२८ आश्विन २०८३, बुधबार

एमालेमा बिरामीको लर्को

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

umlकाठमाडौं । नेकपा एमालेमा एकपछि अर्को नेता बिरामी हुन थालेका छन् । एमाले संसदीय दलका नेता केपी शर्मा ओली बिरामी भएर थाइल्यान्डको बैंककमा उपचाररत छन् ।

वरिष्ठ नेता माधवकुमार नेपालको पाँच दिनदेखि वीर अस्पतालको आइसियुमा उपचार हुँदैछ । महासचिव ईश्वर पोखरेल पनि अस्वस्थ छन् । अर्का नेता गुरु बरालको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार गराइरहेका छन् ।

उपचाररत ओलीले भने बिहीबार वीर अस्पतालमा उपचाररत वरिष्ठ नेता नेपाललाई पत्र लेखेरै दुःख व्यक्त गरे । थाइल्यान्डको बैंककस्थित बुमरुङगार्ड अस्पतालमा फंगल मेनेन्जाइटिस रोगको उपचार गराइरहेका ओलीले बेडबाट लेखेको पत्रमा नेपालको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । उनले पत्रमा आफू पनि स्वस्थ हुँदै गएको जानकारी गराएका छन् ।

निमोनिया भएका वरिष्ठ नेता नेपालको पाँच दिनदेखि वीर अस्पतालको आइसियुमा उपचार भइरहेको छ । स्वास्थ्यमा सुधार हुँदै गएको भए पनि नेपाललाई डिचार्ज हुन भने अझै केही दिन लाग्नेछ ।

‘कम्तीमा पनि सातादिनको एन्टिबायोटिक्सको कोर्स हुन्जेल उहाँ ९नेपाल० अस्पतालमा बस्नुहुन्छ । तीन दिनमै पनि अस्पतालबाट घर जान सकिन्थ्यो, तर किन जोखिम मोल्ने भनेर अस्पतालमै उपचार गराइएको हो,’ नेपालका स्वकीय सचिव मोहन गौतमले नागरिकसँग भने ।

नेपाललाई आइतबार भेटेर प्रधानमन्त्री सुशील कोइराला, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले स्वास्थ्यस्थितिको जानकारी लिएका छन् । पार्टी अध्यक्ष झलनाथ खनालले शनिबार नेपालको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका थिए ।

एमाले संसदीय दलका नेता ओलीको भने वैशाख १७ गतेदेखि बैंककमा उपचार भइरहेको छ । ‘१४ दिने औषधिको कोर्स सकिएको छ । मेनेन्जाइटिस पूर्ण रूपमा निको भइसकेको छ,’ ओलीका स्वकीय सचिव रमेश आचार्यले नागरिकसँग भने । उनका अनुसार ओली १०–१२ दिनमा फर्कने सम्भावना छ ।

संसदीय दलका नेता चुनिएको केही समयपछि नै बिरामी परेका ओलीको एकसाता काठमाडौंको ग्रान्डी अस्पताल र त्यसपछि नयाँ दिल्लीको म्याक्स उपचार गरिएको थियो । करिब डेढ महिनापछि वैशाखको पहिलो साता स्वदेश फर्किएका ओलीलाई मेनेन्जाइटिस देखिएपछि बंकक लगिएको थियो ।

महासचिव पोखरेल पनि भाइरस ज्वरोका कारण बिरामी भएर घरमा आराम गरिरहेका छन् । ‘भाइरल ज्वरोका कारण उहाँ (पोखरेल) केही दिनदेखि बाहिरको कार्यक्रममा सहभागी हुन सक्नुभएको छैन,’ एमालेका एक नेताले भने ।

उता रूखबाट लडेका केन्द्रीय सदस्य गुरु बरालको विराटनगरस्थित न्युरो अस्पालमा उपचार भइरहेको छ । मनिङ वाक जाँदा बेल टिप्न रूख चढेका बेला बराल लडेर घाइते भएका हुन् । बराललाई मधुमेहको समस्या छ । मधुमेहको रोगीलाई बेल सेवन गर्दा राम्रो हुने भनिन्छ । ‘चार ठाउँमा हड्डी भाँचिएको छ ।

अपरेसन पनि गर्न नसकिने र प्लास्टर पनि गर्न नसक्ने अवस्थामा हुनुहुन्छ,’ एमालेको कोसी अञ्चल समन्वय समितिका सदस्य विनोद ढकालले भने, ‘चिकित्सकहरूले छसाता आराम गर्नुपर्ने बताएका छन् ।’ बरालको एउटा करङ, खुट्टा र पछिल्लो भागमा हड्डी भाँचिएको हो । नागरिक दैनिकबाट