महेन्द्रनगर, २७ भदौ । दिलीप विष्टलाई भन्दा अघि २१ साउनमा प्रहरीले स्थानीय युवा चक्र बडूलाई पनि पक्रेर ११ दिनसम्म यातना दिएको थियो ।
प्रहरीले चक्रसँगै १५ वर्षीया बहिनी लक्ष्मी र ११ वर्षीय भाइ गौतमलाई पनि पक्राउ गरेको थियो । बहिनी र भाइलाई सोही दिन छाडिए पनि चक्रलाई भने हिरासतमा मानसिक यातना दिएर राखियो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
चार दिनसम्म त परिवारका कसैलाई भेट्नसमेत दिइएन । रोल्पामा प्रहरी जवानका रूपमा कार्यरत दाजु महेश आएपछि मात्रै चौथो दिन भेट गराइयो । उनलाई पनि अपराध स्विकार्न र अस्वीकार गरे परिवार नै बर्बाद गरिदिने धम्की एसपी डिल्ली विष्टले दिएका थिए । ११ दिनपछि उनलाई प्रहरीलाई गालीगलौज गरेको सार्वजनिक मुद्दा लगाएर छोडिएको थियो ।
चक्र बडूअघि प्रहरीले १८ साउनमा स्थानीय किशोरी हेमन्ती भट्टलाई पक्रेर पाँच दिनसम्म यातना दिएको थियो । स्थानीय जनज्योति बहुमुखी क्याम्पसमा कक्षा १२ मा पढ्ने १७ वर्षीया भट्टलाई शिक्षक र विद्यार्थीकै अगाडि घिसार्दै लगिएको थियो ।
हिरासतमा खुट्टा माथि र टाउको तल पारेर यातना दिएपछि तत्कालीन एसपी डिल्ली विष्टले निर्मलाको बलात्कार र हत्यामा संलग्न रहेको बयान दिन दबाब दिएका थिए । आफन्त पुरुषहरूसँग मिलेर अपराध गरेको बयान दिन नमाने जीवन बर्बाद गराउने धम्की एसपी विष्टले दिएका थिए । तर, वडाध्यक्षसहित कलेजका विद्यार्थी गएर हेमन्तीलाई छुटाएका थिए ।
हेमन्तीभन्दा अघि १२ साउनमा प्रहरीले दीपक नेगी र जीवन घर्तीमगरलाई पक्राउ गरेको थियो । तर, पछि दीपक गम्भीर प्रकृतिको यौनरोगले ग्रस्त भएको पत्ता लाग्यो । त्यस्तै, जीवनले बयानका क्रममा भने, ‘हो, मैले निर्मलालाई खुकुरीले काटेर मारेँ ।’
जब कि पोस्टमार्टम प्रतिवेदनअनुसार निर्मलाको घाँटी निमोठी हत्या गरिएको थियो । जीवन मानसिक रोगी भन्ने पनि खुल्यो । तर, प्रहरीको यति फितलो अनुसन्धानका आधारमा गृहमन्त्री रामबहादुर थापा बादलले संसद्मा दीपक र जीवनको नामै लिएर अपराधी पक्राउ परिसकेको दाबी गरे ।
यसरी शृंखलाबद्ध रूपमा प्रहरीले एकपछि अर्को निर्दोषलाई अभियुक्त बनाउन खोजेको छ, तर स्थानीय जनताले जोमाथि औँला उठाएका छन्, उनलाई गिरफ्तारसमेत गरिएको छैन ।
यसरी सोझासीधा जनतालाई पक्राउ गर्ने र यातना दिएर अपराध बक्न लगाउने एसपी विष्टकै छोरा किरणमाथि नै अनुसन्धान गर्न स्थानीयवासीले माग गरिरहेका छन् । तर, उनीमाथि अनुसन्धान भएको छैन । प्रहरीको विश्वसनीयता र सरकारको संवेदनशीलतामाथि यति ठूलो प्रश्न उठ्दा पनि प्रधानमन्त्री र गृहमन्त्री मूकदर्शक छन् ।















प्रतिक्रिया