
काठमाडौं, १६ भदौ । एसिया कप छनोट अन्तर्गत नेपालले मलेसियालाई १ सय ८९ रनको लक्ष्य दिएको छ । आरिफ शेख र दिपेन्द्र सिं ऐरीको उत्कृष्ट प्रदर्शनमा नेपालले १ सय ८८ रन बनायो ।
टस हारेर पहिले ब्याटिङ्ग गरेको नेपालले निर्धारित ३० ओभरका ७ विकेट गुमाएर १ सय ८८ रन बनाएको हो ।
वर्षाका कारण ढिला गरी शुरु शनिबारको खेल ३० ओभरमा छोट्याइएको थियो । शुरुमा खराब लयमा रहेको नेपाल पछि सम्हालिएको हो । नेपालका लागि आरिफ शेखले राम्रो प्रदर्शन गरे । उनले ४८ बलमा ६४ रनको उत्कृष्ट पारी खेले । यस्तै दिपेन्द्र सिं ऐरीले ५१ बलमा ५४ रन बनाए ।
यसअघि पहिलो विकेटका रुपमा सुवास खकुरेलललाई गुमाएको नेपालले दोस्रो विकेटको रुपमा कप्तान पारस खड्का, तेस्रो विकेटका रुपमा अनिल कुमार साह, चौथो विकेटको रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ल तथा पाँचौँ विकेटको रुपमा सागर पुनलाई गुमाएको हो ।
खकुरेल ८ बलमा ९ रन, कप्तान पारस १३ रन, साह १६ रनमा र मल्लले ११ रनमा आउट भए । सागर पुनले भने खाता नै खोल्न सकेनन् । यसअघिका दुवै खेल हारेको नेपाल शनिबारको खेल जित्नै पर्ने दबाबमा छ ।















प्रतिक्रिया