काठमाडौं, ४ माघ । ल्याटिन अमेरिकी मुलुकमा पक्राउ परेका नेपालीको ठेगाना नखुल्दा परराष्ट्र मन्त्रालयलाई उद्धार प्रक्रिया थाल्न अप्ठेरो परेको छ।
ल्याटिन अमेरिकी मुलुकले त्यहाँ नेपाली पक्राउ परेको जानकारी दिंदै उद्धारका लागि पहल गर्न सरकारलाई पत्र पठाएपनि ठेगाना खुलाउने गरेका छैनन्।
पछिल्लोपटक ल्याटिन अमेरिकी राष्ट्र पानामाले पाँच नेपाली पक्राउ परेको जनाउँदै उद्धारका लागि पहल गर्न सरकारलाई अनुरोध गरेको समाचार नागरिक दैनिकमा छ।
‘नेपाली पक्राउ परे उद्धार गर भनी नाममात्र उल्लेख गरिएको पत्र आउँछ अरु विवरण नखुल्दा हामीले केही गर्न सकेका छैनौँ’ परराष्ट्र मन्त्रालयका कान्सुलर विभागका कार्यबाहक प्रमुख दीपक अधिकारीले भने।
तथ्याङ्कअनुसार सबैभन्दा बढी नेपाली ल्याटिन अमेरिकी राष्ट्र ब्राजिल, पानामा, कोलम्बिया, ग्वाटेमाला, कोस्टारिकामा पक्राउ पर्ने गरेका छन्।
उत्तर अमेरिकी राष्ट्र मेक्सिकोमा पनि अत्यधिक नेपाल पक्राउ पर्ने गरेका छन्।
पक्राउ पर्नेहरुसँग परिचय खुल्ने कुनै कागजपत्र हुँदैन। तस्करले बीचबाटोमै उनीहरुको परिचय खुल्ने कागजात च्यात्न लगाउँछन्।















प्रतिक्रिया