१ कार्तिक २०८३, शनिबार

अमेरिकामा अस्पतालभित्रै गोली चल्यो, चारजनाको मृत्यु

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क, ४ मंसिर । अमेरिकाको सिकागोमा रहेको एक अस्पतालमा अन्धाधुन्ध गोली प्रहार भएको छ । बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा चारजनाको ज्यान गएको छ ।

अस्पतालमा भएको गोलीकाण्डमा अस्पतालका दुई महिला कर्मचारी, एकजना प्रहरी अधिकारी र आक्रमणकारीको ज्यान गएको हो । ज्यान गुमाउने दुई महिला मध्ये एकजना डाक्टर तथा अर्की एक पारामेडिकल असिस्टेन्ट रहेको सिकागोका मेयर राहम इम्यानुयलले पुष्टि गरेका छन् ।

प्रहरीसँगको गोली हानाहानमा आक्रमणकारीको पनि ज्यान गएको बताइएको छ । तर बन्दुकधारीले आफैले आफूलाई गोली हानेको हो वा होइन भन्ने खुलेको छैन । घटनामा एक प्रहरी अधिकारी घाइते भएका छन् ।

आक्रमणकारीले आफू प्रेम सम्बन्धमा रहेकी महिलालाई निशाना बनाएको बताइएको छ तर घटनाको उद्देश्य स्पष्ट भएको छैन ।

घटना नेपाली समय अनुसार मंगलबार बिहान पौने तीन बजे भएको हो । सिकागोको मर्सी अस्पतालमा आक्रमण भएको हो ।

आक्रमणकारीले अस्पतालको कार पार्किङ्ग गर्ने क्षेत्रबाट अन्धाधुन्ध गोली चलाउन सुरु गरेका हुन् । आक्रमण लगत्तै अस्पताल खाली गरिएको थियो । प्रहरीले अस्पतालमा रहेका बिरामीलाई सुरक्षित रुपमा लैजान सफल भएको जनाइएको छ ।

अमेरिकाका स्वास्थ्य कार्यकर्ताले बन्दुक आक्रमण विरुद्ध अनलाइन अभियान सुरु गरेकै केही दिनमा अस्पतालमा आक्रमण भएको हो ।

अमेरिकामा यो वर्ष अहिलेसम्म झण्डै १३ हजार जनाको बन्दुकसँग सम्बन्धित हिंसात्मक घटनामा परि ज्यान गएको छ । यस्तै २५ हजार भन्दा बढी घाइते भएका छन् भने २५० भन्दा बढी प्रहरी अधिकारीमाथि ड्युटिमै रहेका बेला गोली प्रहार भएको छ । एजेन्सी