खगेन्द्र कार्की
कतार । धनकुटा प्रवासी सेवा समाज कतारले सहानिया स्थित अल दोसरी गार्डेनको सभाहलमा हालै भेटघाट तथा सांगीतिक कार्यक्रमसहितको बनभोज सम्पन्न गरेको छ ।
गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष टिबी कार्कीको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रममा कतारका विभिन्न सामाजिक, वैचारिक, जातिय संघसंस्थाका पदाधिकारी, समाजसेवी, व्यवसायी तथा पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।
वर्षभरी आफ्नो कार्यक्षेत्रमा व्यस्त रहेका धनकुटेलीहरुको सम्बन्ध सुमधुर बनाउने उद्देश्यले सांस्कृतिक कार्यक्रमसहितको बनभोज आयोजना गरिएको हो । कार्यक्रममा स्थानीय कलाकारहरुले विभिन्न जातजातिको संस्कृति झल्कने सांगेतिक प्रस्तुति दिएका थिए । प्रवासी मगर संघ कतारका कलाकारहरुका साथै दिवस याख्खा, राजेन्द्र मोहोरा, सनिला दोङ्ग, तामा थापा, रामप्रसाद राई र सारुक सुन्दासले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
भेटघाट तथा बनभोज कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्कीले कतारमा रहेका धनकुटेलीहरुलाई बचत परियोजना ल्याई रकम संकलन गरेर सामूहिक लगानीमा व्यवसाय गर्न आग्रह गर्नुभएको थियो । कार्यक्रममा कमलमणी गुरागाई, दिलकिरण खजुम, एनआरएनए एनसीसीका प्रतिनिधि छविकरमण कटुवाल लगायतले आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रमस्थलमा राखिएको दान पेटिकाबाट १५ सय कतारी रियाल सहयोगसमेत संकलन भएको छ ।
कार्यक्रम संस्थाका अध्यक्ष दुर्गा तामाङको अध्यक्षता, उपाध्यक्ष ललित लिम्बुले स्वागत र सचिव तथा गायक रञ्जिव थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।















प्रतिक्रिया