३० आश्विन २०८३, शुक्रबार

डरलाग्दो दिशातर्फ विश्व राजनीति ?

2.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डिल्लीराम अम्माई

युरोप मात्र नभएर अहिले संसारभरको उदार पुँजीवादमा संकटमाथि संकटको चाङ्ग थपिदै गएको छ । विश्वभरि नै उदार अर्थतन्त्र भएको प्रजातान्त्रिक मुलुकहरूमा अति दक्षिणपन्थी (कथित राष्ट्रवादी) राजनीति हाबी हुँदै छ । अमेरिका, ब्राजिल, बेलायत, रसिया, अरब लगायतका देशहरूमा युद्ध बिरोधी प्रगतिशील तथा उदारवादी शक्तिहरू कमजोर हुँदै गएको देखिन्छ । युरोपियन युनियन, मानवतावादी अन्तर्राष्ट्रिय संघ संस्था र स्वयम् संयुक्त राष्ट्र संघ धरापमा छन् ।

मजदुर आन्दोलन, नारी मुक्ति संघर्ष, समाजवादी आन्दोलन त्यसले जन्माएको सामूहिक सहअस्तित्वको बैचारिक आधार र यसको सन्तुलित इकाईहरूमाथि उग्रसाम्प्रदायिक राष्ट्रियताको नाममा आक्रमण तीब्र पारिएको छ । यिनै संकीर्णताको आधारमा जन्मिएका दम्भहरूबाट सृजित शक्तिहरू मानवीय सभ्यतामाथि नै निर्मम बन्दै गएकोले संसारभरिका समाज शास्त्रीहरूले अबको नयाँ विकल्पबारे सोच्नु पर्ने अवस्था आइसकेको बताउँदैछन् ।

यिनै दम्भहरूको परिणाम हो युरोप र अमेरिकाको व्यापार तथा राजनैतिक मैत्री बिगत धर्मराउदै गएको छ । युरोपियन युनियनभित्र छिट्टै बिग्रह हुन् सक्ने सम्भावनाबारे आँकलन गर्न थालिएको छ । सोहि अनुरुप ग्रिस, इटाली, स्पेन, फ्रान्स, जर्मनी, बेल्जियम लगायत देशका उग्रदक्षिणपन्थीहरूले युरोपियन युनियनबाट आफ्ना देशहरू बाहिरिनु पर्ने आवाजहरू बुलन्दरुपमा उठाइरहेका छन् ।

अति दक्षिणपन्थी अमेरिकी नेता डोनाल ट्रंपले अमेरिकाको राष्ट्रपतिमा जिते पछि अहिले सामरिक रुपले विश्व अति संबेदनशिल अवस्थामा छ। उनले एकातर्फ आप्रबासीमाथिको आफ्नो आक्रमणलाई तिब्र बनाउन अनुकुल कानुनहरू बनाउदै लागेका छन् भने संसारकै हितमा रहेको आणविक अप्रसार सन्धि र तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रोगन र सोभियत संघका नेता मिखाइल गोर्भाचोभले हस्ताक्षर गरेको सन् १९८७ मा इन्टरमीडिएट रेन्ज फोर्सेज सन्धिलाई तोड्ने घोषणा गरिसकेका छन्। जसको परिणाम हुनेछ पुन हतियारहरूको होटबाजी र पुन युद्धको तयारि। उनले इरानसंगको आणविक अप्रसार सन्धि भंग भएको घोषणा गरि सके। त्यो मात्रै नभएर ओबामाले शुरु गरेको क्युबासंगको सम्बन्ध अनाबस्यक भन्दै ट्रंपले इन्कारी सकेका छन् ।

दक्षिण अमेरिकी देश भेनेज्वेलालाई प्रगतिशील धारमा हिडेकै कारण अमेरिकी अमानबिय नाकाबन्दीले तहसनहस पारिएको छ। इराकी ग्यास पाइपलाइन सिरियाबाट ल्याउन बाटोको लागि देश नै खरानी बनाइयो। अत प्रमाणसहित भन्न सकिन्छ,अतिबादी दक्षिणपन्थिहरूमा मानबता, सम्बेदनशिलता र बन्धुत्व केहि पनि हुँदैन। यी सबै गुण र भाबहरू विभिन्न चरणका आत्मसम्मानका आन्दोलन, राष्ट्रिय मुक्ति आन्दिलन, औपनिबेशिकता विरुद्धका संग्राम र समानताका संघर्षमार्फत युरोपमा जन्मेर एसिया, अफ्रिका हुँदै ल्याटिन अमेरिकातर्फ फैलिएका हुन्। जुन प्रगतिशील धारा प्रवाहका अन्तर्नि्हित तन्तुहरू हुन्।

यस्ता धेरै कुराहरूले अमेरिकाको बर्तमान रवैयासंगको युरोपियन प्रगतिशील र उदार पुजीबादी शक्तिको अन्तरसंघर्ष चर्काइदिएको छ। त्यो संगै चीनसंग अमेरिकाको सम्बन्ध व्यापारिक असन्तुलनको निहुँमा करको तिब्र प्रहारमार्फत प्रतक्ष संघर्षको चरणमा पुग्ने खतरा बढेर गएको छ।

अर्को कुरा,लामो दुरीसम्म परमाणु हतियार लिन सक्ने मिसाइलमागि स्टार्ट सन्धी पनि २०२१ मा सकिने छ । रुस र अमेरिकालाई यो सन्धीलाई अगाडी बढाउन संसार भरिबाट दवाब दिन अनिबार्य छ । अहिले दुबैदेशको सम्बन्धलाई हेर्दा अवस्था डरलाग्दो देखिन्छ।

यो सन्धी पनि निष्क्रिय भयो भने सन् १९८७ पछि पहिलो पटक यस्तो अवस्था आउने छ जसमा अमेरिका र रुसमाथि लामो दुरी क्षमताको परमाणु हतियारमा कुनै प्रतिबन्ध हुने छैन । त्यो अवस्था भनेको केवल तेश्रो विश्वयुद्धको लागि चेतावनी मात्र हुने छैन। यदि अब बिस्वयुद्ध भयोभने संसारमा मानबिय अस्तित्व संकटमा पर्ने छ। फासिष्ट शक्तिहरूमा बिबेक हुदैन, मानबता र भविष्यको कुनै रणनीति हुदैन। अत उनीहरूको आवेगलाई रोक्ने औजार भनेको मतदानको बेलामा प्रयोग गरिने बिबेकपूर्ण छनौट नै हो। त्यसपछि निरङ्कुश शक्तिहरूलाई अन्तराष्ट्रिय ऐकबद्धतामार्फत दवाब दिन जरुरि हुन्छ ।

उदार अर्थतन्त्रका हिमायती र प्रगतिशील शक्तिहरू एक ध्रुबमा नउभिएसम्म फांसिबादी चरम उद्धेस्य सहित आक्रामक रुपमा आएका बिग्रहबादी अनुदार शक्तिहरूलाई रोक्न सकिने अवस्था छैन। अमेरिकाका अनुदार पक्षहरू र बेलायति कन्जरभेटिभहरूको जोड बलमा विभिन्न किसिमका समस्याहरूको बीचमा युरोपियन युनियनलाई जकेडिरहेको अवस्था हो अहिलेको। त्यसैले युरोपियन युनियनको दीर्घकालीन अस्तित्व, योजना र भूराजनैतिक प्रभावको विषयमा भने जोखिम उत्पन्न हुने खतरा अझै बढेर गएको छ । युनियन भित्रैका देशहरूमा समेत पछिल्लो समय बढिरहेको अति राष्ट्रवाद र आप्रबासी बिरोधि लहरका कारण ईयू समस्यामा पर्दै गएको देखिन्छ । यहि लहरको कारण युरोपमा फासिवादी खतरा अझ बढ्ने होकी संसय पैदा गराएको छ। जसले युनियनको अस्तित्व र युरोपका धेरै महत्वपूर्ण योजनाहरूमा सोझै नकारात्मक असर पार्ने छ ।

अहिले इटालीमा उदारवादी तथा प्रगतिशीलहरू अल्पमतमा छन्। इटालीको सरकारले ईयुमा पेश गरेको बजेट युरोपियन युनियनले अमान्य घोषणा गरेको छ। जुन नारा दिएर जनबिश्वास लिइ इटालीमा सरकार बन्यो त्यो ईयुले मानेन। फलत बिस्वको तेश्रो उच्च ऋणको भारि बोकेको इटाली ईयुबाट निस्कने होकी खतरा चुलिएको हो। विश्व कोष लगायत, अन्य आर्थिक निकायहरूको दवाबले इटाली अहिले अनिर्णयको बन्दि बनेको छ।

बिश्व बैक लगायत विभिन्न आर्थिक निकायहरूले इटालीको यो ऋणको विषयमा चेतावनी दिँदै आएका छन् । इटालीका नेतृत्वले अहिले अपेक्षा गरिए अनुसारको नतिजा भने दिन सकेको छैन । यसअघिका वाचाहरू पूरा गर्नका लागि पनि इटालीको सरकारमाथि सार्वजनिक दबाब बढ्दो क्रममा रहेको देखिन्छ । बेलायतको दक्षिणपन्थी अतिराष्ट्रबादी फासिष्ट सक्तिको कारण युरोपले ब्रेक्जिटको समस्या गम्भीर रुपले झेली रहेको छ। अहिलेसम्म न त व्यापारिक सम्झौता हुन सकेको छ नत अन्य। बेलायती दक्षिणपन्थी प्रधानमन्त्री थेरेसाले अब कुनै सम्झौता गर्न सक्लान भन्ने आश हराएको छ। बेलायत ईयुबाट बिना सहमति वा सम्झौता बाहिरियो भने त्यसले झन् बिकराल स्थिति ल्याउने छ। जसको कारण ईयु र बेलायत अन्तराष्ट्रिय रणनीतिमा साझेदार नहुन पनि सक्ने छन्।

जर्मनीमा पनि नाजी राष्ट्रबादीहरूको संख्या ह्वात्तै बढेको एक सर्वेक्षणले देखाएको छ। उनीहरूले यदि जिते वा एन्जेला मर्केलको प्रजातान्त्रिक समाजबादी पार्टीलाई हराए भने युरोपियन युनियनमाथि बज्र प्रहार हुने छ। फासिष्ट शक्तिहरूले अन्तराष्ट्रिय संघ संस्था, मिडिया, राजनैतिक फोरम र विश्व संजाल मार्फत सम्पर्क वा सम्बन्ध केहि चाहदैनन्। ति संघसंस्था नाजीबाद र फासिवादलाई रोक्ने शिलशिलामा जन्मे, हुर्के र बढे। अति दक्षिणपन्थी शक्तिहरूलाई थाहा छ कि त्यस्ता शक्ति उसका कदापि मित्र वा सहयोगी बन्न सक्दैनन्। उग्र दक्षिणपन्थी शक्तिहरूको अन्तिम लक्ष साम्प्रदायिकता, धार्मिक र जातिय राष्ट्रियताको आधारमा लादिने निरंकुशता हो। राजनैतिक भाषामा भन्दा त्यसलाई फासिज्म भनिन्छ।

अबको युरोपिय युनियनको निर्वाचन सन् २०१९ हुनेछ । स्पष्ट छ,आगामी युरोपियन सांसदको निर्वाचनमा युरोपका घोर दक्षिणपन्थी सरकार र प्रगतिशील तथा लिबेरल सरकारहरूको बीचमा प्रतिस्पर्धा हुनसक्ने देखिन्छ । यो निर्वाचनले नै युरोपियन युनियनको बाँकी भबिष्यको फैसला गर्ने छ।

अमेरिकाकोलागी आफ्नो साम्राज्यबादी रणनीति परिपूर्तिको लागि २८ सदस्यीय ईयू अपरिहार्य हुन्छ । तर ट्रंपले के चाहि बुझेको देखिन्न भने फासिष्ट राष्ट्रबादी शक्तिहरू हाबी भएभने अमेरिकाले युरोपलाई आफ्नो पकडमा राख्न सक्ने छैन। युरोप ब्यापी संगठन तहसनहस हुने बित्तिकै यिनिहरूबिचको अन्तरविरोध छताछुल्ल हुने र त्यी सबलाई आफ्नो पक्षमा पार्ने अमेरिकी प्रयास सफल नहुने देखिन्छ। ओबामाको कार्यकालमा अथक प्रयास गरिएको हो। त्यसैले यो डरलाग्दो रोग लाग्न नदिन अमेरिकाले पक्कै प्रयास गर्ने छ तर त्यसकोलागि अमेरिकामा डेमोक्र्याटहरूको सरकार भएमा सहज हुने कुरा लिबेरल धारका विश्लेषकहरू बताउछन ।

अन्तमा के भन्न सकिन्छ भने मानबिय आधारमा प्रयाबरणीय सन्तुलन सहित समृद्धिको कामना गर्ने,सामरिक वा साम्राज्यबादी युद्धमा भन्दा आपसी मित्रता र दिगो शान्तिमा विश्वको राजनैतिक बहाबलाई अगाडी बढाउने, मानबिय मूल्य प्रधान र अन्तराष्ट्रियबादी शक्तिहरू प्रगतिशील,बामपन्थी तथा लिबेरल शक्तिहरू हुन्। परिवर्तनलाई सास्वत सत्य मानेर मानवताको महान लक्ष, विश्वबन्धुत्वको भावना, आधारभूत वर्गको सापेक्ष राज्य व्यबस्थाको आर्थिकनीति सहित कानूनू, समाजबादी राज्यको विकल्प संकीर्ण, विभेदकारी, अभद्र साम्प्रदायिकता सहितको फाँसीबाद हुनै सक्दैन। त्यसैले अहिले संसारभरिका प्रजातन्त्रबादी, प्रगतिशील तथा अन्तर्राष्ट्रिय भाइचारामा बिश्वास गर्ने जोकोहिले यस्ता गलत फासिवादी तत्वहरूको भण्डाफोर गर्नै पर्छ। यदि चुक्यौं वा सुस्तायौं भने मेरो घर, घर नरहन सक्छ, अन्तराष्ट्रिय समाज भित्रको साम्प्रदायिकता रहित मानबता र अनाबश्यक युद्धको कारण हाम्रो धर्ति नरहन सक्छ ।