२९ आश्विन २०८३, बिहिबार

गाईपालनमा रमाउँदै माओवादी नेता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Cow-Gaipalan

बागलुङ, १० माघ । पार्टीलाई उत्पादनसँग जोड्ने एनेकपा (माओवादी) हेटौँडा महाधिवेशनको निर्णय निरर्थक बनेका बेला यहाँका एक नेताको एकल प्रयास भने सार्थक बनेको छ ।

एनेकपा (माओवादी) बागलुङ नगर इञ्चार्ज कुमारविक्रम क्षेत्री नेता मात्र हुनुहुन्न । उहाँसँग एक सफल कृषि उद्यमीको परिचय पनि थपिएको छ । डेढ वर्ष अघिदेखि व्यावसायिक गाईपालन सुरु गर्नुभएका क्षेत्रीलाई सफलतासँगै सबैको प्रशंसा पनि मिलेको छ ।

बागलुङ नगरपालिका–४ पाखाथरका क्षेत्रीले १७ लाख ५० हजारको लगानीमा गाईपालन सुरु गर्नुभएको हो । गाइभैंसी खरिद र पूर्वाधार निर्माणमा लगानी गरेको उहाँको भनाइ छ ।

सुरुमा छिमेकीको जग्गामा गाईपालन सुरु गर्नुभएका क्षेत्रीले पछि आफ्नै जग्गामा ‘फार्म’ बनाएर गाई सार्नुभएको हो ।

आठ गाईसँगै दुईवटा उन्नत जातका भैँसी पनि ‘फार्म’ मा छन् । गाईमा होलिस्टिन जातका तीन र बाँकी जर्सी छन् । भैँसी एउटा गुजराती छ भने अर्को स्थानीय क्रस छ । त्यसबाहेक गोठमा अहिले एक राँगो र तीन बाच्छी पनि छन् ।

“पार्टीको हेटौँडा महाधिवेशनले पार्टी र राजनीतिलाई उत्पादनसँग जोड्ने भन्यो, तर त्यो सम्भव रहेन”, क्षेत्रीले भन्नुभयो, “तर पनि मैले आफ्नो व्यक्तिगत प्रयासमा यो व्यवसाय सुरु गरेँ, अहिले सफल पनि हुँदै गएको छ ।” गाईभैँसीले गरेर दैनिक ७० लिटर जति दूध दिने गरेका छन् ।

दूधको बजार अभाव नभएकाले बिक्रीको कुनै समस्या छैन । दैनिक दूध बेचेर चार हजारदेखिमाथि आम्दानी हुने गरेको क्षेत्रीले बताउनुभयो ।

“खर्च पनि धेरै छ, हाम्रो सबै परिवार यसैमा लागेका छौँ, एकजना कामदार पनि राखेका छौँ”, क्षेत्रीले भन्नुभयो, “सबै लगानी उठ्न त केही समय लाग्ला, तर म धेरै नै उत्साहित छु, हाम्रो देशमा कृषिको प्रबल सम्भावना छ, यसलाई अघि बढाउनैपर्छ ।”

यसअघि राज्य समिति सदस्यसमेत भइसक्नुभएका क्षेत्री पार्टीको जिल्ला सदस्यसमेत हुनुहुन्छ ।

“मैले आफूलाई उत्पादनसँग जोडे पनि राजनीतिक सक्रियता कम गरेको छैन, मलाई झन सहयोग पुगेको छ”, क्षेत्रीले भन्नुभयो, “पहिले राजनीतिक अभियान, कार्यक्रममा हिँड्दा अभाव झेल्नुपथ्र्यो, अहिले व्यवसायबाट सहयोग पुगेको छ ।” क्षेत्रीले धवलागिरि कृषि तथा पशुपालन उद्योग नै दर्ता गरेर गाई ‘फार्म’ खोल्नुभएको हो ।

विद्यार्थीकालदेखि नै राजनीतिमा होमिनुभएका क्षेत्री ४६ वर्षको उमेरमा आएर कृषि उद्यममा लाग्नुभएको हो । उहाँको लगन र मेहनत देखेर श्रीमती तारा क्षेत्री पनि खुसी हुनुहुन्छ । बिएसी अध्ययनरत छोरा आशीषले पनि व्यवसायमा सघाइरहनुभएको छ ।

“भैँसीको स्याहार सुसारदेखि दूध दुहुने काम पनि उहाँ आफँै गर्नुहुन्छ, उहाँको दैनिकी पनि फेरिएको छ”, ताराले भन्नुभयो, “पहिले पार्टीको काममात्रै भनेर बाहिर हिँड्नुहुन्थ्यो, समय व्यर्थै बितेको थियो, अहिले परिवार नै व्यावसायिक बनेको छ ।”

व्यक्तिगत रुपमा ‘फार्म’ खोल्दा केही समस्या झेल्नुपरेको क्षेत्रीको भनाइ छ । सरकारले कृषि उद्यमीलाई प्रोत्साहित गर्न व्याजमा छुट, अनुदान जस्ता सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।

क्षेत्रीले बैंकबाट ऋण काढेर गाईपालन सुरु गर्नुभएको थियो । गाईभैँसीसँगै क्षेत्रीको ‘फार्म’ मा व्यावसायिक रुपले पालिएका बाख्रा पनि छन् । रासस