१२ कार्तिक २०८३, बिहिबार

कान्तिमा चार घन्टामा एकजनाको मात्रै एक्सरे

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ भदौ । बालबालिकाको मात्रै उपचार हुने देशको एक मात्रै सरकारी अस्पताल कान्ति बाल अस्पतालमा एकजनाको एक्सरे हुन चार घन्टा लाग्ने गरेको छ । डिजिटल एक्सरे मेसिन डेढ वर्षअघि बिग्रिए पनि अर्को व्यवस्थापन नहुँदा चरम समस्या भएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

डेढ वर्षदेखि डिजिटल एक्सरे बिग्रिँदा अत्यावश्यक सेवा अवरुद्ध भएको अस्पतालका निर्देशक डा गणेश राईले बताए । १५ वर्षअघि जापान सरकारले दिएको डिजिटल एक्सरे बिग्रिएको हो । निर्देशक राईका अनुसार सामान्य मर्मत गरेर चलाएको सो एक्सरेले चार घन्टामा एकजनालाई मात्रै सेवा दिने गरेको छ ।

तर, सही कन्डिसनमा रहेको डिजिटल एक्सरेले एक घन्टामा करिब ६० जना बिरामीलाई सेवा दिने क्षमता राख्छ । ‘अस्पतालमा आकस्मिक बिरामीहरू सेवा लिन आउँछन् । दुर्गमबाट बालबच्चाहरू ल्याइन्छन् । तर, हामीसँग उपकरण नभएका कारण चाहेजस्तो गुणस्तरीय सेवा दिन असमर्थ भएका छौँ,’ निर्देशक राईले भने । अस्पतालसँग रहेको अर्को साधारण एक्सरे पनि वर्षौँ पुरानो भएकाले सेवा दिन नसकेको उनले बताए ।

अस्पतालमा दैनिक ३ सयको संख्यामा बच्चाहरूको एक्सरे गर्नुपर्ने अवस्था छ । तर, डेढ वर्षदेखि एक्सरे सेवा नियमित सञ्चालनमा छैन । देशका दुर्गम क्षेत्रबाट आएका निम्न आय भएका अभिभावक आफ्ना बालबच्चालाई निजी स्वास्थ्य संस्थामा लगेर महँगोमा एक्सरे गराउन बाध्य छन् । बिरामीको चाप थेग्ने उपकरण नहुँदा काम गर्न चाहेर पनि नसकेको राईको गुनासो छ ।