२८ आश्विन २०८३, बुधबार

एमाओवादी विवाद मिल्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Puspakamal n Baburamकाठमाडौं । एमाओवादीमा संस्थापन र नेता बाबुराम भट्टराई पक्ष सहमतिनजिक पुगेका छन् । अध्यक्ष पुष्पकमल दाहालले विराटनगर राष्ट्रिय सम्मेलनमा भट्टराईले उठाएको सात बुँदे फरक मतलाई पार्टीभित्र बहसमा लैजाने सहमति जनाएपछि विवाद मिल्न लागेको हो ।

दाहालले शनिबार केन्द्रीय समिति बैठकमा भट्टराई पक्षसँग विवाद मिल्ने क्रममा रहेकाले बैठक सोमबारसम्म स्थगित गरेको जानकारी गराए । ‘बाबुरामले उठाएका मागलाई पार्टीमा तलसम्म छलफलमा लैजाने अध्यक्षले बैठकमा जानकारी गराउनुभयो,’ दाहालका स्वकीय सचिव चूडामणि खड्काले भने, ‘कार्यविभाजनबारे पनि सकारात्मक कुराकानी भएको छ ।’

भट्टराईले ती ७ बुँदेलाई परिमार्जन गरी दाहाललाई बुझाएका छन् । राजनीतिक रूपमा संविधान निर्माणमा केन्द्रित हुने कुरालाई प्रस्ट रूपमा दस्तावेजमा लेख्नुपर्ने, पार्टीमा ‘सत्ता र शक्ति’ एक ठाउँमा हुने सांगठनिक ढाँचालाई परिवर्तन गर्नुपर्ने, अन्तरसंघर्षलाई व्यवस्थित गर्नुपर्ने र आफूले उठाएका कुरा पार्टीभित्र र बाहिर बहसका रूपमा लैजानुपर्ने, बहसलाई महाधिवेशनसम्म लैजानुपर्ने भट्टराईले उल्लेख गरेका छन् ।

स्रोतका अनुसार भट्टराईको फरक मतलाई दाहालले ‘सकारात्मकु रूपमा लिएका छन् । भट्टराईले केन्द्रीय पदाधिकारी (हेडक्वाटर) ११ जनासम्म हुनुपर्ने मौखिक रूपमा आग्रह पनि गरेका छन् । यसबारे निकट नेताहरूसँग छलफल गरी दाहालले सोमबार केन्द्रीय समिति बैठकमा भट्टराई पक्षलाई सहभागी गराउने गृहकार्य थालेका छन् । दाहाल र भट्टराईबीच शनिबार दाहाल निवास लाजिम्पाटमा विवाद मिलाउनेबारे कुराकानी भएको थियो । ‘बाबुरामले हेडक्वाटर ११ जनाको बनाउने प्रस्ताव गर्नुभएको छ,’ स्रोतले भन्यो । दाहाल भट्टराई पक्षलाई महासचिव दिने पक्षमा छैनन् ।

कुराकानीमा भट्टराईले दाहालको विरोध गर्न पार्टीको संगठनात्मक ढाँचा परिवर्तन गर्न खोजेको नभई विधि र प्रणालीको विकास गर्न खोजेको बताएका छन् । ‘यो प्रचण्डप्रतिको प्रश्न होइन, पुरानो सांगठनिक ढाँचाले सत्ता र शक्ति एउटै व्यक्तिमा केन्द्रित हुन पुग्यो,’ भट्टराईको भनाइ थियो, ‘जसका कारण व्यक्तिको चाकरी गर्ने परम्परा बस्यो, यसले पार्टी पुनर्निर्माण हुँदैन ।’

भट्टराईनिकट नेता देवेन्द्र पौडेलले पदाधिकारी, केन्द्रीय समिति र संसद्मा जिम्मेवारी बाँडफाँडलगायत अन्य राजनीतिक विषयमा सकारात्मक कुराकानी भइरहेको बताए । ‘एकरदुई दिनमा प्याकेजमा कुरा मिल्ने देखिएको छ,’ उनले भने, ‘संगठनका केही कुरा मिलाएर लैजाने र केही महाधिवेशनसम्म छलफलका रूपमा लैजाने कुरा भएको छ ।’ कान्तिपुर दैनिकबाट