३ कार्तिक २०८३, मंगलबार

एसियाडमा नेपालको पहिलो पदक

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १३ भदौ । इण्डोनेसियाको जाकार्तामा जारी १८औं एशियाली खेलकुद(एसियाड)मा नेपाली प्याराग्लाइडिङ टोलीले रजत पदक जितेको छ । जापानसँग २७ अंकले मात्रै पछि पर्दै नेपालले रजतमा चित्त बुझाएको हो ।

पाँचौ तथा अन्तिम दिनको टास्क सकिदाँ बुधबार जापानको ११ हजार ३ सय ९१ अंक जोड्यो भने नेपाल ११ हजार ३ सय ६४ अंकमा रहँदै ऐतिहासिक स्वर्ण जित्न चुक्यो । यसपटकको एसियाडबाट नेपाल पदकविहीन फर्कने आशंकाकाबीच प्याराग्लाइडिङले ऐतिहासिक पदक जितेको हो ।

प्याराग्लाइडिङले एसियाडमा पहिलो चोटी सहभागिता जनाएको हो भने एसियाडको इतिहासमा नेपालको यो दोस्रो रजत पदक हो । प्याराग्लाइडिङमा नेपालबाट बिमल अधिकारी, युकेश गुरुङ, विजय गौतम, सुशील गुरुङ र बिशाल थापाले सहभागिता जनाएका थिए ।

बुधबार नेपाली पाँच जना नै पाइलटले ‘टास्क’ पूरा गरेका थिए भने जापानी दुई खेलाडीले ‘टास्क’ पूरा गर्न नसकेपछि नेपाल झिनो अन्तरले पछि परेको हो । प्याराग्लाइडिङको टिम क्रसकन्ट्रीतर्फ मंगलबार सम्म चौथो चरणमा सकिदाँ नेपाल दोस्रो स्थानमा उक्लिएको थियो ।

यसबाहेक अन्य हरेक खेलमा नेपालको नतिजा निराशाजनक छ । जारी एसियाडमा नेपालबाट २९ खेलका २८५ खेलाडीले सहभागिता जनाएका थिए ।

नेपाल सन् १९८६ मा दक्षिण कोरियाको सिओलमा भएको पहिलो संस्करणको एसियाडबाट नै सहभागिता जनाउँदै आएको छ । त्यसबीच सन् १९५४ मा फिलिपिन्सको मनिलामा र १९६२ मा इन्डोनेशियाको जाकर्तामा भएको बाहेक १६ संस्करणमा नेपालले सहभागिता जनाएको छ।

एसियाडमा नेपालले जितेको सबैभन्दा ठूलो पदक रजत हो । त्यो पदक तेक्वान्दोकी सविता राजभण्डारीले दिलाएकी थिइन् । त्यसबाहेक नेपालले २२ कास्य पदक जितेको छ । नेपालले पहिलो संस्करणको एसियाडमा पनि पदक जितेको थियो ।