१२ कार्तिक २०८३, बिहिबार

जनता फकाउन डोल्पा आइपुगे राज्यमन्त्री बुढा, फागुनयता राजीनामा नदिन सुझाब

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


डोल्पा, १३ भदौ । संघीय सरकारका पर्यटन राज्यमन्त्री धनबहादुर बुढा डोल्पा आइपुगेका छन् । डोल्पाबाट लगातार दुईपटक भारी मतका साथ विजयी भएका बुढाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमलाई सांसद बनाउन पदबाट राजीनामा दिने चर्चा छ । सोही कारण डोल्पामा गर्ने भनिएको उपनिर्वाचनको माहोल बुझ्न उनी मंगलबार जिल्ला आइपुगेका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

जिल्लाका आठवटै स्थानीय तहका जनतासँग राय सल्लाह र प्रतिक्रिया बुझेर मात्रै सांसद पदबाट राजीनामा दिने मन्त्री बुढाले जानकारी दिए । मंगलबार तल्लो डोल्पाका मुड्केचुला गाउँपालिका, जगदुल्ला गाउँपालिका र त्रिपुरासुन्दरी नगरपालिकाका जनतासहित त्रिपुरासुन्दरी नगरपालिकाको केन्द्र बगर बजारमा छलफल गरी प्रतिक्रिया लिइएको उनले बताए ।

राज्यमन्त्री बुढालाई सकभर सांसद पदबाट राजीनामा नदिन र दिए पनि फागुनयता नदिन मतदाताले सुझाब दिएका छन् । बगर बजारमा सम्पन्न कार्यक्रममा तीनवटा स्थानीय तहका जनताले यस्तो सुझाब दिएका हुन् ।नेकपाका क्रियाशील कार्यकर्ता रण बुढाले राजीनामा दिनुपर्छ भन्ने मानसिकता राज्यमन्त्री बुढाले बनाइसकेकाले तल्लो तहका कार्यकर्ताले भनेर नहुने बताए । ‘हामी कार्यकर्ता हौँ, पार्टीको निर्देशन भएमा जुनसुकै व्यक्ति उठे पनि भोट हाल्नै पर्छ, तैपनि हामीले सकभर राजीनामा नदिन भनेका छौँ, यदि दिए पनि फागुनतिर मात्रै दिन सुझाब दिएका छौँ,’ बुढाले भने ।

राज्यमन्त्री बुढाले राजीनामाका लागि सकारात्मक सुझाब पाएको बताए । ‘मैले त्रिपुरा सुन्दरीलगायत तीनवटा स्थानीय तहका जनताबाट सकारात्मक सुझाब पाएँ, यहाँका जनताले सकभर राजीनामा नदिन भनेका छन्, दिए पनि फागुनतिर मात्र दिनुपर्ने उनीहरूको सल्लाह छ,’ उनले भने ।

बुधबार उपल्लो डोल्पाका छार्काताङसोङ, डोल्पो बुद्ध, से–फोक्सुन्डो, काइके गाउँपालिका र ठूलीभेरी नगरपालिकाका जनतासँग सदरमुकाम दुनैमा छलफल गर्ने कार्यक्रम छ । ‘कहिले राजीनामा दिने भन्ने कुरा थाहा छैन, जनताको प्रतिक्रियापछि मात्रै निर्णय हुन्छ,’ राज्यमन्त्री बुढाले भने, ‘अहिले नै राजीनामा दिन्छु भन्न सक्दिनँ, डोल्पाली जनताको सकारात्मक प्रतिक्रिया आउँछ भन्ने मलाई विश्वास छ ।’

राज्यमन्त्री बुढाले आफूले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएर उपनिर्वाचन भएमा पार्टीका प्रभावशाली नेता गौतमले ७७ प्रतिशतभन्दा बढी मतले विजयी हुने बताए । ‘०७० सालमा पनि एमालेबाट बागी उम्मेदवार अंगत बुढा उठेर पनि ५६ प्रतिशत मत ल्याएर विजयी भएको हुँ, अब उपनिर्वाचन भयो भने डोल्पाली जनताले गौतमलाई साथ दिनेछन्,’ उनले भने, ‘मैलै डोल्पाले बोकेको प्रचुर सम्भावनाअनुसार विकास गर्न सकेको छैन, यो कुरा स्विकार्नुपर्छ, मैले डोल्पाली जनमतको अपमान गर्न खोजेको होइन, जिल्लाकोे विकासलाई थप गतिशील बनाउन पनि मैले राजीनामा दिनुपर्छ र नेता गौतमलाई जिताउनुपर्छ ।’

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय छवि बनाएका नेता गौतम विजयी भएपछि डोल्पाले विकासले काँचुली फेर्ने उनले दाबी गरे । ‘मैलैभन्दा दश गुणा धेरै विकास गर्नुहुनेछ, त्यो कुरा डोल्पाली जनतालाई विश्वस्त पार्न चाहन्छु,’ उनले भने । तत्कालीन माओवादी र एमालेको एकीकरणपछि बनेको नेकपालाई थप मजबुत बनाउन पनि नेता गौतमलाई जिताउनुपर्ने अवाश्यकता रहेको राज्यमन्त्री बुढाले बताए । उनले जिल्लाका मतदाताको सुझाब लिएर काठमाडौं गएपछि मात्रै राजीनामाको निर्णय लिने बताए ।