काठमाडौं, २१ भदौ । गृह मन्त्रालयले चार महिनादेखि रिक्त एआईजीको बढुवा प्रक्रिया अगाडि बढाएसँगै डिआईजीहरु चलखेलमा लागेका छन् । गृहले एआईजी बढुवाको टुंगो लगाउने प्रक्रिया अघि बढाएपछि संख्या पनि फेरबदल हुने अवस्था देखिएको छ ।
शेरबहादुर देउवा प्रधानमन्त्री छँदा १६ पुगेको एआईजीको संख्या घटाएर केपी शर्मा ओली नेतृत्वको सरकारले तीनमा झारेको थियो । तीन एआईजी पदका लागि पाँच जना प्रतिस्पिर्धामा छन् ।
तर, डिआईजीहरुको चलखेल बढेपछि एआईजीको संख्या फेरि बढाएर पाँच नै बनाउने तयारी भएको छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
एआईजीको संख्या बढाउनका लागि प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भइसकेको र बढुवा अघि निर्णय हुने गृह स्रोतले बतायो ।
एआईजीका लागि डिआइजीहरू मनोज नेउपाने, पुष्कर कार्की, ठुले राई, धीरु बस्नेत र सुुरेशविक्रम शाह वरिष्ठताका आधारमा अगाडि छन् । उनीहरू सबै १९ साउन २०७४ मा एसएसपीबाट डिआइजीमा बढुवा भएका थिए ।
एआईजीमा यदि तीन संख्या नै कायम भयो भने नेउपाने, कार्की र राईको संभावना बढि छ । तर, शाहलाई नेकपाका अध्यक्ष प्रचण्ड र बस्नेतलाई प्रधानमन्त्री ओलीको साथ रहेको हुँदा को–को बढुवा होलान् ? भन्ने अन्यौल नै कायम छ । यि मध्ये बढुवाका लागि सबैभन्दा धेरै नेताका घर धाउनेमा कार्की अगाडि रहेका छन् ।















प्रतिक्रिया