३० आश्विन २०८३, शुक्रबार

साइकलका पाइडलमा बाबुका सपनाधारा

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कम्प्युटरका किबोर्डमा अक्षरहरूको तालमेलको ‘खेल’ उल्झनमा अभ्यस्त हुँदा कहिलेकाहीँ बाबुले साइकलका हजारौं पाइडल मारी दैनिक गन्तव्यमा पुग्दा के सोचिरहेका होलान् भन्ने परिकल्पनाले घोच्छ, यदाकदा ।

बाबुको सपनाधारामा खसिरहेका प्रत्येक थोपाहरूको मोल के यी अक्षरहरूले पूरा गर्न सक्लान् ? प्रश्नका बिम्बहरूले ढुकढुकीका चाल गतिमान् बनाउँछन् । तर आत्मसन्तुष्टि त्यहाँनेर हुन्छ । जुन कर्ममा म लुकामारी गरिरहेको छु । त्यो कर्ममा कयन बर्षदेखि बाबुले जीवन समर्पण जारी राखेकै हो । त्यसका साथमा नेपाली सेनाका फरक बटालियनमा साधारण रक्षकका हिसाबकिताबको लेखाजोखामा उर्जाशील समय पनि खर्च भएकै हो । सुवेदारसा’प, पेन्टर अथवा चिन्तामणि जी, अन्य केही सम्बोधनबाट स्थापित परिचयको स्थायी परिचयचाहीँ– छोरा, पति र बाबु नै हो । र, हाम्रो जीवनको सीमारेखासम्म पनि स्थायी परिचय ‘बुवा’ नै हो ।

म हेक्का राख्नसक्छु । त्यो साइकलको गति । त्यो पाइडलको घुम्ने शैली । जसरी त्यो पाइडलले बलपूर्वक चेनमार्फत पाङ्ग्रा गुडाउँदै सडकको लम्बाई मापन गरी लक्ष्यसम्म तान्छ, जीन्दगीका कयन उतारचढाव पनि त्यसरी नै संवेदनाका तालमेलमा दौडिएकै छन् । फरक यत्ति भएको छ– समयको आयतन हाम्रा बस्मा छैनन् । ज्वारीकोटको खल्तीमा उच्च रक्तचापको ओखती अनिवार्य बन्यो, त्यो नेपाली टोपीबाट बग्ने पसिनाको सुगन्धमा केही फरक भयो । केशहरू अश्वेत प्रारूपबाट श्वेत रङ्गमा उत्रिने निर्णय गरे । तर जीन्दगीको पाइडल चलेकै छ, साइकल गुडेकै छ । तर आत्मविश्वासको गति समयभन्दा अघि अघि गुडेको देख्छु । यो भावको शिक्षामा हुर्किन पाएकैले ‘छड्के सलाम’ गर्छु ।

विनोद ढकाल

बाबु जीवनको त्यो लय हुन् जसबाट कर्मको गति र आत्मनिर्भरताको गीत गाउनेहरू बढ्छन् । कतिपयका लागि त बाबु कुबेरको ढिकुटीका कनिका समातेका त्यस्ता आदर्श पात्र बनिदिन्छन् जसका पुस्तैनी भविष्यको सुरक्षण हुन्छ । तर जीन्दगी जीउन सिकाउने, पीडा पिउन सिकाउने, समयसँग जुध्न सिकाउने, संकटसँग भिँड्न सिकाउने बाबुको उत्तराधिकारी धनले गरिब हुनसक्छ, मनले दुखी हुँदैन । ऊसँग जीवन सिकाईका कयन अध्यायहरू अनेक आयाममा जीवित हुन्छन् । हो, यही चिजलाई पुस्तैनी सम्पत्तिका रूपमा सर्वांश सिकाउने गुरू हुन् बाबु ।

अक्षरहरूको लहर तपाईका सीपले जुन सेपमा कोर्छ, शव्दहरूको लहर फरक सेपमा कोर्ने प्रयत्नको बाटोमा हिँड्नु ठानेको छु । सपनाहरू छन् र त परिवारसँगको तालमेल छ । हिँड्ने आँट छ । विश्राम नलिने ताकत छ । यहि सपनाहरूलाई छुन र कर्मको बाटोमा निरन्तर हिँडिरहने मेरो अठोट नै तपाईलाई बाबुको मुख हेर्ने दिनको उपहारस्वरुप अर्पण गर्न चहान्छु

आफ्नो जीवनको उर्जाशील समय देशका निम्ति समर्पण गरी जीवनको उत्तरार्धमा सन्तानको भविष्य निर्माणको भारी बोक्नु त्यसै पनि कठिन हुन्छ । सन्तानलाई दिने कर्म, पुरा गर्नुपर्ने जिम्मेवारीको भाकामा आफ्नो संघर्षलाई डोहो¥याउन त्यति सहजचाहीँ हुँदैन । सन्तानका थरीथरीका चाहना, उत्सुकता र रहरलाई आँखाको खुसी र मनको बाध्यतामा उनेर हिँड्दाहिँड्दै आँखाभरी सजाएका कतिपय कृत्रिम सपनाको बाटोहरू अधुरा हुन्छन् । ति अधुरा बाटोहरूमा आशाका पुल बिछ्याएर त्यहि सपनालाई छुने अभिलाषा सन्तानका अनुहारमा देख्नसक्ने नै कर्मठ बाबु हुन् ।

यो समाज यस्तै छ । समाजका विविध चरित्रका कारणले कुनै सैद्धान्तिक अनुशासनका धारा उपधारा कोरिएका हुँदैनन् । मनपेटका दोखहरूको अध्ययन गर्न सकिँदैन । कतिपय ठाउँमा यस्ता दोखहरूको पनि सामना गर्न सकेर अघि बढेकैले आज आनन्दको अनुभुति गर्न सक्ने क्षमताको भकारी बाबुमा जीवन्त छ ।

बाबु त्यस्ता मान्छे हुन् जो आफ्नो छोरा संसारमै सक्षम र खुशी मान्छे बन्न सकोस् भन्ने दिक्षा दिन रत्तिभर चुक्दैनन् । यो अहम् मौकामा मैले समर्पण गर्ने चिज नै संघर्ष दौरानका ति संस्मरणहरू हुन् । अक्षरहरूको लहर तपाईका सीपले जुन सेपमा कोर्छ, शव्दहरूको लहर फरक सेपमा कोर्ने प्रयत्नको बाटोमा हिँड्नु ठानेको छु । सपनाहरू छन् र त परिवारसँगको तालमेल छ । हिँड्ने आँट छ । विश्राम नलिने ताकत छ । यहि सपनाहरूलाई छुन र कर्मको बाटोमा निरन्तर हिँडिरहने मेरो अठोट नै तपाईलाई बाबुको मुख हेर्ने दिनको उपहारस्वरुप अर्पण गर्न चहान्छु ।

बिहानदेखि रातीसम्म कर्तव्यका विविध ठाउँमा समयको बचत नगर्दा देखिने बिम्बहरू बाबुका नै हुन्छन् । अहम् मौकामा निरन्तर मचाहीँ बुवा र मेरा बुवाबाट प्रेमले मलाई ‘बाबु’ भन्ने सम्बोधनको प्रेमिल शव्द खस्छन् । यसैले जीन्दगीलाई मुस्कानमय बनाइदिन्छ ।

आमा धर्ती र बाबु आकाश त्यसै भनिएको होइन, आकाशको सीमा र परिधि नै हुँदैन । त्यसैले अनुभवका दायरा बाबुले कति गरेका थिए, कति गर्छन् होला ? हेक्का राख्न मुस्किल हुन्छ । नीजि जीन्दगीमा मात्र अभ्यस्त हुने हो भने बाबु परिवार र सन्तानका निम्ति दुनियाँसँग स्वार्थी बन्नसक्छ । तर त्यो स्वार्थले दिलाएको ऐसआरामभन्दा इमान्दारीताले सिकाएको संघर्षका मैदानको दौड निक्कै भाग्यशाली हुन्छ । जसले भाग्यरेखा समानान्तर कोर्ने अथवा बक्र बनाउने भन्ने सीप सिक्ने मौका मिल्छ । यही मौकामा निरन्तर हिँड्नसक्ने क्षमता बढिरहेका कारणले पनि भन्छु– बुवा तपाई महान् हुनुहुन्छ ।

७ दशकको यो यात्राका हरेक निमेषले सिकाएको पाठलाई शव्द र अक्षरमा उतार्न मुस्किल हुन्छ । बयानका लागि शव्दहरूको आकार र आविष्कार नै कमजोर हुन्छन् । यसकारण यी केही शव्द केही कोस दूरीबाट कुशे औंसीमा दिइएको उपहारमात्र हो । सन्तानका लागि जीन्दगीका सुनौला समयमा चुहिएका आँसु र पसिनाको स्वाद आजै सन्तानको हातबाट खाएको मिष्ठान्नसँगै मधुर लाग्छ । यो पनि एउटा मधुर स्मरणका रूपमा ग्रहण गर्नुहोला ।