
-मिना श्रेष्ठ
नारी मुक्तिको गीत गाउने दिन भने पनि, स्वतन्त्रताको चाड भने पनि, विलौना गाउने इतिहासको दिन भने पनि नेपाली हिन्दु महिलाहरुको तीज पर्व घरदैलोमा आइपुगेको छ । यो पर्व कहिले शुरु भयो भन्ने यथार्थ नभेटिए पनि पौराणिक कथाअनुसार पार्वतीले शिवलाई पतिको रुपमा पाउन अन्न–जल नखाई उपवास बसेपछि उनले शिवलाई प्राप्त गरिन् । त्यही पौराणिक कथा अनुसरण गर्दै हिन्दु महिलाहरुले आफ्ना पतिको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै निराहर व्रत बस्ने चलन चलिआएको पाइन्छ ।
हिजोआज झन्डै दुई महिनासम्म मनाइने तीजमा सामाजिक सञ्जालका भित्ताहरु रङ्गिन थालेका छन् । गर्वका साथ धक फुकाएर मेरो चौधौं तीज भनेर तडकभडकसहित फोटोहरु प्रदर्शन गरेको पाइन्छ ।
माइतीबाट छोरी–चेलीलाई लिन जाने, माइतीघरमा आफ्नो गच्छेअनुसारको मिठो–मसिनो खाने–खुवाउने, एक दिन भए पनि आराम गर्ने गरिन्छ । यो पर्वमा कतै व्रत बस्ने अघिल्लो दिन माइतीघर पुगेर उज्यालो हुनु अघिसम्म दरको रुपमा खीर, ढकने, चाम्रे इत्यादि खाने प्रचलन रहेको पाइन्छ । हरितालिका तीज पर्व तृतीयाको दिन व्रत बस्नुभन्दा अगाडि गरिने भेटघाट र मिठो–मसिनो खानपिन हिजोआज साउने संक्रान्तिकै दिन शुरु हुन थालेको छ । हिजोआज झन्डै दुई महिनासम्म मनाइने तीजमा सामाजिक सञ्जालका भित्ताहरु रङ्गिन थालेका छन् । गर्वका साथ धक फुकाएर मेरो चौधौं तीज भनेर तडकभडकसहित फोटोहरु प्रदर्शन गरेको पाइन्छ । यस्ता तडकभडक र उपभोक्तावादी संस्कृतिले तीजलाइ फेशन शोमा परिणत गर्दै लगेको छ । कहिले तीज आउँछ र साडी–गहना देखाऊँ जस्तो भएको छ । कसको साडी कति महङ्गो ? कसको गहना कति भनेर देखाउने प्रतिस्पर्धा भएको छ ।
हिजोआज परम्परागत रुपमा हिन्दु महिलाहरुले महान् चाडको रुपमा मनाउने गरेको तीज तडकभडकसहित महिना दिनअघि नै मनाउन थालिएको छ । अझ राजधानीमा तीजमा दर खानका निम्ति चन्दा बटुल्ने चलन पनि शुरु भएको छ, ठाउँ–ठाउँमा तीज मेलाहरु शुरु भएका छन् । विभिन्न पार्टी प्यालेसमा दर खाने र नाचगान गर्ने चलन भित्रिएको छ । पाँचतारे होटल र डान्सबारमा तीजका भाकाहरु गुन्जिन थालेका छन् । तीजमा खाइने खीर, चाम्रेहरु परिवर्तन भएर अरु खाद्य पदार्थ पनि भेटिन थालेका छन् । धैरै गहना, रातो साडी र तडकभडक जहाँ छ, त्यहाँ मिडियाको पनि उपस्थिति पाइन्छ । प्रचार–प्रसार त्यहाँ पाइन्छ । सासूले, नन्द–आमाजूले दिएका दुःख र पीडा साटासाट गर्ने, गुनासा पोख्ने महान् चाड मानिएको तीज आज कसको साडी कति महङ्गो, कसको गहना कति भनेर प्रदर्शन गर्ने पर्वको रुपमा स्थापित हुँदै गएको पाइन्छ ।
हामीकहाँ सबै पुरुषहरु पितृसत्तात्मक सोचले ग्रस्त छन् भन्ने होइन । महिलावादी सोच राख्ने, महिला र पुरुष समान हुन् भन्ने धारणा राख्ने पुरुषहरु पनि पाइन्छन् ।
यसरी हैसियत प्रदर्शनले सम्पन्न परिवारमा त रमाइलै होला, तर विपन्न परिवारमा झैझगडा र आत्महीनता बोध गराउन सक्छ । तीजको अवसर पारेर एकै दिनमा ४–५ ठाउँमा तीजका आधुनिक परिकार खान छड्के तीलहरी र गहनाले झ्याप्प भएर ६० हजारभन्दा बढी मूल्य पर्ने साडी ढल्काएर डिस्कोमा नाचिरहेका छन् । जहाँ तडकभडकयुक्त डिस्को डान्स, झ्यापझ्यापी गहना छ, त्यहाँमात्र तीज कार्यक्रम हुन थालेको छ । तीजको व्रत बस्दा मेरो स्वास्थ्य राम्रो हुने होइन, तिम्रै स्वास्थ्य चाहिँ बिग्रन्छ । त्यसैले व्रत नबस । तिम्रो व्रतले मेरो आयु लम्बिने होइन, तिम्रो आयु छोट्टिन सक्छ भन्छ । अर्का थरी पुरुष भने के गर्ने ? हाम्रो संस्कृति हो, चलिआएको परम्परा हो । गोडा धोएर पानी खाऊ भनेर गोडा तेस्र्याउँछन् भने उनीहरु व्रतै नबसे पनि रातो साडी चाहिँ लाउनू है भन्छन् । व्रत बसेको दिन श्रीमानले साँझ खाऊ नभनी खान नहुने, टाढा छ भने श्रीमानले फोनबाट खाऊ नभनेकाले भोकै बस्नु परेको गुनासो सुन्न पाइन्छ ।
हामीकहाँ सबै पुरुषहरु पितृसत्तात्मक सोचले ग्रस्त छन् भन्ने होइन । महिलावादी सोच राख्ने, महिला र पुरुष समान हुन् भन्ने धारणा राख्ने पुरुषहरु पनि पाइन्छन् । महिलाले महिलालाई हिंसा गर्ने, दुर्व्यवहार गर्ने तीतो सत्य छँदैछ । सासू–बुुहारी, नन्द–भाउजूबीच न्यानोभन्दा चिसो सम्बन्ध, एउटी महिला अर्की महिलालाई विस्थापित गरेर सौता बन्ने, महिलाले नै महिलाको चियोचर्चा गर्ने गरेको पाइन्छ । त्यसैले यस्ता प्रवृत्तिलाई हटाउन सामन्तवादी पितृसत्तात्मक चिन्तनलाई हटाउन सामन्तवादको जरो कहाँ छ, खोजी गरिनुपर्छ र उखेल्नुपर्छ ।
दुई सयको फरिया फेर्न नपाएर माइत जान नपाउने र बीस हजारभन्दा बढी मूल्य पर्ने सितारा र जडीले भरिएको साडीमा रम्ने निम्न वर्ग र उच्च वर्गबीचको खाडल बढाउने प्रथाको अन्त्य गरिनुपर्छ ।
नारी मुक्तिको प्रश्न, संस्कृतिसँग मात्र जोडिएको छैन । सांस्कृतिक संघर्षसँगै सामाजिक, आर्थिक रुपमा पनि परिवर्तन हुनुपर्छ । वर्गीय मुक्तिविना नारी मुक्ति सम्भव छैन भन्ने कुरालाई आत्मसात् गर्नुपर्छ अनि मात्र वास्तविक महिला मुक्तिको ढोका खुल्न सक्छ । युग परिवर्तनको संवाहक युवा पिँढीले परम्परागत रुपमा महान् पर्व भनेर मनाउँदै आएको तीजको नकारात्मक परम्परालाई परिवर्तन गर्नुपर्छ ।
आर्थिक हैसियतको मापन गर्ने विकृतिको अन्त्य गर्दै महिला–पुरुष समान भन्ने कुरालाई उद्घोष गर्न केही नखाई, नपिई भोकै बस्ने परम्परालाई बहिष्कार गर्न सक्नुपर्छ । दुई सयको फरिया फेर्न नपाएर माइत जान नपाउने र बीस हजारभन्दा बढी मूल्य पर्ने सितारा र जडीले भरिएको साडीमा रम्ने निम्न वर्ग र उच्च वर्गबीचको खाडल बढाउने प्रथाको अन्त्य गरिनुपर्छ । चाडपर्वका विकृतिहरुलाई हटाउँदै सकारात्मक सोचको विकास गर्दै विकृति उन्मुख तडकभडकपूर्ण तीजको अन्त्य गर्नुपर्छ । हुँदा खाने र हुने खानेबीचको खाडललाई पुर्नुपर्छ । समाजलाई पितृसत्तात्मक जन्जालबाट मुक्त गराउँदै समतामूलक समाजको निर्माण गर्न लाग्नुपर्छ । महिला माथि हुने विभिन्न खाले हिंसा विरुद्धको आवाज लाई बुलन्द पार्ने दिन बनाउन पर्छ ,एकले अर्कालाई हेप्ने र दमन गर्ने समाज होइन, खुल्ला आकाश र खुल्ला धर्तीमा रम्ने समाज निर्माण गर्नुपर्छ ।















प्रतिक्रिया