३० आश्विन २०८३, शुक्रबार

बा, तपाईँका पट्पटी फुटेका पैताला हेर्न पाऊँ !

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सरगम भट्टराई

बा, तपाईँका पट्पटी फुटेका पैताला हेर्न पाऊँ !

मैले मेरो बोली नफुट्दै

एकोहोरो ‘बा बा’ भनिरहने म लाई

अचेल ‘बा’ भन्न पनि औशी कुर्नुपर्छ

तपाईँको पसिनाको सुगन्धले बनेको

मेरो तपाईँ देखि टाढाको यो अनुहार हेर्न

अचेल ईन्टरनेट जोड्नुपर्छ बा !

तपाईँले देखाएको बाटोमा

तपाईँलाई नै छाडेर म धेरै टाढा पुगिसक्दा

तपाईँले आफ्नै मुटुको टुक्राको बोली सुन्न

मेरो यता छुट्टीको दिन जुर्नु पर्छ !

तर बा !

मैले माया मारेको छैन

सत्ते ! सत्ते !

गोडामा ठेँस लाग्दा पहिले ‘ऐया बा’ भन्न भूलेको छैन

यताका रंगहरु देखेर दङ्ग हुनुभन्दा पहिले

‘बाबै नि’ भन्न छाडेको छैन

यस्तो एउटा रात छैन

तपाईँ मेरो सपनामा नआएको

यस्तो एउटा बात छैन,

तपाईँ मेरो जपनामा नआएको

मैले भूलेको छैन

तपाईँले सुमसुम्याएको मेरो कपाल

मलाई देख्न र लेख्न सिकाएको

त्यो आवाज़ सधै गुन्जिन्छ हरेक पल

“बाबु आफ्नो ख़्याल गर्नू है !”

हो बा,

म अचेल आफ्नै ख़्याल गर्ने ध्याउन्नमा

तपाईँको ख़्याल गर्न भूलेको छु

तपाईँको बूढेसकालको टेक्ने लौरो बन्न नसकेर

तपाईकै यता उता अट्न नमानेर

मलाई तोते र ताते सिकाउने

मलाई सत्ते र फत्तेको बाटो देखाउने

मेरो साक्षात् देवता तपाईँ

तपाईँकै सेवामा खट्न नसकेर

अचेल औशीको दिनमा

तपाईँलाई कौशी कुराएको छु बा !

पूजनीय बा,

तपाईको बूढ्यौलीले अचेल

बिहानै तातो पानी खोज्छ होला है !

दुखेका र पट्पटी फुटेका ती गोडाले

मट्मटी मालिस खोज्छन् होला है !

तर मैले आफ्नो भाग्य चम्काउने

पालिस खोज्ने ध्याउन्नमा ब्यस्त छु

मैले औँशीमा एक कल फोन गरेर

नाथे दुई चार हज़ारको उपहार दिदैमा

तपाईँको त्यो तिर्खा कसरी मेटिएला र?

तपाईँको पीड़ा कसरी कम होला र?

तपाईँको त्यो त्यागको ज्याला कसरी चुक्ला र ?

हो बा,

तपाईँले मलाई कुर्दा बगेको

आँशु कसरी सुक्ला र?

हजुरलाई त थाहै छ नि

आज म आफै बा बनेको छु

मैले तपाईँको मायाको मूल्य बुझेको छु

त्यसैले आँखा रुझाएको छु

मलाई माफ़ गर्नू है बा !

मनले त हरेक पल सम्झिरहन्छ

तर तन टाढा भएर भत्भति मन पोलिरहँदा

तन र मन दुख्दा ‘ऐया बा’ भन्न भूलेको छैन

क्यालेण्डरमा गोलो लगाएको छु

आज औँशी पो हो त बा !

सत्ते सत्ते मैले भूलेको छैन !

साँझ सम्म एक कल फ़ोन गर्छु नि है !

मलाई तपाईँको मुख हैन

पट्पटी फुटेका पैताला र

मलाई बोक्दा खुईलिएका काँध अनि

मलाई स्याहार गरेका हत्केला हेर्न पाऊँ !