
काठमाडौँ, ३ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रवास संगठनको नाम ‘नेपाली प्रगतिशील प्रवासी मञ्च’ राख्ने प्रस्ताव गरिएकोमा विरोध भएको छ ।
तत्कालिन एमालेको प्रवासी नेपाली मञ्च र तत्कालिन माओवादी केन्द्रको नेपाली जनप्रगतिशील मञ्च गाभेर ‘नेपाली प्रगतिशील प्रवासी मञ्च’ राख्ने सिफारिस गरिएको सार्वजनिक भएपछि विदेशस्थित तत्कालिन एमालेका संगठनहरुले विरोध जनाउन थालेका हुन् ।
यसैक्रममा प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका अध्यक्ष रमेश पाण्डे र न्यूजील्याण्डका अध्यक्ष आत्माराम खनालले प्रस्तावित नामप्रति असहमति जनाएका हुन् । दैनिक नेपाल डटकमसँग कुरा गर्दै अष्ट्रेलियाका अध्यक्ष पाण्डेले प्रगतिशील जस्ता शब्दहरुले प्रवासमा बस्ने धेरै नेपालीहरुलाई समेट्न अप्ठेरो पर्ने बताए ।
पाण्डे भन्छन् – ‘संस्थाको नामाकरण गर्दा जनजिब्रोमा आधारित र सहज हुनु पर्छ भन्ने मेरो मान्यता हो । प्रवासमा रहेका संस्था प्रगतिशील, अप्रगतिशील, धनी, गरिब, गोरा काला जस्ता अव्यवहारिक र विभेदपूर्ण शब्दहरु राखिनु हुँदैन । पश्चिमा लोकतन्त्रमा यस्ता शब्दहरु अत्यन्त आपत्तिजनक हो र मैले अष्ट्रेलियन कन्टेक्समा यो राख्दैछु र प्रगतिशील भनेर छुट्याउनु हुँदैन भन्ने मेरो जिकिर हो ।’
नेकपाको प्रवास संगठनको नाम नेपाली प्रगतिशील प्रवासी मञ्च राख्ने कुरा सार्वजनिक भएपछि अन्य देशबाट समेत विरोधका स्वरहरु आउन थालेका छन् । यस्ता विभेदपूर्ण नाम राखेर पश्चिमा देशहरुमा संगठन चलाउन अप्ठेरो पर्न सक्ने प्रवासी नेताहरुको भनाइ छ ।















प्रतिक्रिया