राजविराज । सप्तरी जिल्लामा बिहेको तीन वर्षसम्म दुलहाले दुलही भित्र्याउन आनाकानी गरेपछि जनप्रतिनिधि, अधिकारकर्मी, प्रहरी र नागरिक समाजका अगुवाले दुलहीलाई घर प्रवेश गराएका छन् ।
राजविराज नगरपालिका–७ का छोटु भनिने राजीव दासकी श्रीमती २५ वर्षीया कविताकुमारी साहलाई राजविराज नगरपालिकाकी उपप्रमुख साधना झा, इन्स्पेक्टर सुजता तुम्बाहाम्फे, राजनीतिक दलका नेता, अधिकारकर्मी र नागरिक समाजको पहलमा मंगलबार साँझ घर भित्र्याएका हुन् ।
राजविराज नगरपालिकाको न्यायिक समितिबाट मंगलबार साहलाई पत्नी, बुहारीको हैसियतमा घरमा बस्न, खान, लाउन, शिष्ट व्यवहार गर्न तथा गालीगलौज, कुटपिट नगर्न भनी अन्तरिम संरक्षणात्मक आदेश जारी भएपछि उनलाई घर भित्र्याइएको हो ।
घर भित्र्याउने समय दिँदै आएका राजीवले तीन वर्षसम्म दुलही बनाएर घर लान आनाकानी गरेपछि घरपरिवारको असहमतिम दुलहीलाई घर प्रवेश गराइएको छ । लक्ष्मी आयुर्वेदिक औषधि पसल सञ्चालन गरी बसेका दास परिवारले दुलही भित्र्याउन अस्वीकार गरेपछि दबाबमा परेका राजीब घर छाडेर सम्पर्क बाहिर गएका छन् ।
तीन वर्षअघि प्रेमविवाह गरेका साह र दासले सप्तरी जिल्ला अदालतबाट ०७२ पुस २४ गते पति–पत्नीको नाताकायम समेत गरेका छन् । युवतीले सासु ५५ वर्षीय मन्जुदेवी साह र जेठाजु ३५ वर्षीय पंकज साहले ०७४ चैत २४ गते कुटपिट गरी घरनिकाला गरेको बताएकी छिन् । पीडितले राजविराज नगरपालिकाको न्यायिक समितिमा गत वैशाखमा उजुरी दिएकी थिइन् ।
आरोपी पंकज र मन्जुले भने विवाह भएको जानकारी आफूलाई नभएको र पीडितलाई घरमा राख्न आफू तयार नभएको दाबी गर्दै आएका छन् ।
न्यायिक समितिका संयोजक एवं उपप्रमुख झा, अधिकारकर्मी र नागरिक समाजले मंगलबार राति १० बजेसम्म युवतीका सासु र जेठाजुलाई सम्झाए पनि बुहारी स्वीकार्न तयार नभएको वडाध्यक्ष समीर झाले बताए ।
बुहारी स्वीकार गर्न तयार नभएका सासू र जेठाजु राति कवितालाई घरमा छोडेर बाहिरिएका छन् । उनीहरुलाई सहमतिमा ल्याउन बुधबार दिनभरि जिल्ला प्रहरी कार्यालयमा छलफल भए पनि सहमति नजुटेको डीएसपी भावेश रिमालले बताए ।













प्रतिक्रिया