
काठमाडौ, ७ माघ । संविधानसभा भवन र आसपासका क्षेत्र सुरक्षाका दृष्टिकोणले संवेदनशिल बनेपछि तीन नायब महानिरीक्षक (डीआईजपी) को नेतृत्वमा प्रहरी परिचालित भएका छन् ।
संविधानसभा भवनभित्रै विपक्षी सभासद्हरुको तोडफोड, बाहिर सडकमा बिभिन्न समुहको धर्ना र विरोध कार्यक्रमले उक्त क्षेत्र संवेदनशिल बनेपछि सुरक्षा तैनाथी बलियो तुल्याइएको हो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका तीन डीआईजीपीले सुरक्षा ब्यवस्थापन गरिरहेका छन् ।
संविधानसभा कक्षमा मर्यादा पालकको नेतृत्व महानगरीय प्रहरी आयुक्त कार्यालयका डीआईजीपी मधुसुदन पुडासैनीले गरेका छन् ।
सोमबार राती सभासदहरु बितण्डा मच्चाएपछि प्रहरी प्रधान कार्यालयले उनलाई थप सुरक्षाका लागि पठाएको हो ।
भवन आसपास क्षेत्रमा नेपाल प्रहरीका अर्का डीआईजीपी हेमन्त पाल र सशस्त्र प्रहरीका बलका दुर्गा कुवँर खटिएका छन् ।
दुइटै सुरक्षा निकाय गरेर झण्डै १ हजारको हाराहारीमा सुरक्षाकर्मी नयाँ बानेश्वरस्थित संविधान सभा भवन सुरक्षाका लागि परिचालित भएका छन् ।
यो संख्या मर्यादा पालक र स्पेशल टास्कफोर्स बाहेकको हो ।
गृह मन्त्रालयले केही समय अघि बनाएको एकिकृत निर्वाचन सुरक्षा योजना अनुसार उनीहरुलाई परिचालन गरिएको हो । ‘स्थिति सामान्य नभएसम्म यहि निरन्तर रहन्छ’ एक प्रहरी अधिकृतले भने ‘परिस्थिती हेरेर जनशक्ति थप परिचालन हुनेछ ।’
सोमबार राती विपक्षी सभासद्हरुले सभामुख सुवास नेम्बाङमाथि आक्रमण गर्न खोजेपछि स्थिति तनावग्रस्त भएको थियो ।
नेम्बाङलाई जोगाउने क्रममा चार मर्यादापालक घाइते भएका थिए ।
त्यस्तो स्थिति मंगलबारको बैठकमा दोहोरीन नदिन थप १ सय १५ मर्यादापालक खटाइएको छ ।
नेपाल प्रहरीको सुरक्षा सेवा निर्देशनालयबाट घटाइने मर्यादा पालकहरु अब २ सय ५० पुगेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
एमाओवादीको नेतृत्वको दलिय मोर्चाले मङगलबार रोष्टम घेराउ गर्दा मर्यादा पालकहरु साङ्लो बाँधेर सत्तारुढ दलका नेताहरु बस्ने कुर्सि र सभामुखको लबि सुरक्षा प्रदान गरिरहेका थिए ।
तीन सय मर्यादा पालक नै दुई चरणमा साङलो बाँधेर बसेका थिए ।
संविधानसभा भवनको भित्री सुरक्षा नेपाल प्रहरीको स्पेशल टास्क फोर्सले प्रदान गर्छ ।
कमाण्डो तालिम गरेका झण्डै सय सुरक्षाकर्मीले संविधानसभा भवन बाहिर सुरक्षा प्रदान गरेका थिए ।
बैठकमा भाग लिन गएका सभासदहरुलाई भवनको दक्षिण गेटमा बसेका सुरक्षाकर्मीले परिचय पत्र हेरेर मात्र पठाएका थिए ।
पहिलो गेट पार गरेपछि वाकथ्रु गेटबाट हिडाँएर प्रवेस गराइएको थियो ।
सभासदको लोगो लगाएर आएका सभासदको समेत परिचय पत्र हेरिएको थियो । कतिपय सभासदले आफू सभासद भन्दै कोटमा लगाएको लोगो देखाउँदा समेत परिचय पत्र मागिरहेको देखिन्थ्यो ।
‘हिजोको घटनाले आज जे पनि हुनसक्ने देखियो’ सुरक्षामा खटिएका एक अधिकारीले भने ‘कुनै घटना हुन नदिन पहिला नै सर्तकता अपनाउन जरुरी भयो ।’
स्पेशल टास्क फोर्सबाट थप ३५ सुरक्षाकर्मी परिचालन गरिएको छ ।
डीआईजीपी पाल र कुँवर नेतृत्वको झण्डै हजार हाराहारीको फौजले संविधान सभा भवनको पश्चिम गेटबाट नयाँ बानेश्वर चोक हुदै औषधी ब्यवस्था बिभाग, संविधान सभा भवन अघि अरनीको राजमार्ग तर्फ यातायात ब्यवस्था बिभाग, निजामती अस्पतालको सुरक्षा हेर्नेछ ।
फौज बानेश्वर चोकदेखि शंखुमल जाने सडक तर्फ ५० मिटरसम्म, संविधान सभा भवन पश्चिम तर्फ ३ नम्बर गेटबाट थापा गाउँ जाने अनमोल क्याटरिङ, बबरमहल स्थित जिल्ला अदालत प्रवेस मार्गदेखी जिल्ला प्रशासन कार्यालय हुदै हनुमानस्थान मन्दिरसम्म परिचालित छ ।
यो क्षेत्र जिल्ला प्रशासन कार्यालयले तोकेको निशेधित क्षेत्र हो । त्यसमा पहिलो घेरामा नेपाल प्रहरी र त्यसपछि क्रममैसंग शसस्त्र प्रहरी तैनाथ गरिएको छ ।















प्रतिक्रिया