१२ कार्तिक २०८३, बिहिबार

ट्याक्सी नम्बर ८९२९ कि यी महिला चालक

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ भदौ । ईश्वरी थापा, ३६। उमेर ढल्कँदै छ, संघर्ष झन्झन् जवान हुँदो छ। पतिसँग छुटेकै १६ वर्ष भयो। काठमाडौंमा ८ वर्षदेखि ट्याक्सी चलाउँदैछिन्। त्यसअघि खसीको मासु बेचिन्, टेलर चलाइन्। नाङ्लो पसल थापिन्, होटल चलाइन्, चोकमा काँक्रो बेचिन्, घरमा पेन्टिङ गरिन्। अनाथ बच्चाको अविभावक बनिन्। अरु धेरै काम गरिन्। अन्नपूर्ण पोस्टट दैनिकले समाचार छापेको छ ।

आँसु नाप्ने यन्त्र हुँदो हो त ईश्वरीको अंकले धेरैलाई उछिन्थ्यो। दुःख परीक्षाका तह हुने भए उनले विद्यावारिधि नै हासिल गरिसक्थिन्। हिम्मत र अठोटले अहिले पनि उनी कुनै विद्यावारिधिभन्दा कम छैनन्। बेहिसाब संघर्ष र पीडाले उनलाई झन् बलियो बनाएको छ। र, उनको अहिलेको जीवन धान्ने मेलो बनेको छ- ट्याक्सी अर्थात् ट्याक्सी नम्बर ८९२९, बा १ ज।

साउन अन्तिम साता। काठमाडौं तिनकुनेको उत्तरी कुना। झरी रोकिएको थिएन। यात्रुको पर्खाइमा थियो, सेतो रंगको ट्याक्सी। स्टेरिङमा थिएन एकजोर खस्रो हत्केला। बरु थियो कोमल औंलाहरू। स्टेरिङको ठिकमाथि थियो डेढ फिटको मोटो लौरो। चालकको कुर्सीमा सुस्ताइरहेको थियो एउटा खाइहाल्दो ज्यान। एकछिन यात्रु पर्खिएपछि ट्याक्सी हुँइकियो धोवी खोला किनारतिर।

खोलाको किनारामा घ्याच्च रोकियो ट्याक्सी। ड्याम्म ढोका लगाएर हातमा मोबाइल र पर्स बोकेर बाहिरिइन् एक हट्टाकट्ठा महिला। सरासर होटलमा पसिन्। चिया मगाइन्। झ्यालतिर हेर्दै लामो सास तानिन्।

‘दिदी नमस्ते।’ पुलुक्क हेरिन्। परिचय दिएँ।

‘अन्तर्वार्ता लिन आएको’, भनेँ। कालो चिया सुरूपप पिइन्। एकछिन अनकनाइन्। त्यसपछि कुरा गर्न राजी भइन्।

स्मृतिमा बाल्यकाल

स्याङ्जा बिर्घामा हुर्किइन् ईश्वरी। बुवा छविलाल खड्का इन्डियन लाहुरे। आमा चनिसरा खड्का गृहणी। चार दिदीबहिनी, एक दाइ। परिवार चलेको थियो जसोतसो। पेन्सन पाकेपछि फेरि उतै काम खोज्न हिँडे छविलाल। ‘शीतले मुख धोएर बुवा हिँड्नु भएको धमिलो याद छ’, ईश्वरी भन्छिन्।

त्यसपछि उनको बुवा फर्किएनन्। रेलको लिकमा दुर्घटनामा परी बितेको खबर आयो। त्यसपछि बुवा भन्नु नै पेन्सनपट्टामा टाँसिएको ब्ल्याक एन्ड ह्वाइट फोटो बाँकी रह्यो। आमाले हुर्काइन् पाँच जनाको परिवार। दाइ र दुईबहिनी स्कुल गएपनि उनले स्कुल टेक्न पाइनन्। मेलापात, घाँसदाउरामै बित्यो बालापन।

ईश्वरी १३ वर्षको हुँदा गाउँमा सडक बिस्तार तीव्र भयो। वालिङ, गल्याङ र मिर्मीको बाटो पिच हुने भयो। उनी त्यहीँ काम गर्न पुगिन्। उमेर सानै भएकाले सडकको धुलो बढार्ने काम पाइन्। खाना मिठो पकाएपछि उनको बढुवा भयो, ज्यामीलाई खाना पकाउनेमा। त्यही सडकमा काम गर्दा उनले बारम्बर सुनेको शब्द हो काठमाडौं। सडकमा गुड्ने प्रत्येकजसो गाडीले काठमाडौं, काठमाडौंभन्दा उनको कलिलो मस्तिष्कमा रमाइलो दृश्य बनेर बसेको थियो काठमाडौं।

दिनको ६० रूपैयाँ कमाउँथिन् ईश्वरी। दुई वर्ष काम गर्दा उनले २० हजार रूपैयाँ बचाइन्। त्यसपछि फर्किइन् गाउँ। दुई घन्टाको बाटो ९ बोरा कनिका खच्चडलाई बोकाएर गाउँ फर्किइन्। भन्छिन्, ‘चामल पाइँदैनथ्यो। कनिका फारो हुने। त्यही लगेँ घर।’