काठमाडौं, १० भदौ । कञ्चनपुरस्थित भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्याको महिना दिनपछि बल्ल सरकार तातेको छ ।
सरकारले शनिबार एसपी डिल्लीराज विष्टलाई निलम्बन गर्न निर्देशन दिएर घटनाबारे एक्सन लिन सुरु गरेको हो । विवादित विष्टलाई तत्काल नै निलम्बन गरेर कारबाही गर्नुपर्नेमा महिना दिनपछि भए पनि सरकार तातेको हो । राजधानी दैनिकले समाचार छापेको छ ।
मन्त्रिपरिषद्को शुक्रबार साँझ बसेको बैठकले पनि घटनाप्रति दुःख व्यक्त गर्दै चासो देखाएको थियो । आन्दोलन चर्किँदै गएपछि मन्त्रिपरिषद् बैठकले अपराधीलाई कानुनी दायरामा ल्याएरै छाड्ने जनाउँदै घटनालाई उत्तेजित नपार्न आग्रह गरेको थियो ।
यता, प्रधानमन्त्री केपी शर्मा ओलीले घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याएरै छाड्ने प्रतिबद्धता जनाएका छन् । कैलाली र कञ्चनपुरका सांसद तथा ने क पाका नेताहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले सरकार गम्भीर रहेको समेत जनाएका थिए ।
१० साउन– १३ वर्षीया निर्मला पन्त बेपत्ता
११ साउन– बलात्कारपछि उखुबारीमा शव फेला
४ भदौ– मानसिक रोगी हत्याराका रूपमा प्रहरीद्वारा सार्वजनिक
७ भदौ– आन्दोलन चर्किन सुरु, प्रहरीको गोलीबाट तीन घाइते
७ भदौ– कञ्चनपुरका एसपी, डीएसपी, सीडीओ जिम्मेवारीमुक्त
७ भदौ– गृह मन्त्रालयद्वारा उच्चस्तरीय छानबिन समिति गठन
८ भदौ– प्रहरीको गोलीबाट एकको मृत्यु, पाँच घाइते
८ भदौ– मन्त्रिपरिषद् बैठकमा निर्मला हत्या घटना प्रवेश
९ भदौ– नेकपा बैठकबाट सरकारलाई दबाब
९ भदौ– एसपी विष्ट निलम्बित
घटना दबाउने सरकारी जोड
अहिलेसम्मका शृंखलाबाट सरकारी पक्षले घटना दबाउने उद्देश्य राखेको खुलेको छ । ११ साउनमा शव फेला परे पनि प्रहरी प्रशासनले अपराधी पत्ता लगाउन उदासीनता देखाउँदै आएको थियो ।
दोषी पत्ता लगाउन माग राखेर आन्दोलन चर्किएपछि घटनाको २४औं दिनमा एक मानसिक रोगीलाई हत्याराका रूपमा प्रहरीले सार्वजनिक गरेको थियो । वास्तविक अपराधीलाई लुकाउन प्रहरीले मानसिक रोगीलाई पक्राउ गरेर सार्वजनिक गरेको भन्दै आन्दोलन झनै चर्किएपछि घटनाले राष्ट्रिय रूप लिन पुगेको थियो ।
आन्दोलनकै क्रममा ८ भदौमा १४ वर्षीय सनी खुनाको प्रहरीको गोली लागी मृत्यु र पाँच जना घाइते भएपछि आन्दोलन नियन्त्रण बाहिर पुग्यो भने वर्तमान सरकारले पहिलोपटक कञ्चनपुरमा कफ्र्यु लगाउनुप¥यो । घटनाको २८औं दिनमा मन्त्रिपरिषद् बैठकमा समेत हत्याको विषयले राम्रो स्थान पायो ।
घटनाको २९औं दिन शनिबार सत्तासीन दल नेपाल कम्युनिस्ट पार्टीको बैठक नै बसेर हत्यामा संलग्नलाई कारबाही गर्न माग गरेर सरकारलाई दबाब थपेको थियो । देशैभर घटनाबारे आवाज उठ्न थालेपछि शनिबार नै तत्कालीन कञ्चनपुरका एसपी डिल्लीराम विष्ट निलम्बनमा परे ।
सरकारले घटनाको केही दिनमै अपराधी पत्ता लगाउन तत्परता देखाउनुपर्नेमा लामो समय आवश्यक जिम्मेवारी बहन नगर्दा घटनाले अर्को रूप लिन पुगेको हो । प्रहरीले अझै पनि हत्यारा को हो भन्ने पत्ता लगाउन सकेको छैन । पछिल्लो समय शनिबार निलम्बित एसपी विष्टका छोरा र भीमदत्त नगरपालिकाका प्रमुखका भतिजामाथि शंका गरिएको छ ।















प्रतिक्रिया