
काठमाडौं ११ माघ । सत्तारुढ दलहरुले संविधानसभामा प्रक्रिया अगाडी बढाउने तयारी गरेपछि एमाओवादी गठबन्धन प्रतिवादको तयारीमा लागेपछि संविधानसभाको सुरक्षालाई अझै कडा पारिएको छ । आइतबार सभासदलाई चेकजाँचदेखि सुरक्षा तैनाथी झन बढाइने भएको छ । त्यसका लागि संविधानसभा भवनमा मर्यादापालक थपिएका छन् । सभाध्यक्ष सुवास नेम्बाङलाई प्रश्नावली समिति गठनको प्रस्ताव राख्न नदिने बताएपछि संविधानसभामा सुरक्षा व्यवस्था झनै कडा पारिएको हो।
सभाध्यक्ष नेम्बाङले आजको बैठकमा ल्याउने समितिको ठाडो प्रस्ताव रोक्ने धारणा एमाओवादी गठबन्धनले सार्वजनिक गरेको छ। सम्भावित द्वन्द्वका कारण मर्यादापालक थप्दै संविधानसभा परिसरको सुरक्षा व्यवस्था झनै कडा पारिएको सचिवालयका प्रवक्ता मुकुन्द शर्माले बताउनुभयो ।
सोमबार मध्यरातमा बसेको संविधानसभामा एमाओवादीसहित विपक्षी गठबन्धनले बैठक सकिएपछि गरेको तोडफोडलाई ध्यानमा राखेर मंगलबारदेखि बढाएको सुरक्षालाई झन मजबुद बनाइएको छ,’ शर्माले भन्नुभयो,‘जुनसुकै आउने चुनौतीलाई सामना गर्ने गरि सुरक्षा प्रबन्ध मिलाइएको छ ।’
संविधानसभा भवनमा मर्यादापालकको संख्या ६ सय ५० पुर्याइएको छ। जनपद प्रहरी र सशस्त्र प्रहरी पनि थप गरिएको छ। केही कमान्डोसहित संविधानसभा भवनमा दुई हजार सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
रक्षा मन्त्रालयका केही सादा पोसाकका सुरक्षाकर्मी पनि संविधानसभामा तैनाथ छन्। यसअघि नेपाल प्रहरीका उपरीक्षकको नेतृत्वमा सुरक्षा व्यवस्था हुने गरे पनि तनाव बढ्दै गएपछि प्रहरी नायब महानिरीक्षकले सुरक्षा नेतृत्व समालेका छन्। डीआईजी मधु पुडासैनीको कमान्डमा मर्यादापालक परिचालित भएका छन्।
विज्ञहरुका अनुसार आइतबार (आज) संविधानसभामा मुडभेडको स्थिती सिर्जना हुने आकलन गरिएको छ । प्रक्रिया र सहमती मै संविधान हुनुपर्ने भन्दै सत्ता र प्रतिपक्षविचको विवादले संविधानसभा नै रणभुमि बनेको छ ।















प्रतिक्रिया