काठमाडौं, ११ भदौ । प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन एमालेको चुनाव चिह्न सूर्य लिई विजयी बनेको हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र समूह र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीच एकता ढिलाइ हुँदै गएको छ ।
निर्वाचन सकिएको सात महिना पुगिसक्दा पनि त्रिपाठी समूहको नेकपासँग विभिन्न चरणमा छलफल भइरहेको छ । सांसद त्रिपाठीले नेकपासँग सात÷आठपटक छलफल हुँदा पनि एकताको विषयमा सहमति हुन नसकेको बताए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
प्रतिनिधिसभा निर्वाचनमा नवलपरासी–१ बाट त्रिपाठी निर्वाचित भएका थिए । उनकै समूहका बृजेशकुमार गुप्ता कपिलवस्तु–२ बाट निर्वाचित भएका थिए । स्वतन्त्र समूहबाट प्रदेश सभातर्पm तीनजना निर्वाचित भए ।
जसमध्ये धर्मबहादुरलाल श्रीवास्तव कपिलवस्तु–२ ‘ख’, दीर्घनारायण पाण्डेय कपिलवस्तु–२ ‘क’ र अजय शाही नवलपरासी पश्चिम–१ ‘ख’बाट निर्वाचित भएका थिए । पाण्डेय भने यसअघि नै नेकपामा प्रवेश गरिसकेका छन् । उनीहरूले राष्ट्रिय जनता पार्टीबाट विद्रोह गरी स्वतन्त्र समूह गठन गरेका थिए ।
त्रिपाठी वामपन्थी विचारबाट प्रभावित भई राजनीतिमा होमिएका थिए । राजनीतिमा लाग्दै गएपछि स्वर्गीय गजेन्द्रनारायण सिंहले नेतृत्व गरेको सद्भावना पार्टी प्रवेश गरे । सद्भावनाबाट २०४८, २०५१ र २०५६ सालमा लगातार सांसद निर्वाचित भए । मधेस आन्दोलनपछि तराई–मधेस लोकतान्त्रिक पार्टी प्रवेश गरेका उनी पहिलो संविधानसभामा निर्वाचित भए ।
त्रिपाठी ०५४ सालमा वनमन्त्री, दोस्रो जनआन्दोलनलगत्तै बनेको सरकारका उद्योग वाणिज्य तथा आपूर्ति र ०६९ सालमा भौतिकमन्त्री गरी तीनपटक मन्त्री भइसकेका छन् ।
प्रतिनिधिसभा सांसद बृजेशकुमार गुप्ता राष्ट्रिय प्रजातन्त्र पार्टीको पृष्ठभूमिबाट आएका हुन् । उनी ०५६ सालमा राप्रापाबाट सांसद निर्वाचित भएका थिए । मधेस आन्दोलनपछि तराई मधेस लोकतान्त्रिक पार्टी प्रवेश गरे ।
सोही पार्टीबाट पहिलो संविधानसभा र दोस्रो सविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित भए । उनी ०६१ सालमा भौतिकमन्त्री र ०६९ सालमा कानुनमन्त्री बने । त्रिपाठी समूहमा विभिन्न पूर्वमन्त्री, सांसदसहित एउटा पार्टीजत्तिकै संख्या रहेको छ ।















प्रतिक्रिया