काठमाडौं, २२ भदौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले झण्डै १ सय २० उपसचिव सरुवा गर्दा चलखेल गरेको आरोप कर्मचारीले लगाएका छन् ।
कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन संघले अधिकांस कर्मचारी नेकपा निकटकालाई सरुवा गरेको आरोप लगाउदै उक्त सरुवा पुनरावलोकन गर्न माग गरेको छ । नेपाल समाचार पत्र दैनिकले समाचार छापेको छ ।
सरुवामा विवाद भएपछि मन्त्रालयले ६ दिन अघि सरुवा सूची सार्वजनिक गरेपनि प्रदेशमा सरुवा भएका बाहेक झण्डै ७० जनालाई पत्र दिएको छैन । मन्त्री गिरिराजमणि पोखरेलको सचिवालयले मन्त्रालयको वेवसाइटमा प्रकाशित भएको सरुवाको सूची पुनः परिवर्तन गर्ने तयारी गरेको छ ।
स्रोतका अनुसार सरुवा भएका उपसचिवले पत्र माग्दा मन्त्रालयले अझै हेरफेर हुन सक्ने भन्दै पत्र दिन नमिल्ने जवाफ दिने गरेको एक उपसचिवले बताए ।
मन्त्री पोखरेलले आफू निकटका कर्मचारीलाई पाठ्यक्रम विकास केन्द्र, इभेन्ट परियोजनामा सरुवा गरेको कर्मचारीको आरोप छ । संघका केन्द्रीय सदस्य दिवाकर शर्माले मन्त्रीले सरुवामा मनपरी गरेको आरोप लगाउदै भने, ‘हाम्रा तर्फका कर्मचारीलाई पूरै पाखा लगाइएको छ ।’
‘९० प्रतिशत त नेकपा निकटका नै होलान हाम्रो त १० प्रतिशत पनि छैन’, उनले भने । संघका पदाधिकारीले यो विषयमा जानकारी लिन मन्त्रीलाई भेट गर्न खोज्दा निजी सचिवालयले इन्कार गर्ने गरेको आरोप लगाएका छन् ।















प्रतिक्रिया