१२ कार्तिक २०८३, बिहिबार

प्रदेश ५ मा यसकारण विवाद, महरा र पोखरेलको जिल्ला पनि विवाद

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ भदौ । प्रदेश ५ को एकीकरण कार्यदलले पार्टी अध्यक्षद्वयको एकीकरण निर्देशनविपरीत जिल्लाको नेतृत्व सिफारिस गरेको भन्दै केन्द्रीय कार्यालयमा उजुरी परेको छ । अर्घाखाँची, पाल्पा, दाङलगायत जिल्ला कमिटी नेतृत्व सिफारिसप्रति असन्तुष्टि आएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

अर्घाखाँचीका पूर्वएमाले नेताहरूले महासचिव पौडेललाई सम्बोधन गर्दै उजुरी दर्ता गराएका हुन् । पूर्वएमालेका कार्यबाहक जिल्ला अध्यक्ष जीवनारायण कोइराला, सचिव रामबहादुर चौहान, उपसचिव प्रेमनारायण गैरेलगायतले एकीकरण कार्यदलले जिल्ला कमिटी तहमा कसैसँग राय नलिई केन्द्रको निर्देशनविपरीत नेतृत्वको नाम सिफारिस गरेको आरोप लगाएका छन् ।

‘केन्द्रले जिल्ला कमिटी तहमा राय–सल्लाह गरेर मात्र संख्या र नेतृत्व टुंग्याउन निर्देशन दिए पनि कार्यदलले कुनै परामर्श नगरी मापदण्डविपरीत नेतृत्वको नाम सिफारिस गरेको छ,’ असन्तुष्ट एक नेताले भने, ‘कार्यकर्तालाई निराश पार्ने सिफारिसलाई कसैले पनि स्विकार्ने स्थिति छैन ।’ जिल्ला सदस्य पीताम्बर भुसालको नाम अध्यक्षमा सिफारिस भएको छ ।

तर, कार्यदल सदस्य दलबहादुर रानाले आफूहरूलाई उजुरीबारे थाहा नभएको बताए । पद पाउने सम्भावना नभएपछि असन्तुष्टहरू मिलेर असन्तुष्टि जनाएको हुन सक्ने उनको भनाइ छ । ‘हामीले तल सबैसँग परामर्श गर्न समय पुग्ने कुरा भएन, सम्बन्धित जिल्ला इन्चार्ज र अध्यक्षले परामर्श गरेर ल्याउनुस् भनेका थियौँ,’ रानाले भने, ‘आफूले पदीय जिम्मेवारी पाए हुन्थ्यो भन्ने साथीहरूको आकांक्षा हुनु स्वाभाविक हो, तर हामीले दुवैतर्फ मिलाउनुपर्ने भएकाले थुप्रै नेतृत्वको आकांक्षी साथीहरू छुट्नुभएको छ, संख्याको सीमाले गर्दा कति साथीहरू पर्न सक्नुभएन होला ।’

मगरबाहुल्य जिल्ला पाल्पामा उपाध्यक्ष मोहन थापामगर, उपसचिव कमल पाण्डेलाई बाइपास गरेर पूर्वअध्यक्ष तथा पूर्वसांसद राधाकृष्ण कँडेलको नाम सिफारिस गरिएको आरोप लागेको छ । दाङमा पूर्वएमालेका बाहलवाला जिल्ला अध्यक्ष टीकाराम खड्काको सट्टा पदाधिकारी नै नरहेका सदस्य शिव आचार्यलाई अध्यक्षमा सिफारिस गरेको असन्तुष्ट पक्षको आरोप छ । दाङ मुख्यमन्त्री शंकर पोखरेल र प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराको गृहजिल्ला हो ।

त्यस्तै, महासचिव पौडेलको गृहजिल्ला रूपन्देहीमा उपाध्यक्ष पुरुषोत्तम घिमिरे हुँदाहुँदै प्रदेश कार्यालयमा रहेका गोपाल भट्टराईको नाम सिफारिस गरिएको आरोप लागेको छ । बाँकेमा पूर्वएमालेको भागमा परेको सचिव पदमा अध्यक्ष, उपाध्यक्ष र सचिवको सट्टा जिल्लाका जुनियर सदस्य गोपाल गिरीको नाम सिफारिस भएको असन्तुष्ट पक्षको आरोप छ ।

कार्यदलले प्रदेशका १२ जिल्लामध्ये दाङ, प्युठान, कपिलवस्तु, अर्घाखाँची, रुपन्देही, गुल्मी र पाल्पा तथा पूर्वमाओवादीले बर्दिया, बाँके, रोल्पा, नवलपरासी र रुकुमको नेतृत्वको नामसहित प्रतिवेदन महासचिव पौडेललाई बुझाएको थियो । जसअनुसार प्रदेश अध्यक्षका लागि दलबहादुर राना र गणेशमान पुनको नाम सिफारिस भएको छ ।