
-रोशन सुवेदी
काठमाडौं । बालिका निर्मला पन्तको बलात्कारपछि गरिएको हत्या निन्दनीय छ । १३ वर्षिया बालिकामाथि भएको क्रुर घटनाले राष्ट्रियस्तरमै कम्पन पैदा गरेको छ । मानवतामाथि नै गम्भीर प्रश्नचिन्ह खडा गरेको यस घटनालाई सामान्य रुपमा लिनुपर्ने कुनै आधार छैन । विगतमा प्राय:जसो घटनामा प्रेस विज्ञप्ति र केही प्लेकार्डसहितको प्रदर्शनमा सीमित रहने विभिन्न गैर सरकारी संघसंस्थाहरु पनि यो घटनामा मज्जैले तात्तिएका छन् । यसो भनिरहँदा बिर्सनै नहुने विषय के हो भने निर्मला बलात्कृत हुनुअघि पनि धेरै बालिका, युवती, अधबैंशेमात्र नभई वृद्धाहरु बलात्कृत भएका थिए । अब आउने दिनहरुमा पनि यस्ता घटनाहरु नदोहोरिएलान् भन्न सक्ने आधार छैन । निर्मला बलात्कार काण्डका दोषी पहिचान गरी हदैसम्मको कारवाही गरेर राज्यले नजिर स्थापित गर्नुपर्छ । ताकि अब बलात्कारबारे सोच्दामात्र पनि रौँ ठाडो होस् ।
निर्मला बलात्कारको घटनाले सडक मात्र होइन संसद पनि तताइसकेको छ । यो घटनासँग जोडिएका पछिल्लो घटनाक्रमहरुले मुलुककै ध्यान कञ्चनपुरतर्फ खिचेको छ । तर, यही बीचमा केही तत्वहरु यस घटनालाई आधार बनाएर नेपाल प्रहरी संगठनकै बदनाम गर्न योजनाबद्ध रुपमा लागिपरेका छन् । प्रहरीले आफूसँग भएका सीमित श्रोतसाधनको उच्चतम प्रयोग गरेर घटनाको अनुसन्धान गरिरहेको छ । घटनामा शंकास्पद देखिएका कञ्चनपुरका एसपी डिल्लीराज विष्ट निलम्बनमा परिसके ।
आफ्नै संगठनका उच्च पदस्थ अधिकारी समेतलाई निलम्बन गरेर अनुसन्धान गरीरहेको बेलामा भइरहेको यस्ता खाले चलखेलहरुले अनुसन्धानमा संलग्न प्रहरीको मनोबलमा ह्रास ल्याउने मात्र नभई घटनालाई अर्को दिशातर्फ मोड्न सक्छ । कञ्चनपुर घटनामा प्रहरीलाई तारो बनाउनेहरुले कहिँ अनुसन्धान फितलो बनाउनका लागि प्रहरीमाथि मनोवैज्ञनिक आक्रमण त गरीरहेका छन कि ? यो सोचनीय प्रश्न हो, किनभने आफ्नो सारा संयन्त्र प्रयोग गरेर अनुसन्धानमा होमिएको प्रहरीमाथि औँला उठाउनु कुनै पनि कोणबाट तर्कसंगत देखिँदैन ।
कुशल अनुसन्धानकर्ताको छवि बनाउँदै कार्यक्षमताले आफूलाई अब्बल सावित गर्दै संगठन प्रमुख बनेका आईजिपी सर्वेन्द्र खनालको नेतृत्वमा प्रहरीको अनुसन्धान प्रभावकारी नहुने प्रश्न नै उठ्दैन । कञ्चनपुर घटनाको आड लिएर खनालतिर तेर्सिएका औँलाहरुले केही तत्व प्रहरीको बदनाम गरेर आफ्नो दुनो सोझ्याउने दाउमा रहेको संकेत गर्छ । आईजीपी खनाल समग्र संगठनका प्रमुख हुन् । मुलुककै सुरक्षाको अभिभारा बोकेका करीब ७५ हजार प्रहरीको नेतृत्व गर्दैछन् उनले । प्रहरी महानिरीक्षकले कुनै घटनाको स्वयम् अनुसन्धान गर्ने पनि होइन । उनले आफू मातहतका निकायलाई स्पष्ट निर्देशन दिने हो । निर्मला बलात्कार काण्डमा पनि उनले आफू मातहतका प्रहरीलाई स्पष्ट र कडा निर्देशन दिइसकेका छन् । अनुसन्धानलाई प्रभावित पार्न सक्ने एसपी डिल्लीराज विष्ट खनालकै निर्देशनमा निलम्बित भएका हुन् भन्ने तथ्य बिर्सनु हुँदैन । त्यसमाथि यस घटनामा उनले व्यक्तिगत रुपमै उच्च चासो देखाएर दैनिक जानकारी लिनुका साथै प्रभावकारी अनुसन्धानका लागि दबाब दिइरहेको खबर बाहिर आइरहेका छन् ।
प्राविधिक पक्षबाट हेर्ने हो भने पनि नेपाल प्रहरीका लागि कुनैपनि अनुसन्धान गर्न सहज छैन । नेपाल प्रहरीसँग अनुसन्धानलाई छिटो छरितो बनाउन सक्ने प्रविधि तथा यन्त्रहरुको निकै ठूलो अभाव छ । सिसिटिभी क्यामेरा, अप्रयाप्त बिजुलीलगायत अन्य धेरै प्राविधिक कुराहरुको अभावका बाबजूद सफल अनुसन्धान गर्दै आएको नेपाल प्रहरीको हात अन्य धेरै कानुनी प्रक्रियाले पनि बाँधेको छ ।
अनुसनधानको क्रममा सबैभन्दा आवश्यक मानिने कल डिटेल निकाल्न होस् वा शंकास्पद व्यक्ति/आरोपीलाई पक्राउ गर्न, नेपाल प्रहरीले अदालतको ढोका चहार्नैपर्ने बाध्यता खेपिरहेको छ । त्यसमाथिको अनावश्यक राजनीतिक तथा शक्ति केन्द्रको दबाब… । विभिन्न कानूनी बाध्यता, प्राविधिक अभाव र अनावश्यक दबाबको बीचमा नेपाल प्रहरीले गरीरहेको अनुसन्धान सह्रानीय छ ।
अनुसन्धानको क्रममा रहेको घटनाको प्रभावकारी अनुगमनका लागि दबाब दिनुलाई गलत भन्न मिल्दैन तर विभिन्न अभावको बाबजूद प्रभावकारी अनुसन्धानमा होमिएको नेपाल प्रहरीले अनुसन्धानको लागि पाएको न्यूनतम् समयसम्म भने सबैले धैर्य गर्नैैपर्छ । यी सबै कुरालाई धारेहात लगाउँदै योजनाबद्ध रुपमै संगठन र संगठन प्रमुखको खोइरो खन्न खोज्नु पक्कै पनि षड्यन्त्र नै हो । यो षडयन्त्र नेपाली प्रहरीलाई बद्नाम गराउने प्रपञ्च हो वा निर्मला बलात्कार काण्डको अनुसन्धानको दिशा भड्काउने खेल ? यो प्रश्नको जवाफ अनुत्तरीत भने पक्कै रहने छैन ।















प्रतिक्रिया