प्रदेश १ मा असन्तुष्टि
कार्यदलले प्रदेश १ को अध्यक्ष र सचिव परामर्शविना नै सिफारिस गरेको आरोप सिफारिसमा नपरेका दाबेदारहरूले लगाएका छन् । अध्यक्षमा पूर्वएमालेबाट जगन्नाथ खतिवडा, नरेश खरेल, देवराज घिमिरे र घनेन्द्र बस्नेतले आकांक्षा देखाएका थिए । खतिवडा र खरेलले आफूहरूसँग छलफल नगरी सिफारिस गरिएको भन्दै आपत्ति जनाएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
‘मैले एकीकरण कार्यदलका सदस्यहरूलाई अध्यक्षको दाबेदार छु भन्ने प्रस्ट जानकारी गराएको थिएँ । तर, उहाँहरूले पूर्वएमालेको पोलिटब्युरो सदस्य र वर्तमान केन्द्रीय सदस्यको हैसियतमा प्रदेशका सदस्यहरू मनोनीत गर्ने, अध्यक्ष र सचिवको नाम सिफारिस गर्ने विषयमा कुनै छलफल नै गर्नुभएन,’ दाबेदार खतिवडाले भने । खतिवडा वरिष्ठ नेता माधवकुमार नेपालनिकट मानिन्छन् । मापदण्डका आधारमा चयन हुँदा उनी नै अध्यक्ष बन्ने नेपाल पक्षको बुझाइ छ ।
प्रदेश अध्यक्षमा ४/३ को बाँडफाँड
अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच प्रदेश अध्यक्षमा ४/३ को बाँडफाँड गर्नेगरी छलफल चलिरहेको छ । जसअनुसार पूर्वएमालेले प्रदेश १, ३, ६ र ७ तथा पूर्वमाओवादीले २, ४ र ५ लिने गरी छलफल चलिरहे पनि केन्द्रीय सचिवालय र स्थायी समिति बैठक पर धकेलिएका कारण औपचारिक छलफल हुन सकेको छैन ।
प्रदेश र जिल्लामा एउटा पक्षले अध्यक्ष लिँदा अर्को पक्षले सचिव लिने गरी सहमति भइसकेकाले पनि केन्द्रीय सचिवालय र स्थायी समितिले नै अन्तिम टुंगो लगाउनेछ ।
मापदण्डबाटै एकीकरण टुंग्याउनुपर्ने साझा मत छ
नारायणकाजी श्रेष्ठ, प्रवक्ता, नेकपा
मापदण्ड बनाएरै देखिएका विवादमा समाधान खोजिनुपर्छ । त्यसो गरिएन भने पार्टीभित्र देखापर्ने असन्तुष्टिले समस्या खडा गर्छ भन्नेमा हाम्रो साझा मत छ । तर, हामीले अहिलेसम्म एकीकरण कार्यदलले बुझाएको सिफारिसमा प्रवेश गरेर छलफल थालेका छैनौँ ।
दुई अध्यक्षले ८ र ९ भदौमा सिफारिस अध्ययन गरिसकेपछि १० र ११ मा सचिवालय बैठक बस्ने भन्ने थियो, तर व्यस्तताका कारण छलफल भएन । हामी मापदण्डबाटै एकीकरण छिटो टुंगोमा पु¥याउनुपर्छ भन्ने पक्षमा छौँ ।
प्रदेश ३ र ४ मा नेतृत्वका दाबेदार धेरै
प्रदेश ३ र ४ एकीकरण कार्यदलले भने प्रदेश कमिटीमा रहने व्यक्तिहरूको नाम मात्रै सिफारिस गरेका छन् । प्रदेश ३ को अध्यक्ष र सचिवमा अन्य प्रदेशको तुलनामा धेरै दाबेदार छन् । अहिलेसम्म पूर्वएमालेबाट पशुपति चौलागाईं, काशीनाथ अधिकारी, आनन्दप्रसाद पोखरेल, शेरबहादुर तामाङले अध्यक्षमा दाबी गरेका छन् ।
अधिकारी र पोखरेल अध्यक्ष ओलीनिकट तथा चौलागाईं र तामाङ नेपालनिकट हुन् । पूर्वमाओवादीबाट नारायण दाहालले दाबी गरेका छन् । दाहाल प्रचण्डनिकट हुन् । प्रदेश ४ को अध्यक्षमा पूर्वएमालेबाट खगराज अधिकारी, तुलबहादुर गुरुङ तथा पूर्वमाओवादीबाट हरि अधिकारी र हितराज पाण्डेले दाबी गरेका छन् ।
















प्रतिक्रिया