१ कार्तिक २०८३, शनिबार

अप्राकृतिक यौन दुराचारी क्यानेडियन नागरिक नेपालमा पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hatkadi Pakrauकाठमाडौं, ३ माघ । कुख्यात यौन दुराचारीका रूपमा संसारभर चिनिएका एक अन्तर्राष्ट्रिय अपराधी नेपालमा पक्राउ परेका छन् ।

लकहरूसित अप्राकृतिक मैथुन गरेको आरोपमा क्यानेडियन नागरिक अर्नेस्ट फेनविक म्याकइन्टोस पक्राउ परेका छन् ।

म्याकइन्टोस यौन दुराचारसम्बन्धी अपराधमा विश्वमै कुख्यात मानिन्छन् ।

क्यानडामा मात्र नभएर उनीविरुद्ध भारत तथा अफ्रिकी देशहरूमा पनि मुद्दा दायर छन् । चार दशकदेखि उनीमाथि यस्ता मुद्दा लाग्न थालेका हुन् ।

ललितपुर प्रहरीले गत ४ पुसमा उनलाई पक्राउ गरेको हो । बुधबार जिल्ला अदालत ललितपुरबाट उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको ललितपुर प्रहरीका प्रवक्ता डिएसपी पवन गिरीले बताएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

म्याकइन्टोसले दुई बालकलाई अप्राकृतिक मैथुन गरेको अनुसन्धानबाट खुलेको छ । अरू बालक पनि पीडित हुन सक्ने र अनुसन्धान जारी रहेको डिएसपी गिरीले बताए ।

पुल्चोकस्थित क्याफे ब्राजिल गेस्ट हाउसमा बस्दै आएका म्याकइन्टोसले विभिन्न प्रलोभन देखाएर बालकहरूलाई आफ्नो कोठामा लैजाने र अप्राकृतिक मैथुन गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

एक बाल अनाथालयमा पुगेर केही समयअघि उनले दुईजना बालकलाई सहयोग गर्ने भन्दै जिम्मा लिएका थिए ।

तीमध्ये एक बालकलाई उनले गत २७ मंसिरमा आफ्नो डेरामा लिएर गएका थिए ।

बालकको कपडा खोलेर उनले अप्राकृतिक मैथुन गरेको पीडितले दिएको उजुरीमा उल्लेख छ ।

गत २८ साउनमा म्याकइन्टोस हवाईमार्ग हुँदै भारतबाट नेपाल आएका थिए । त्यसयता उनी ब्राजिल गेस्ट हाउसमा बस्दै आएका थिए ।

उनले आफूलाई समाजसेवीका रूपमा चिनाएर बालकहरूसँग नजिकिने गरेका थिए ।

घटनाको सात दिनपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । सुरुको बयानमा उनले घटना अस्वीकार गरेका थिए ।

‘पछि पोलिग्राफ मेसिनको सहयोगमा बयान गराउँदा स्वीकार गरेका हुन्,’ डिएसपी गिरीले भने, ‘पोलिग्राफ टेस्टका क्रममा अर्का एक बालकलाई पनि उनले यौनशोषण गर्न खोजेको खुल्यो, ती बालकसँग बुझ्दा घटना प्रमाणित भयो । ठमेल र असन क्षेत्रका सडक बालबालिकलाई पनि उनले गेस्ट हाउसमा लिएर जाने गरेको अनुसन्धानमा खुलेको छ ।’

ललितपुर प्रहरीले म्याकइन्टोसलाई मुलुकी ऐनको जबर्जस्ती करणी महलको ९ क को कसुरअनुसार मुद्दा दायर गरेको छ ।

ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकबहादुर कँवरको इजलासले उनलाई पुर्पक्षमा पठाउने आदेश दिएको हो । अदालतको आदेशमा उनी नख्खु कारागार चलान भएका छन् ।

पासपोर्ट नम्बर बिए ४५३२४९ भएका म्याकइन्टोसले आफू क्यानेडियन आर्मीबाट रिटायर्ड भएको बयान दिएका छन् ।

जब कि क्यानेडियन मिडियाले उनी व्यापारी भएको उल्लेख गरेका छन् । उनी नेपालको जेलमा रहेका अर्का अपराधी चाल्र्स शोभराजजस्तै कुख्यात भएको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी बताउँछन् ।

बाल यौनदुराचार एक किसिमको मानसिक रोग हो । यस्ता रोगीले प्रायस् ११ वर्षभन्दा कम उमेरका बालबालिकालाई आफ्नो निशाना बनाउने गर्छन् । कलिला बालबालिकाका यौनांगसँग खेल्न उनीहरू रुचाउँछन् ।

प्रायस् पश्चिमी देशहरूमा यस्तो समस्या छ । पश्चिमी देशका नागरिक यस्तो अपराधमा नेपालमा पटक–पटक पक्राउ पर्दै आएका छन् । दुई वर्षअघि एक कुख्यात बाल यौन दुराचारी पक्राउ परेका थिए भने चार महिनाअघि मात्र अमेरिकामा मोस्ट वान्टेड रहेका अर्का निल स्ट्यामर नेपालमा पक्राउ गरी अमेरिका फर्काइएका थिए ।

हालै पक्राउ परेका म्याकइन्टोस भारत तथा श्रीलंकामा पनि यस्ता अपराधमा संलग्न थिए । द स्टार डटकमका अनुसार भारतको गान्धी आश्रमका बालकहरूलाई उनले घुमाउन लैजाने तथा पार्टी दिने भन्दै होटलमा लगेर यौन दुराचार गर्थे । तर, प्रहरीमा उजुरी नपुगेकाले उनी त्यहाँ पक्राउ परेनन् ।

नेपालमा पक्राउ परेपछि उनले आफ्नो परिचय लुकाउन खोजेको प्रहरी अधिकारी बताउँछन् । आफ्नो समाचार कुनै हालतमा सार्वजनिक नगर्न उनले मिडियामा दबाब दिएका थिए ।