१ कार्तिक २०८३, शनिबार

चटक्क परेर कार्यालयको ल्यापटप चोरी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Laptopकाठमाडौं, ४ माघ । झट्ट हेर्दा राम्रै खानदान र परिवारका देखिन्छन् ।

निजी बैङक तथा कार्यालयमा चटक्क मिलेका कोट पाइन्ट लगाएका ल्यापटप बोक्ने खाली झोला बोकेर पुग्छन् ।

त्यस्ता कार्यालयका लागि तोकिएको खाना तथा खाजाको समयमा कार्यालय भित्र छिरेका त्यस्ता चोरले कर्मचारीको टेबलअघि राखेको ल्यापटप सरक्क टिपेर झोला भित्र राख्छन् र कुलेलम ठोक्छन् ।

यसरी ल्यापटप मात्र चोरेर हिड्ने दुई दाजु भाई र चोरिएका ल्यापटप खरिद गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाले चितवन भरतपुरका अरुण भनिने ४६ बषिर्य रामभक्त श्रेष्ठ, उनका सहोदर भाई ४० वर्षीय राजु श्रेष्ठ र त्यसरी चोरीएका ल्यापटप थाहा पाएरै खरिद गर्ने रुपन्देही घर भएर चितवन बस्ने २३ वर्षीय सुरज कुमाल छन् ।

महाशाखाका नायब उपरीक्षक (डीएसपी) ओम अधिकारीका अनुसार अरुणले उपत्यकाका २८ स्थानबाट ३० वटा भन्दा बढि ल्यापटप चोरी गरेको स्विकार गरेका छन् ।

तर कतिपय स्थानको भने उनले पहिचान खुलाउन सकेका छैनन् ।

उनले काठमाडौं, ललितपूर र भक्तपुरका बिभिन्न १४ वटा कार्यालयबाट ल्यापटप चोरी गरेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

तीन महिना अघि ललितपूरको पाटन ढोकामा रहेको हिमाल मिडियामा पनि श्रेष्ठले छिरेर ल्यापटप चोरी गरेका थिए ।

दिउँसो १ देखी २ बजे भित्र खाजा ब्रेकमा कर्मचारीहरु बाहिर गएको बेला मिडियाका कर्पोरेट म्यानेजर कर्म लामाको टेबलमा रहेको ल्यापटप चोरेका थिए ।

सधैं टेबलमा छाडेर जाने गरेको ल्यापटप त्यो दिन पनि त्यसरी नै छाडेर गएका थिए ।

आधा घण्टामा फर्केर आउँदा टेबलमा ल्यापटप छैन । यता उता कतै खोजी गर्दा पनि नभेटिएपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए ।

अझ रमाईलो त ति चोरले हिमालका सम्पादकसंग किरण नेपालसंग भलाकुसारी समेत गर्न भ्याएका रहेछन् ।

हिमालका पत्रकार काम गर्ने तलामा छिरेका चोर कसैलाई खोजि गरे झै घुमिरहेका थिए ।

पत्रकार रामेश्वर बोहराको छेउमा पुगेका उनलाई बोहराले कसलाई खोजेको भन्दा केहि होईन भनेछन् ।

बोहरा आफ्नै धुनमा काम गर्न थाले । नेपाल कतै बाहिर निस्किन हतारमा थिए ।

चोर र उनी संगै भर्‍याङ ओर्लिए । नेपाल बाथरुम तिर छिरे, चोर लामाको कार्यकक्ष तिर छिरेछन् ।

नेपाल बाथरुमबाट बाहिर आउँदा ति ब्यक्ति बाहिर आईसकेका थिए ।

‘सर नमस्कार आराम हुनुहन्छ हतारमा हुनुहुन्छ जस्तो छ भन्यो’ सम्पादक नेपालले भने ‘मैले बिजुलीको बिल हेर्न आएको कोही होला भनेर वास्ता नगरि गाडी चढेर बाहिरिएँ, त्यसको बीस मिनेट नबित्दै ल्यापटप चोरी भएको खबर आयो ।’

प्रहरीका अनुसार श्रेष्ठले बिभिन्न १४ स्थानमा चोरी गरेको बताएका छन् । उनले बताए अनुसार हिमाल बाहेक चौधरी ग्रुपको कार्यालय ललितपूरबाट दुई वटा ल्यापटप चोरी गरेका छन् ।

तर चौधरी ग्रुपले एउटा मात्र चोरी भएको जानकारी गराएको थियो । अर्को ल्यापटप त्यहि काम गर्ने कर्मचारीको भएको खुलेको छ ।

एभ्रेष्ट होटल नयाँ बानेश्वर, अन्नपुर्ण होटल दरबारमार्ग, गोर्खा बैङक पुतलीसडक, नेपाल ईन्स्युरेन्स कम्पनी पुतलीसडकबाट ल्यापटप चोरी गरेका छन् । यस्तै युनिग्लोब कलेज बानेश्वर, प्रेसिडेन्ट ट्राभल्स एण्ड टुर्स दरबारमार्ग, मर्केनटायल कार्यालय दरबारमार्ग, साउथ एसिया ईन्ष्टच्युट नयाँ बानेश्वरबाट ल्यापटप चोरी गरेका थिए ।

यो बाहेक गोल्डेन लिगल मेनपावर नयाँ बानेश्वर, यति ट्राभल्स दरबारमार्ग, जम्बुरी एजुकेसन कमलादी र एसिय डिष्टीलरी ललितपूरमा चोरी गरेका थिए ।

कर्मचारी खाजा खान गएको मौका, अर्को कोठा वा सौचालय गएको मौका हेरेर यिनले चोरी गर्ने गरेका थिए ।

प्रहरीका अनुसार यि चोरले चोरी गर्ने ठाउँहरु प्राय मानिसको भिडभाड हुने ठाउँ रोज्ने गरेका छन् ।

‘अलि भिडभाड हुने स्थानमा एकरदुई जना मान्छे आएको गएको कसैले वास्ता गर्दैन’ डिएसपी अधिकारीले भने ‘अनि कर्मचारीको क्याबिनमा छिर्दै झोला हालेर लुसुक्क हिड्ने रहेछन् ।’

एभरेष्ट होटलमा प्रबन्ध निर्देशकको ल्यापटप चोरी गरे । चोरेर बाहिरीदै गर्दा उनलाई होटलका गार्डले सलाम समेत गरे ।

‘ठुला ठुला ब्यावसायीक भवनमा चोरी हुदाँ हामीलाई चोर पक्राउ गर्न दबाब थियो’ उनले भने ‘एक दिन एउटा ठाउँमा अर्को दिन अर्कोमा चोरी हुदाँ तनाब थियो ।’

अधिकारीका अनुसार यिनले ल्यापटप चोरी गरेर ३र४ वटा जम्मा भएपछि चितवनमा लगेर भाई र अर्का एक ब्यक्तिलाई दिने गरेका थिए ।

एप्पलको ल्यापटप हाता लाग्दा भने यिनी ल्यापटप बेच्न दिल्लीसम्म पुगेको प्रहरी बताउँछ ।

दिल्लीको नेहरु प्लेसको आईटी बजारमा पुर्‍याएर बेच्ने गरेका थिए । नेहरु प्लेस आईटी सम्बन्धी सक्कली र नक्कली दुवै किसिमका सामानका लागि प्रख्यात मानिन्छ ।

यो बाहेक गोरखपुर र लखनऊ पनि यिनीहरुको ल्यापटप बिक्रि गर्ने दोस्रो थलो हो ।

अधिकारीले ब्यावसायीक कम्प्लेक्समा चोरी हुनबाट जोगाउन सिसिटिभी क्यामरा राखिनुपर्ने सुझाब दिए ।

प्रहरीका अनुसार श्रेष्ठ तीन बर्ष अघि पनि ल्यापटप चोरी गरेकै अभियोगमा पक्राउ परेका थिए ।

गौशालाको एउटा मेनपावरमा चोरी गरेको आरोपमा समातिएका उनलाई जिल्ला अदालत काठमाडौंले ६ लाख रुपैंया धरौटीमा छाडेको थियो ।

प्रहरीले यिनीहरुको साथबाट डेल कम्पनीको चार र एप्पलको एउटा ल्यापटप बरामद गरेको छ ।