काठमाडौं, २४ भदौ । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा प्रहरीले नियतवत अनुसन्धानमा चलखेल गर्यो वा लापरबाही मात्र भयो भन्ने छानबिनकै क्रममा छ । सो घटनाबारे प्रहरी नेतृत्वले स्वीकार गरिसकेको एउटा कमजोरी हो– प्रहरीको रुखो व्यवहार । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
निर्मला हराएपछि खोजी गर्न आग्रह गर्दै उनका परिवार प्रहरीमा पुग्दा खोजीमा तदारुकता त देखाएनन् नै बोली व्यवहार पनि राम्रो थिएन । कञ्चनपुरका तत्कालीन एसपी(हाल निलम्बित) डिल्लीराज विष्टले पीडित परिवारसँग राम्रो व्यवहार देखाएनन्, बरु पक्राउ परेका दिलीपसिंह विष्टविरुद्ध किटानी जाहेरी दिन दबाब दिएका थिए ।
प्रहरीकै व्यवहारका कारण सुरुदेखि नै निर्मलाका आफन्त रुष्ट बनेका थिए । गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिले कञ्चनपुरमा प्रहरीविरुद्ध आन्दोलन चर्कनुको एउटा प्रमुख कारण प्रहरीको टर्राे व्यवहार भएको निष्कर्ष निकालेको छ । ‘प्रहरीले सुरुमा राम्रो व्यवहार नगर्दा प्रहरीप्रति पीडितको आशंका बढेको देखिन्छ,’ छानबिन समितिका संयोजक हरिकुमार मैनाली भन्छन्, ‘आन्दोलनमा पनि त्यो एउटा प्रमुख कारण थियो ।’
समस्यामै परेर धेरै सर्वसाधरण सहयोग माग्दै प्रहरीमा पुग्छन् । तर, पीडित बनेर पुग्नेहरूप्रति प्रहरीको व्यवहार सहयोगी नभई शासकको जस्तो हुने गरेको छ । जसकारण प्रहरी र नागरिकबीचको दूरी सुमधुर हुन सकेको छैन ।
प्रहरी नेतृत्वले पनि व्यवहार राम्रो नभएको स्विकारेको छ । तर, सुधार ल्याउन भने सकेको छैन । प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्री भने प्रहरीको व्यवहारमा पहिलेभन्दा सुधार भइरहेको बताउँछन् । ‘राज्यका अंगमध्ये सबैभन्दा धेरै सुधार प्रहरीमा भएको छ,’ उनी भन्छन्, ‘हामीले थप सुधारको प्रयत्न गरिरहेकै छौँ, तर, ठूलो संगठनमा रातारात क्रान्तिकारी परिवर्तन भने सम्भव हुँदो रहेनछ । यो क्रमशः चल्ने प्रक्रिया हो ।’















प्रतिक्रिया