काठमाडौं, ७ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ६५ जिल्लाको नेतृत्व बाँडफाँड भएको छ । प्रदेश र जिल्ला एकीकरणका लागि गठित कार्यदलहरूले बुधबारसम्म ती जिल्लामा नेतृत्व बाँडफाँड गरेका हुन् ।
६५ मध्ये पूर्वएमालेले ३९ र पूर्वमाओवादीले २५ जिल्ला अध्यक्ष पाउने गरी कार्यदलहरूले प्रतिवेदन बुझाएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
गण्डकी प्रदेशमा भने विनासहमति नेतृत्व सिफारिस भएको छ । ११ वटै जिल्ला अध्यक्ष र सचिवमा पूर्वएमाले र पूर्वमाओवादीका तर्फबाट छुट्टाछुट्टै नाम केन्द्रीय सचिवालयमा सिफारिस भएको हो ।
३ नम्बर प्रदेशमा १३ भूगोल जिल्ला र ४ विशेष जिल्ला कमिटीको नाम एकीकरण कार्यदलले सर्वसम्मत सिफारिस गरेको छ ।
नेकपामा ७७ वटा भूगोल र ४ विशेष जिल्ला कमिटी छन् । तीमध्ये १७ वटा जिल्लाको नेतृत्व बाँडफाँड टुंगिन सकेको छैन ।
प्रदेश १ मा ३, प्रदेश २ मा १, गण्डकी प्रदेशका ११ र कर्णाली प्रदेशका २ जिल्लाको नेतृत्व कसले पाउने कार्यदलले अझै टुंगो लगाउन सकेको छैन । यद्यपि, कर्णाली प्रदेशको कालिकोट पूर्वमाओवादी र मुगु पूर्वएमालेले लिने गरी अन्तिम समझदारी हुन लागेको कार्यदलका एक सदस्यले बताए ।














प्रतिक्रिया