काठमाडौँ, १४ माघ । एमालेले संविधान निर्माणको पछिल्लो अवस्थाबारे जानकारी दिन र विपक्षीको सम्भावित आन्दोलन कमजोर पार्न मुलुकभर संगठन परिचालन गर्ने भएको छ।
यसका लागि पार्टीले तत्कालै कार्यक्रमहरु तयार गर्ने भएको छ । संसदीय दलले सभासद्हरुलाई १० दिनका लागि गाउँ जान निर्देशन दिइसकेको छ। अन्य जनसंगठलाई पनि कसरी परिचालन गर्ने भन्नेबारे पार्टी कार्यालयले गृहकार्य थालेको छ।
कार्यक्रम तयारीका लागि मंगलबार पार्टी केन्द्रीय कार्यालय बल्खुमा नेताहरुले १६ जनसंगठनका प्रमुखहरुलाई बोलाएर छलफल गरे। छलफलमा बरिष्ठ नेता झलनाथ खनालले र माधवकुमार नेपालले संविधान निर्माणमा एमाओवादी र मधेसीले खडा गरेको व्यवधानबारे जानकारी दिँदै ती विषय जनतामा लैजान निर्देशन दिए। उनीहरुले विपक्षीले गर्ने सम्भावित आन्दोलनको आँकलन गरी आफ्नो रणनीति बनाउन पनि भनेका छन्।
बैठकमा १६ वटा जनसंगठन प्रमुख तथा पदाधिकारी, पार्टी पदाधिकारी एवं स्थायी कमिटी सदस्य सहभागी थिए ।
कार्यक्रममा एमाले प्रमुख सचेतक अग्नि खरेलले संविधान निर्माणका धेरै विकल्पमा छलफल भए पनि एमाओवादी कुनै पनि मान्न तयार नभएको बताएको आजको कान्तिपुर दैनिकमा खबर छ ।
















प्रतिक्रिया