काठमाडौं, ७ माघ । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री सुशील कोइरालाका कारण संविधानका विवादित विषयमा सहमति हुन नसकेको आरोप लगाउनुभएको छ । बुधबार बिहान राजधानीमा पत्रकार सम्मलेनको आयोजना गरी उहाँले नयाँ संविधानको प्रमुख बाधक प्रधानमन्त्री कोइराला भएको आरोप लगाउनुभएको हो ।
‘सहमति नगर्नेमा प्रधानमन्त्री सक्रिय हुन थाल्नुभयो, मिलेका दुई विषय पठाउँ भन्ने कुरा हुँदै थियो, प्रधानमन्त्री स्वयम्ले अब सहमति हुनै सक्दैन प्रक्रियामा जाने भन्नुभयो । सहमतिको कुरै छाड्नुभयो ’, दाहालको भनाइ छ । उहाले तोडफोडको कारक पनि कांग्रेस नै भएको बताउँनुभएको छ ।
अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी ओलीको बचाउ गर्दै ओलिसँग भएको छलफल सकारात्मक देखिएको बताउनुभयो । ओली र आफूबीच सहमति भएको खबर पाउने बित्तिकै कांग्रेसका नेताहरु सहमति हुन नदिन चलखेल गरेको दाहालको भनाइ छ । ‘ओली र मबीच सहमति हुने खबर सुन्ने बित्तिकै कांग्रेसका सहमति विरोधी नेताहरुले चलखेल गरे’, उहाँले भन्नुभयो । ‘सहमति हुने भएपछि, यो कुरा केही साथीहरुलाई मन परेको थिएन, सभामुखले मिलेका विषयलाई अगाडि लैजाऔँ भन्नुभयो’, अध्यक्ष दाहालले भन्नुभयो, –‘सहमति बिग्रनुको कारण खोतलेपछि उहाँहरुले विषयलाई ट्विस्ट गरिसक्नुभएछ ।’
अराजक गतिविधि योजना विपरीत
एमाओवादीका नेता बाबुराम भट्टराईले संविधानसभा बैठकमा भएको अराजक गतिविधि आफूहरुको नीति र योजनाविपरीत भएको बताउनुभएको छ । उहाँले आफूहरु संविधानसभामा भएको घटनाका लागि जिम्मेवार नरहेकोसमेत दाबी गर्नुभयो । ‘संविधानसभामा भएको घटनामा मुल नेतृत्वकै संलग्नता छैन’, भट्टराईले भन्नुभयो, –‘आक्रमण र तोडफोड गर्ने कुनै योजना थिएन, जे भयो त्यसका लागि दुःखी छौं ।’
नेता भट्टराईले कांग्रेस र एमालेको नेतृत्व असाध्यै अनुदारवादी र यथास्थितिवादीहरुका हातमा पुगेका कारण वर्तमान अवस्था आएको टिप्पणी गर्नुभयो । उहाँले सञ्चारमाध्यमले संविधानका अन्तरवस्तुभन्दा कुर्सी तोडफोडलाई महत्व दिएकोमा असन्तुष्टि ब्यक्त गर्नुभयो ।
















प्रतिक्रिया