
आदरणीय मित्रहरु,
मेरो विचारमा स्वामी आनन्द अरुणबाट एउटा मात्र नभएर सैयौं गल्तीहरु भएका छन् । सबै गल्ती लेख्दा एउटा किताब नै बन्ने भएकाले म केही क्षमा नै गर्न नसकिने गल्तीहरु सबैको बीचमा राख्न चाहन्छु।
१. आफ्नो गुरुको नजिक बसेर ध्यान गर्ने इच्छा हुँदाहुँदै सद्गुरु ओशोले भनेको मानेर आफ्नो गुरुको सन्देश लिएर नेपाल आई आफ्नो परिवारसंग लडेर आफ्नो घरमा नेपालको पहिलो ओशो सेन्टर आशीष ध्यान मन्दिरको स्थापना गरेर नेपालमा ओशोलाई भित्राउनु वहाँको सबैभन्दा ठूलो गल्ती हो । वहाँले गुरुको काम नगरेको भए आज न हामी मध्ये धेरैजना सन्न्यासी नै हुन्थ्यौं, न त सन्न्यासीबीच झगडा नै हुनेथियो।
२. ध्यान मन्दिर खोलेर आफुमात्र ध्यान गरेर नबसी, हुँदाहुँदा अरु हामीजस्ता लाखौं मान्छेलाई जिन्दगीमा ध्यान र गुरुको महत्व बुझाउन खोज्नु र ओशो सन्न्यासी बनाउनु गल्ती मात्र नभएर पाप हो भन्ने मेरो ठम्याइ छ ।
३. ओशोले स्वामी आनन्द अरुणलाई बोधिसत्व भनेर घोषणा गरेर अब अरु मान्छेलाई ध्यानको बाटो देखाऊ भनेर भन्दा गुरुको वचन नकाटेर त्यसको सम्मान गरी अरु मान्छेलाई अध्यात्मको बाटोतर्फ़ डोर्याउनु वहाँको महाभूल हो।
४. आफ्नो गुरु ओशोको मात्र नभई अरु बुद्धपुरुषहरुका बारेमा बोल्नुका साथसाथै ती सबैलाई समेटेर एउटा मात्र नभई तीनवटा नेपालीमा र एउटा पुस्तक अँग्रेजीमा लेखेर हामीलाई जानकारी दिने गल्ती वहाँबाट भएको नै हो।
५. सनातन हिन्दु परम्परा अन्तर्गत देवी देवतालाई गरिने आरतीमा आफ्नो गुरु ओशो लगायत बुद्ध पुरुषहरुलाई समावेश गरी देवी देवताकै सरह गुरुलाई सम्मान गर्नुलाई पनि उहाँको ठूलो गल्ती मान्नु पर्छ।
६. अमेरिका जस्तो विकसित र शिक्षित देशले पनि बुझ्न नसकेको ओशो जस्तो क्रान्तिकारी र विद्रोही गुरुलाई नेपाली समाजमा बुझाउन सक्नु र म जस्ता कैयौं सन्न्यासीका लागि सन्न्यास सामाजिक र पारिवारिक रुपमा सहज गराउन सक्नुलाई वहाँको दुष्प्रयास भन्नुपर्छ ।
७. ७५ वर्षको उमेरमा आफुले २८ वर्ष लगाएर खडा गरेको तपोवनमा आराम नगरेर वर्षको ५ देखि ६ महिना आफ्नो शरीरको समेत ख्याल नगरी ओशोको सन्देश संसारभरि फैलाउन यात्रा गरिरहनु मेरो विचारमा गल्ती नै हो ।
८. ओशो अन्तर्राष्ट्रिय कम्युन पुणेले ओशोको किताब छाप्न बन्द गर्नुको साथै ओशो र ओशोको ध्यानमा हाम्रो कपिराइट छ, माला लगाउन पाइँदैन भन्दा त्यसको खुलेर विरोध गर्नु र ओशोको Neo Sannyas Movement बचाउन खोज्ने स्वामी आनन्द अरुणलाई कसरी क्षमा गर्ने मैले बुझ्न सकेको छैन।
९. झण्डै ५० वर्षको अनवरत तपस्या पछि नेपालमा पाँचवटा कम्युन र १०० भन्दा बढी ध्यान केन्द्रहरु खोल्नु अनि विदेशमा पनि सैयौं सेन्टरहरु खोलेर संसारम़ा ओशोलाई चिनाउनु नै वहाँको ठूलो अपराध हो ।
१०. कुनै पनि ओशो सन्न्यासीले गर्न नसकेको काम वहाँले गर्नु र नेपाललाई ओशोमय बनाउनु नै स्वामी अरुणको सबै भन्दा ठूलो भुल र गल्ती हो भन्ने मेरो निष्कर्ष छ।
युनिभर्सिटी अफ टेक्सास अस्टीनबाट अपरेशन्स म्यानेजमेन्टमा स्नातक गरेका स्वामी ध्यान प्रवीण प्रवीण सान डियागो, क्यालिफोर्नियास्थित ओशो निर्वाण आश्रममा बस्छन् र उत्तर अमेरिकामा ओशोको सन्देश फैलाउन सकृय छन् । यहाँ व्यक्त विचार उनका निजी हुन् । सं.















प्रतिक्रिया