२८ आश्विन २०८३, बुधबार

जुँगा तानिदै जुकरवर्ग क्याफे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pradeep-bhattarai

आमसञ्चारमा एउटा सिद्धान्त छ, मिडिया डिपेन्डेन्सी थ्यौरी अर्थात् मिडिया निर्भरताको सिद्धान्त । यसले के भन्छ भने संक्रमणको समयमा मानिसको मिडियाप्रतिको निर्भरता बढ्छ । यस्तो निर्भरता बढेकै बेला आम मानिसले मिडिया चिन्ने हो । मिडियाका लागि पनि यो आफैंमा परीक्षाको घडी हुन्छ । यसमा खह्रो उत्रन सकेन भने मिडियाले आफ्नो विश्वसनियता मात्र गुमाउँदैन, बजार पनि गुमाउँछ । दुर्भाग्य नै भन्नुपर्छ, सामाजिक भनिएको जुकरवर्ग क्याफेको भने यतिबेला जुँगा उखेलेर बर्बाद पारिएको छ ।

केही दिन यता जुकरवर्ग क्याफेमा गतिलै भीड जमेको छ । यसो त यो क्याफेले सेवा सुरु गरेको पहिलो दिनदेखि नै जस्तोसुकै प्रतिकुलतामा पनि खासै मन्दी अनुभव गर्नुपरेको छैन । त्यसमा पनि बेरोजगारीको संख्या बढी भएको र ऋण गरेर भए पनि घिउ नै खानुपर्ने सोचका उपभोक्ता भएको हाम्रो जस्तो मुलुकमा त यसको व्यापार घट्ने कुरै आउँदैन । खुल्दै गएको बन्द समाज र त्यसमा पोखिन चाहने उपभोक्ताहरुका लागि त यो आफैंमा स्वर्णिम गन्तव्य पनि हो । नेपाली समाजको खासगरी युवापंक्ति अहिले यही पानीघडोमा उभिएको छ । यति नै बेला मुलुकमा बास बस्नेभन्दा पनि मुलुकबाट बसाइ सर्ने प्रवृतिमा आएको उछालले डायस्पोरा जागेको छ । मुलुक र डायस्पोरालाई जोड्ने मेनुका रुपमा आएको यो जुकरवर्गको भर्चुअल क्याफे हाउसफुल हुनुको चुरो कारण यो पनि हो ।

सुरुको बेला जुकरवर्ग क्याफेमा मासको भन्दा पनि क्लासको मात्र पहुँच थियो । सूचना प्रविधिको प्रजातान्त्रिकरण अर्थात् डेमोक्रेटाइजेसन अफ मिडिया टेक्नोलोजीले यो सस्तो भयो र पाराडाइम सिफ्ट हुँदै यो क्लासबाट मासमा पुग्यो । यो स्वागतयोग्य कुरा थियो । तर, मासमा पुग्नेसँगै यसमा मासका केही आधारभूत नकारात्मक चरित्रहरु पनि सरे । ग्राहकहरु प्रस्तुतिमा भद्दा अनि छाडा हुन थाले, फोहोरी हुन थाले, जे पायो त्यही ओकल्न थाले । अझ, हुँदाहुँदा त क्याफेमा यस्तो अवस्था सिर्जना भयो कि या त सुरुका ग्राहकहरु बसाइ सरेर इभान र साथीहरुको क्याफेतिर लाग्नु पर्यो या रमिते भएर चुपचाप बस्नु पर्यो ।

यो समस्या क्याफेमा ग्राहक नभएर हैन, बढी ओइरिएर हो । ओइरिने क्रम बढेपछि जुकरवर्गलाई त तत्कालका लागि घाटा हुने कुरै भएन । क्लासले दिए पनि मासले दिए पनि दिने हिट हो, उसले पाइरह्यो । तर, दीर्घकाललाई सोच्ने हो भने ब्रान्ड पोजिसनिंग र प्राथमिक ग्राहकमा भने ठूलो असर पर्यो । अर्थात्, जुकरवर्ग क्याफे क्रमशः मासिफिकेसनको शिकार बन्न थाल्यो । थोरै खर्च गर्ने धेरै ग्राहक हुँदा आज नेपालले पर्यटकबाट जे पाउन सकिरहेको छैन, त्यस्तै अवस्थामा पुग्यो जुकरवर्ग क्याफे । यसबाट उता, सँगै रहेको इभान र साथीहरुको क्याफे लाभान्वित बन्न पुग्यो । टिकल डाउन थ्यौरीअनुसार नै सही, चुहिएका तर क्लास ग्राहकले उसको पनि क्याफे मज्जाले नै चल्न थाल्यो ।

आजको युग सिभिल जर्नालिज्मको हो । यसको अर्थ आज हरेक मान्छे आफैंमा पत्रकार हो । र, यसलाई मूर्तरुपमा उतार्न यस्ता क्याफेहरुले हरेकलाई आउटलेट दिएर अहम् भूमिका निर्वाह गरेका छन् । यसबाट मानिसले माध्यमबाट हैन, स्वयं आफूलाई नै अभिव्यक्त गर्ने माध्यम पाएको छ । अनि, जेफरसनको अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति जनजनमा पुगेको मात्र हैन, आज लोकतन्त्र जनताका लागि पनि भएको छ । साक्षर र शिक्षित बढ्दै गएर निरक्षरताको कालो बादल हट्दै गएको आजको विश्वमा यसबाट क्रमशः हरेकले लाभ लिन थालेको छ । यसबाट माथि पुगेका महाशय माक्लुहान पनि खुशी नै भए होलान् । किनकि, उनले भनेकै थिए, मिडियम नै मेसेज हो ।

लाभ र हानीको पक्ष एउटा ठाउँमा छ । तर, योसँगै सत्य के पनि हो भने सीमा बिनाको उन्मुक्ति कही र केहीमा पनि सम्भव छैन । अधिकारसँगै कर्तव्य पनि हुन्छ, उत्तरदायित्व पनि हुन्छ । यही कर्तव्य र उत्तरदायित्वले नै अधिकारको सीमा तय गर्छ । यो सीमा सिद्धान्त जुकरवर्ग क्याफेका लागि पनि लागु हुन्छ । यहाँ कसैले केही भन्दैन, भन्दैमा जसले जे गरे पनि हुन्छ भन्ने हैन । गरे हुन्छ, तर त्यसले त्यो मान्छे कस्तो रहेछ, उसको अनुहार पनि देखाइदिन्छ । त्यसबाट उसलाई अरुले हेर्ने दृष्टिकोण बन्छ । यो पंक्तिकार धेरै दिनदेखि यो जुकरवर्ग क्याफेमा धेरै मान्छेलाई नांगो देख्दैछ । टाढाबाट हेर्दा उनीहरुमा जुन किसिमको शालिनता, विद्वता देख्थ्यो, त्यो त एम्पायर क्लथ पो रहेछ कि जस्तो लाग्न थालेको छ । अर्थात्, जुकरवर्ग क्याफेमा नांगो देख्दा लाग्छ, उनीहरुको वास्तविक रुप चाँहि यो रहेछ ।

आमसञ्चारमा एउटा सिद्धान्त छ, मिडिया डिपेन्डेन्सी थ्यौरी अर्थात् मिडिया निर्भरताको सिद्धान्त । यसले के भन्छ भने संक्रमणको समयमा मानिसको मिडियाप्रतिको निर्भरता बढ्छ । यस्तो निर्भरता बढेकै बेला आम मानिसले मिडिया चिन्ने हो । मिडियाका लागि पनि यो आफैंमा परीक्षाको घडी हुन्छ । यसमा खह्रो उत्रन सकेन भने मिडियाले आफ्नो विश्वसनियता मात्र गुमाउँदैन, बजार पनि गुमाउँछ । मिडियाको विश्वसनियता गुम्नु भनेको सरकारको जस्तो अस्थायी प्रकृतिको हुदैन ।
हुन त नेपालमा सधैं नै एक वा अर्को किसिमको संक्रमण रहदै आएको छ । त्यसमा पनि यस वर्षको माघ ८ वरिपरिको संक्रमण त संक्रमणको पनि संक्रमण नै रहेछ भन्दा पनि हुन्छ । शायद त्यही गुरुत्वले हुनसक्छ, यतिबेला आम मानिसको मिडियाप्रतिको परनिर्भरता पनि ह्वात्तै बढेको छ । ११ घण्टे लोडसेडिंगले गर्दा टेलिभिजन शोखको मिडियामा रुपान्तरित भएको छ । तर, पत्रपत्रिका, रेडियो र अनलाइनलाई पछ्याउने क्रम भने बढ्दो छ । त्यसमा पनि सहरी र युवा उपभोक्ताको आकर्षण अनलाइनतिर छ । यसले गर्दा थ्रीजी र स्मार्ट फोनप्रतिको आकर्षण मात्र बढाएको हैन, परनिर्भरता पनि अचाक्ली नै बढेको छ । यही पृष्ठभूमीमा जुकरवर्ग क्याफे र इभान अनि साथीहरुको क्याफेमा भींड जमेको हो । प्रविधिले सबै बढाए पनि दिनको अवधि २४ घण्टाभन्दा बढाउन सकेन, बरु मल्टीटास्किंगको अवसर प्रदान गरेको छ । यो प्रवृति पनि यी क्याफेहरुमा भीड बढाउन सहायकसिद्ध भएका छन् ।

पछिल्लो संक्रमणमा जुकरवर्ग क्याफेमा जुन किसिमको भद्दा मजाक गरिएको छ । यसबाट त्यस्ता हर्कतेहरुको हैसियत त सार्वजनिक भएकै छ, त्यो भन्दा पनि बढ्दा यस क्याफेको हुर्मत लिने दुस्कर्म पनि भएको छ । अभिव्यक्तिको नाममा बोल्ने भन्दा पनि बमन गर्ने काम भएको छ । यसले एक किसिमको नकारात्मक भावनालाई छरपष्ट पार्ने मात्र हैन, आपसमा बजाउने काम पनि गरेको छ । जोजोम्यान प्रवृतिको विकास गर्ने नाममा घृणा र कुण्ठालाई छताछुल्ल पार्ने काम गरेको छ । यो एक किसिमको भर्चुअल युद्धले समाजलाई जोड्नेभन्दा पनि तोड्नेतिरे अग्रसर बनाएको छ । अर्थात् समाजलाई ध्रुवीकरणमा लैजान यो कर्म र प्रवृति पनि जिम्मेवार हुँदैछ ।

अब प्रश्न उठ्छ, के जुकरवर्ग क्याफे यस्तै मेनुका लागि तयार गरिएको थियो त ? सोसल साइट अर्थात् सामाजिक सञ्जाल नामसमेत पाएको यो क्याफे यस्तै असामाजिक अभिव्यक्ति र वच्कना हर्कतका लागि खोलिएको हो त ? अनि वसिवियालोका नाममा यस्तै पधेर्नी चित्तवृतिमा रमाउने हो त ? त्योभन्दा पनि बढी सार्वजनिक जीवन बाचेकाहरुका लागि उछित्तो काड्नलाई नै यो प्लेटफर्म उपलव्ध गराइएको हो त ? मेरो विचारमा निश्चित पनि हैन । यो एक सामाजिक साइट हो यसले समाजमा रहेकाहरुलाई जोड्ने काम गर्नुपर्छ, तोड्ने हैन । यो अमृत बाड्ने आउटलेट हुनुपर्छ, विष हैन । यतातिर सोच्नका लागि म सम्वन्धित सबैलाई अनुरोध गर्दछु । यो अनुरोधका पछाडि प्रष्ट आधार छ , यो स्तम्भकार यही विषयको विद्यार्थी हो । यसको इज्जत राख्ने काम पनि यही फ्याकल्टीको हो र कसैले यसको बेइज्जत गर्न खोजेमा खबरदारी गर्ने काम पनि यही फ्याकल्टकिो हो । यसो भन्दा जतिसुकै अप्रिय भए पनि कालकूट सही, पिउनुको विकल्प हुदैन ।

सोसल साइट नामैले सामाजिक हुनुपर्छ, असामाजिक हैन । त्यसैले पनि जुकरवर्ग क्याफेमा पस्दा सामाजिक हुने न्युनतम शर्त पूरा गर्नुपर्छ । यसमा पस्दा जो कोहीले पनि शर्म हैन, गर्व गर्ने अवसर पाउँनुपर्छ । यसलाई अति मासिफिकेसन गरेर यसको अस्मितामाथि खेलवाड गर्नुहुदैन । मात्र भाइरल सिर्जना गर्ने नाममा यो सुन्दर क्याफेको जुँगा तान्ने काम गर्नु हुदैन । यसो गरियो भने यो क्याफेको न जुँगा रहन्छ न क्लास ग्राहक नै यसमा पस्छन् । यसले त सँगै रहेको इभान र साथीहरुको क्याफेका ग्राहक बढ्ने हुन् । के त्यसो गर्दा यो क्याफेको भविष्य रहला ? निश्चित पनि रहदैन । आगे उनीहरु नै जानुन् ।