४ कार्तिक २०८३, बुधबार

साफ च्याम्पियनसिप : अहिलेसम्म माल्दिभ्सविरुद्ध नेपालको प्रदर्शन कस्तो छ ?

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ भदौ । साफ च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएको राष्ट्रिय फुटबल टोलीले बुधबार माल्दिभ्सको सामना गर्दैछ ।

बुधबार नेपाली समयअनुसार दिउँसो ३:४५ बजे बंगबन्ध रंगशालामा नेपालले माल्दिभ्सविरुद्ध खेल्नेछ । नेपाली टोली फाइनलमा स्थान बनाउन मैदानमा संघर्ष गर्नेछ भने माल्दिभ्सको पनि लक्ष्य उही हुनेछ ।

साफको यस संस्करणमा पहिलो खेल पाकिस्तानसँग २-१ ले गुमाएको नेपालले दोस्रो खेलमा भुटानविरुद्ध ४-० को सानदार जित निकाल्यो । समूह चरणको अन्तिम खेलमा नेपालले आयोजक बंगलादेशलाई पराजित गरेको थियो । नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । उता भुटान समूह ‘बी’को उपविजेता बन्दै नेपालसँगको भिडन्त तय गरेको हो ।

माल्दिभ्सलाई साफकै बलियो राष्ट्रको रुपमा लिइन्छ । साफ च्याम्पियनसिपमा नेपालले हालसम्म माल्दिभ्सलाई हराउन सकेको छैन । सरसर्ती हेर्दा नेपाल माल्दिभ्सभन्दा कमजोर छ ।

अहिलेसम्म नेपालले माल्दिभ्ससँग १५ पटक खेलेको छ । जसमा नेपालले ४ खेल मात्र जितेको छ भने ४ खेल बराबरीमा रोकेको छ । नेपालले माल्दिभ्ससँग ७ हार बेहोरेको छ । हालसम्म नेपालले माल्दिभ्सलाई १९ गोल गरेको छ भने २० गोल खाएको छ ।

साफ च्याम्पियनसिपमा नेपालको र माल्दिभ्सको भिडन्तलाई लेखाजोखा गर्ने हो भने नेपाल जितविहीन नै छ । साफमा नेपालले माल्दिभ्ससँग ६ खेल खेल्दा ४ खेल माल्दिभ्सले आफ्नो पक्षमा पारेको छ । नेपालले २ खेल माल्दिभ्ससँग बराबरी खेलेको छ ।

साफमा नेपालले माल्दिभ्सलाई ७ गोल गरेको छ भने १४ खाएको छ ।

नेपालले माल्दिभ्सलाई अन्तिमपटक सन् २०१६ मा बंगलादेशमै भएको बंगबन्धु गोल्डकपमा पराजित गएको थियो । जसमा नेपालले ४-१ ले जितेको थियो । उक्त खेलमा नेपालका नवयुग श्रेष्ठले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले ह्याट्रिक गरेका थिए भने अर्को गोल विशाल राईले गरेका थिए ।

बुधबार माल्दिभ्सलाई नेपालले हराएमा एउटा इतिहास रचिनेछ । नेपालका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले नेपालले इतिहास रच्ने विश्वास लिएका छन् ।