काठमाडौं, १३ भदौ । कांग्रेसको विधान मस्यौदा समितिले काम थालेको छ । आगामी ५ देखि ९ मंसिरसम्म काठमाडौंमा हुने महासमिति बैठकमा पेस गर्ने गरी समितिले मंगलबारबाट छलफल थालेको थियो ।
पहिलो बैठकमा सबै सदस्य उपस्थित नभए पनि मंगलबार संयोजकसहित सबै सदस्य उपस्थित बैठकले कार्यालय व्यवस्थापन र कार्यविधि पास गरेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
यसअघि ७७ वटै जिल्ला र हेटौँडामा भएको जिल्ला सभापति भेलाबाट समेत विधानका लागि सुझाब लिइएको भन्दै समितिका संयोजक पूर्णबहादुर खड्काले अब थप सुझाब माग्दै विधान मस्यौदा तयार गर्दै जाने जानकारी दिए ।
बुधबार समितिले कार्यतालिका बनाउने भएको छ । आएका सुझाब अध्ययन गरेर मस्यौदा तयार गर्ने आवश्यक थप सझुाब लिनेसहितका विषय समेट्दै बुधबार कार्यतालिका जारी गरिने जानकारी खड्काले दिए ।
विधान मस्यौदाका लागि सामाजिक सञ्जाल फेसबुक र ट्विटरबाट पनि सुझाब दिन सकिनेछ । सदस्य पौडेलका अनुसार विधान मस्यौदाका लागि धेरैभन्दा धेरैका सुझाब समेट्न र सहभागितामूलक बनाउन यस्तो विधि तय गरिएको हो ।
सुझाब दिन ‘इन्फोयाटनेपालीकांग्रेसडटओराजी’मा इमेल गर्न सकिनेछ । त्यस्तै, कांग्रेसको आधिकारिक फेसबुक ‘नेपाली कांग्रेस’ पेजमा पनि खुला रूपमा विधानसम्बन्धी सुझाब सकिने सदस्य पौडेलले जानकारी दिए ।















प्रतिक्रिया