अर्घाखांची जिल्लामा जन्मिएर अमेरिकी नेपाली सामुदायिक सेवामा निरन्तर लागिरहनुभएका ब्यवसायी बाला घिमिरे चिनाईरहनुपर्ने होईन । हाल शिकागो शहरमा ब्यबसायमा संलग्न घिमिरे स्थानीय बिभिन्न सामाजिक संस्थाहरुमा आबद्ध हुनुहुन्छ । विगत १८ बर्षदेखी अमेरिकामा रहेर सामाजिक सेवामा उत्तिकै संलग्न राजनैतिक शास्त्र विषयका स्नाकोत्तर शिक्षित श्री घिमिरे अमेरिकी सरकारबाट ‘ब्यबसायिक स्वयंसेवा पुरस्कार – २०१३’ प्राप्त गर्ने सम्भवत: पहिलो भाग्यमानी नेपाली हुनुहुन्छ । एनआरएन एनसिसी, अमेरिकाको चुनाबले नेपाली समुदायमा बढेको सरगर्मीका बिच एनआरएन आईसिसी सदस्य पदमा आफ्नो उम्मेदवारी दिनुभएका घिमिरेसंग गोकुल ढकालको कुराकानी :
घिमिरेजी आफ्नोबारेमा केही बताईदिनुस् न ।
म बाला घिमिरे । मेरो जन्म अर्घांखांची र पछि म बुटवलमा बसोबास गरें । हाल अमेरिकाको शिकागो शहरमा रेस्टुरेन्ट ब्यबसायमा संलग्न रहंदै आएको छु ।
तपाईंको शैक्षिक योग्यताको बारेमा केही बताईदिनुहुन्छ ?
बिद्धालयस्तरको शिक्षा बसाई सराईको क्रममा अनेक बिद्धालयमा आर्जन गरे ता पनि मैले राजनीति शास्त्रमा स्नाकोत्तर सम्मको अध्ययन पूरा गरेको छु ।
अमेरिकामा रहेर पनि तपाई सामुदायिक सेवामा सुनिरहिने नाम हुनुहुन्छ । कुन कुना संस्थाहरुसंग आबद्ध हुनुहुन्छ ?
समाज र सामुदायिक सेवामा मेरो चाख बढी रहिआएकोले त्यसैको निरन्तरतास्वरुप अमेरिकामा रहेर पनि स्थानिय बिभिन्न नेपाली सामाजिक संघ-संस्था र अन्य अमेरिकन संस्थाहरुमा आबद्ध छु । अमेरिका बसाईको १८ बर्षको यो दौरानमा म ANMA (एन्मा), NASEA (नासे) लगायत संस्थाहरुमा निरन्तर लागिरहेको छु । यसका अलावा नेपाल र अमेरिकी बिभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुमा सल्लाहकार छु । एनआरएनमा मेरो संलग्नता त मेरो उम्मेदवारीबाटै थाहा पाईहल्नुभयो ।
हजुर, तपाईं अमेरिकी राष्ट्रपति बाराक ओबामाबाट पुरस्कार प्राप्त गर्ने सम्भवत पहिलो भाग्यमानी नेपाली हुनुहुन्छ होईन ?
मैले अघि नै बताएं । सामुदायीक सेवाको मेरो निरन्तर लगावका कारणले म बिभिन्न निकायबाट सम्मानित भएको छु । जसलाई मैले समाजसेवामा अहोरात्र लागिरहने प्रेरणा र प्रणको रुपमा मैले लिएको छु । सेवारत मेरो जिन्दगीको बिगतको अनुभव र यिनै सामाजिक कार्यकर्ता भएर काम गरेको निरन्तरताको फलस्वरुप मलाई अमेरिकी सरकारले ‘पेशागत स्वयंसेवा पुरस्कार – २०१३’ (Professional Voluntary Award – 2013) ले सम्मान गरेको छ । राष्ट्रपति बाराक ओबामाको हातबाट उक्त पुरस्कार प्राप्त गर्ने पहिलो वा दोस्रो मलाई जानकारी भएन । तर उक्त पुरक्स्कार प्राप्तिले म भाग्यमानी हुं भन्ने चाहिं पक्कै महशुस गरेको छु ।
अब कुरा गरौं, एनआरएनको । एनआरएन आईसिसी सदस्य पदमा यहांले उम्मेदवारी दिनुभएको छ । यहांको उम्मेदवारीको कारण के होला ?
सामाजिक काममा बिगत्को मेरो अनुभवललाई संगाल्दै प्रवासी नेपालीहरू बिना रोकतोक र झमेला नबेहोरिकन आवत-जावत गर्न पाउनुपर्ने, आफूले चाहेको ब्यवसाय संचालन गर्न पाउनुपर्ने, टुंगोमा नपुगेको दोहोरो नागरिकता बारेको बहसलाई निर्णयमा पुर्याउन पहल गरिने, एकपल्टको नेपाली सधैंको नेपाली भन्ने नारालाई मजबुत पुर्याईने, प्रवासी नेपालीका मुद्दाहरूलाई नेपालमा बन्न लागेको संबिधानमा सम्बोधन गर्न पहल गरिने, एनआरएन, एनसीसी, अमेरिकाको निति र नियमलाई अबलम्बन गर्दै नेटवर्किङ्ग गरिने लगायतका मुद्दालाई सार्थक तुल्याउन म आफू योग्य ठानेकाले मैले एनआरएन आईसीसीको सदस्य पदमा उम्मेदवारी दिएको हुँ ।
मुद्दा र बिचार तपाईं लगायत जसका जे-जे भए ता पनि एनआरएनको सिंगो शरिरमा राजनीति पनि त छिरेको छ नि होईन र ? केन्द्रिय साधारण सभा, प्रवासका च्याप्टरहरु र एनआरएन अमेरिकामा राजनीति सर्लक्क्कै राज गरिरहेको छ त !
बिचार र आस्थाका हिसाबले हरेक मानवमनहरू फरक रहेपनि म राजनैतिक चेतना र सामान्य जानकारी नभै समाजसेवा गर्न सकिन्न भन्ने धारणा बोकेको मान्छे हुँ । होला, मेरो आस्था कुनै राजनैतिक पार्टीसंग मेला खाला । म यसलाई अनौठो मान्दिन । आस्थालाई कुनामा राखेर बिशुद्ध एनआरएन बनाउनु चाहिं आबश्यक छ । जसका लागि हामी-हामी बिचको एकता बाहेक कुनै विकल्प छैन । हेर्नुस् न, हामीहरूले उठाएका मुद्दाहरू सोझै राजनितीसंग सम्बन्धित छन् । दोहोरो नागरिकता सम्बन्धीको बहसलाई टुंग्याउन राजनैतिक संपर्क नभै सम्भव छैन । पार्टीहरू र संपर्कका सुत्रहरू कहिलेकाहीं बाहिर आउनेहुनाले ‘राजनितीको रंग’ देखिएको होला । फरक हो, कुनै पनि पार्टीको मात्र एनआरएन बनाउनुहुन्न भन्ने मात्र म भन्न सक्छु । बिचार र आस्था जे भएनि प्रवासी नेपाली समुदायको हितका लागि भने एनआरएनलाई संस्थागत गर्नुपर्छ भन्ने मान्यतामा म अडिग छु ।
त्यसो त तपाईंलाई एमालेको कार्यकर्ता भन्ने बिल्ला झुन्डाईन्छ, के यो सत्य हो ?
मेरो आस्था जसप्रति भएपनि एनआरएन आईसिसीमा राजनीति गर्न वा कांग्रेस एमाले हुन जाने होईन । हाम्रो साझा समस्या एउटै हो । नाता र सम्बन्ध नेपाल र नेपालीसंग भएकाले राजनीति भन्दा अधिकारको लागि म नेटवोर्किङ् गर्न आईसिसी सदस्य पदमा लडेको हुँ । म संग क्षमता छ, दक्षता छ । त्यसैले मेरो अनुभवले हाम्रो हक र अधिकार सुनुश्चित गर्ने अभियानमा टेवा पुर्याउन मैले चाल्ने कदमको लागि एमाले वा कांग्रेस हुनुपर्छ भन्ने कुरा म मान्दिन । खैर, मेरो बिचार कुनै समूहसंग मिल्ला, त्यो फरक् कुरा हो ।
उसो भए एनआरएन अमेरिकाको निर्वाचनसंगै हुने आईसिसी सदस्यको छनौट प्रक्रियामा अघोषित प्यानलसंग तपाईको सांठगांठ छ ?
मेरो कुनै प्यानल छैन र प्यानलसंग मेरो सांठगांठ एक, दुई, तीन छैन । कुनै नेताले मलाई चुनाव लडाएको होईन । म बाध्यताले अमेरिकन नागरिक हुं, अहिले । र पनि, हरेक नेपाली नागरिक जस्तै जन्मभूमीप्रति मेरो असिम आस्था र माया छ । त्यसैले नेपालमा लगानीको वातावरण सिर्जना गर्नको लागि नेटवोर्किङ्ग गर्नको लागि म लडेको हो, न कि कुनै राजनीति पार्टीको प्यानलमा आबद्ध हुन ।
नेटवोर्किङ्ग-नेटवोर्किङ्ग मात्र भन्नुभा’छ, भोलि जितेमा के गर्नुहुन्छ ? तत्काल तपाईले गर्ने कामहरू के-के हुनेछन् ?
मैले अघि पनि भनें । एनआरएन हाम्रो संगठन हो । आफ्नै संस्था हो । नेपालीहरूको समस्याको आवाजलाई मध्यनजर गर्दै संबिधान सभाले बनाउने भनिएको संबिधानमा राजनेताहरुसंगको संपर्क गराउन सकिने साधन-शुत्र, जसलाई म एकखालको नेटवोर्किङ्ग भन्दछु, ले एनआरएनको केन्द्रिय समितिमा संपर्क (connect ) गरेर अघि बढ्नेछु । सिद्धान्त र बिचार जे भएपनि राजनैतिक पार्टीहरुकै सहायताले हाम्रा आवाज र मुद्दाहरू समाधान हुने भएकाले हाम्रा माग वा मुद्दाहरू राजनेता, राजनैतिक पार्टीहरू, संबिधान सभा हुंदै सरकारसंग गरिने हातेमालोलाई मैले नेटवोर्किङ्ग भन्ने गरेको छु । मैले सकेको गर्ने प्रयासमा म कसैसंग सम्झौता गर्नेवाला छैन । त्यसबाहेक एनआरएनलाई अमेरिकाका प्रत्येक राज्यमा बिस्तार गर्नु, नेपालमा पर्यटन, जलस्रोतजस्ता क्षेत्रमा लगानीको वातावरण सिर्जना गर्न पहल गर्नु, आबश्यक ठाउंमा एनआरएनको संपर्क कार्यालय स्थापना गर्न पहल गर्नु मेरा जितेपछिका प्राथामिकताका कार्यहरू हुनेछन् ।
चुनाव जित्ने कुरामा कत्तिको ढुक्क हुनुहुन्छ, तपाईं ?
म चुनाव जित्छु । किनकी म भत्ता खान एनआरएनको नाम भजेर जान लागेको होईन । एनआरएनमा लागेर सांसद वा मन्त्री बनिने पनि होईन । आईसिसिमा हाम्रा समस्यालाई नेता र नेपाल सरकारसंग संपर्क गर्न म सक्ने हैसियत राख्ने हुनाले म निर्वाचन जित्ने कुरामा ढुक्क छु । यसो भन्दैगर्दा मलाई सबैको सहयोग जरुर चाहिन्छ । सबैको सहयोगले म चुनाव जित्ने हुं । म संग भएको संपर्कको साधन स्रोतलाई उपयोग गर्दै एनआरएन अमेरिकाको भोलि निर्वाचित हुने समितिसंग हातेमालो गर्दै समस्याहरूको मिलानको लागि निर्धक्क स्वयमसेवक बन्न जाने मेरो अभिलाषा भएकोले निर्वाचन जित्ने कुरामा म शतप्रतिशत ढुक्क छु ।
घिमिरेजी, अन्तमा यो अन्तर्वार्ता मार्फत् केही भन्न चाहनुहुन्छ ?
हेर्दा सजिलो देखिए पनि समग्रमा एनआरएन आईसिसीको मुद्दाहरू संबेदनशिल भएको हुंदा हाम्रा समस्याहरू समाधानको लागि सामान्य तवरले काम नहुने हुनाले सक्षम उम्मेदवारलाई आफ्नो अमुल्य भोट मार्फत् निर्वाचन जिताउनुहुन म सम्पुर्ण प्रवासी बुवा-आमा, दाजु-भाई तथा दिदी-बहिनीहरूलाई बिनम्र अनुरोध गर्दछु । नाराको रुपमा हामीले जे जस्ता शब्दावलीहरूलाई रंगरोदन गरेपनि नयां बन्ने संबिधानमा हाम्रा समस्याहरूको जरुर सम्बोधनको लागि बिशेष पहल गर्नुपर्ने हुनाले म तपाईंको मिडिया मार्फत् फेरि पनि आम मतदाताहरुसंग भोट माग्दछु । चुनाव एउटा चरण भएकोले सस्ता नाराका अलावा सक्षम ब्यक्ति छनौट गर्नुहुन म यहांहरू समक्ष अनुरोध गर्दछु । अन्तमा ; मलाई मेरा केही भनाईहरू राख्न दिनुभएकोमा धन्यवाद दिन चाहन्छु ।














प्रतिक्रिया