काठमाडौँ, ११ माघ । नेपाली काँग्रेस र नेकपा एमालेले एमाओवादी नेतृत्वको १९ दलीय मोर्चासँग वार्ताको जिम्मेवारी नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालालाई सुम्पेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार राति बसेको बैठकले संविधान निर्माण प्रक्रिया र सहमतिलाई सँगसँगै अघि बढाउने निर्णय गरेको नेपाली काँग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिनुभयो । एमाओवादी नेतृत्वको मधेसी दल सम्मिलित मोर्चासँग वार्ता र संवादको माध्यमबाट लोकतान्त्रिक संविधान निर्माणमा एकजुट भएर लाग्ने निर्णय भएको उहाँले बताउनुभयो ।
बैठकले संविधानका अन्तरवस्तुमा सहमति कायम गर्न प्रस्ताव समिति गठन गरी संविधान निर्माणको प्रक्रिया अघि बढेकामा त्यसलाई सकारात्मक रुपमा लिएको छ ।
संविधानसभाको आइतबारको बैठकले पाँच दिनभित्र प्रश्नसहितको प्रस्ताव तयार गरी सभासमक्ष पेस गर्ने संविधानसभाका अध्यक्ष सुवास नेम्वाङद्वारा प्रस्तुत प्रस्ताव बहुमतले पारित गरेको थियो ।
















प्रतिक्रिया