स्कुलमा सधैँ पेट दुख्यो भनेर गुनासो गर्न थालेपछि शिक्षिकाले सोधखोज गरिन् । फकाएपछि केही कुरा बालिकाले आफैँ खोलिन् । स्वास्थ्य परीक्षणपछि हजुरबाले करिब ६ महिनादेखि उनलाई बलात्कार गर्दै आएको पत्ता लाग्यो ।
हजुरबाविरुद्ध जिल्ला प्रहरी कार्यालय, स्याङ्जामा जाहेरी दर्ता भयो । उनी पक्राउ परे । एक वर्षपछि अदालतले उनलाई १० वर्ष कैद हुने फैसला सुनायो । पीडित बालिकालाई अहिले पोखरास्थित एउटा गैरसरकारी संस्थाले चलाएको ‘सेफ हाउस’मा राखिएको छ । तर, सो संस्था आफैँ समस्यामा परेको छ । संस्थाका एकजना प्रतिनिधि भन्छन्,‘उनलाई पठाउने ठाउँ र जिम्मा लगाउने व्यक्ति नै छैन ।’















प्रतिक्रिया