
काठमाडौं, ११ कात्तिक । सोमपाल कामीको कप्तानीमा रहेको बुटवल ब्लास्टर्सले पोखरामा जारी पोखरा प्रिमियर लीग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ ।
आइतबार भएको खेलमा घरेलु टोली समेत रहेको शरद भेषवाकरको कप्तानीमा रहेको पोखरा पल्टनलाई ३३ रनले हराउँदै बुटवलले दोस्रो जित दर्ता गरेको हो ।
पोखरा रंगशालामा बुटवलले दिएको १५१ रनको लक्ष्य पछ्याएको पोखराले पुरै २० ओभरमा ९ विकेट गुमाएर ११७ रन मात्र जोड्न सक्यो । पोखराका लागि आसिफ शेखले २० रन जोड्दा कप्तान शरद भेषवाकरले १९ रन बनाए । त्यस्तै रबी इन्दर सिंह र मोहमद नाभिदले समान ११÷११ रन जोड्दा राशिद खानले १० रन बनाए ।
बुटवलका सोमपाल कामी, रोहन मुस्तफा, ललित भण्डारी र विपिन खत्रीले समान २र२ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बुटवलले पुरै २० ओभर खल्दै ७ विकेट गुमाएर १५० रन जोडेको थियो । बुटवलका लागि भिम सार्कीले ५४ रनको अर्धशतकीय इनिङस खेले । उनले ४६ बलमा २ चौका र ३ छक्का प्रहार गरे ।
यस्तै रोहन मुस्तफाले ४५ रन जोड्दा कप्तान सोमपाल कामीले २२ रन जोडे । सिद्दान्त लोहनी १३ रनमा आउट भए । पोखराका मोहमद नाभिदले ३ विकेट लिए ।
जितसंगै शीर्ष स्थानमा रहेको बुटवलले २ खेलबाट ४ अंक जोडेको छ । प्रतियोगिता अन्तर्गत सोमबार विराटनगर र काठमाडौँ तथा चितवन र पोखराबीच खेल हुनेछ ।















प्रतिक्रिया