टेक्सस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले दलभित्र आन्तरिक द्वन्द्व गर्नेभन्दा एकजुट भएर कम्युनिष्टसँग लड्नुपर्ने अवस्था रहेको बताएका छन् ।
शनिबार अमेरिकाको टेक्ससस्थित ड्यालसमा नेपाली जनसम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा पूर्वमन्त्री गिरीले दल र भातृसंस्थाहरू तितरबितरको अवस्थामा रहेको समेत उल्लेख गरे ।
‘दलको सबै विभाग समेत गठन भएको छैन, नेविसंघको अवस्था तीनतीनवटा भएको छ’, गिरीले भने । यस्तो अवस्थामा नेपाली कांग्रेस कताकता अन्यौलमा परेको हो कि भन्ने सबै कार्यकर्ताहरुमा गुनासो रहेको बताए ।
जनसम्पर्क समिति क्यानडाको अधिवेशनमा सहभागी हुन जाने क्रममा ड्यालस आइपुगेका पूर्वमन्त्री गिरीले पार्टीभित्र रहेको गुट–उपगुटलाई आफूले स्वीकार नगर्ने समेत बताए । ‘गुट रहनु हुँदैन भन्ने मान्यता बोकेर म हिँडिरहेको छु, नेताहरू दुरदर्शी र चलाख हुनुपर्छ’, उनले भने ।
आफू क्याबिनेट मन्त्री भएकै अवस्थामा तत्कालीन प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्ध ल्याइएको महाभियोग प्रस्तावका बारेमा कुनै जानकारी नदिइएकोप्रति समेत उनले गुनासो गरेका थिए ।
‘महाभियोग दर्ता हुँदै रहेछ, म क्याबिनेट मन्त्री । मलाई समेत जानकारी नदिई दर्ता गरियो । मेरो विचारमा त्यो पार्टीभित्र र क्याबिनेटभित्र छलफल हुनैपथ्र्यो’, उनले भने ।
नेपाली कांग्रेस गत निर्वाचनमा पराजित हुनुमा तत्कालिन प्रधान न्यायाधीश कार्कीमाथि प्रस्ताव गरिएको महाभियोग सबैभन्दा मुख्य कारक ठानिएको छ ।
पार्टीका नेताहरुबाट गल्ती भएको स्विकार गर्दै गिरीले वर्तमान सरकारले विकासका क्षेत्रमा केही नगरेको, लोकतन्त्रका अङ्गहरु कमजोर बनाएकाले अन्ततः जनतामा कांग्रेसनै ठीक भन्ने भावना जागिसकेको बताए ।
कार्यक्रममा तरुण दलका नेता प्रगतिमान रञ्जितले नेपालमा कम्युनिष्टले राज गरिरहेको अवस्था रहेको र आफ्नै नेता, कार्यकर्ताहरुमा बेमेलको अवस्था रहेको उल्लेख गरे ।
नेपाली कांग्रेस सिन्धुलीका सभापति उज्वल बरालले नेतृत्वबाट गल्ती भएको स्वीकार भैसकेको बताए । ‘स्थानीय व्यबस्था, शासन व्यबस्था हामीले लडेर ल्यायौँ, हाम्रो व्यबस्था छ । तर अहिले कम्युनिष्टले रजाई गरिरहेका छन्’, बरालले भने ।
कार्यक्रममा उपस्थितहरुलाई स्वागत गर्दै नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रिय सदस्य हरिबोल भण्डारीले क्यानडाको आउँदो साता हुने अधिवेशनपछि अमेरिकामा पनि सकारात्मक प्रभाव पर्ने उल्लेख गरे । भण्डारीले अहिले अमेरिकाको जनसम्पर्क समितिभित्र अन्यौलता रहेको स्पष्ट पार्दै बिस्तारै समाधान हुँदै जाने विश्वास व्यक्त गरे ।
जनसम्पर्क समिति ड्यालस फोर्टवर्थका सभापति ज्ञानेन्द्र कार्कीको सभापतित्वमा भएको अन्तरकृयामा काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे, जनसम्पर्क समिति डिएफडब्लुका उपसभापति सुभेन्द्र रानाभाट, जनसम्पर्क समिति अमेरिकाका उपसभापति सिपी पौडेल लगायतले कांग्रेसको अवस्थाप्रति चिन्ता व्यक्त गरेका थिए ।















प्रतिक्रिया