२८ आश्विन २०८३, बुधबार

बाँदरको समाधान खोज्दै निकुञ्ज विभाग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Monkeyकाठमाडौं । राजधानीको काँठक्षेत्र र आसपासका बस्तीमै आएर बाँदरले दुःख दिन थालेपछि वन मन्त्रालयमातहतको राष्ट्रिय निकुञ्ज विभागले समाधानका उपाय खोज्न थालेको छ ।

पहिलो चरणमा विभागले प्रभावित स्थानको अनुगमन गरेको छ । विभागका इकोलोजिष्ट एवं प्रवक्ता महेश्वर ढकाल र नागार्जुन-शिवपुरी निकुञ्जका अधिकारीले शनिवार जीतपुरफेदीअन्तर्गत् ओशोतपोबन क्षेत्रको स्थलगत अध्ययन गरेका छन्  । उत्तरपश्चिममा फैलिएको नागार्जुन-शिवपुरी राष्ट्रिय निकुञ्जुसंग जोडिएका गोलढुंगा, जीतपुरफेदी, धर्मस्थली, झोर महांकाल, विष्णु बुढानिलकण्ठ, गोकर्ण, सुन्दरीजलगायतका स्थानमा बाँदरले दुःख दिएको भन्दै स्थानीयवासीले समाधानका लागि हेलो सरकार गुहारेका थिए ।

स्थलगत अध्ययनपछि इकोलोजिष्ट ढकालले ओशो तपोवन र पिकनिकमा जाने व्यक्ति र पर्यटकहरुले दिएका खानेकुराले उसको बानी बिग्रिएको पाईएको बताए । ‘होटल सञ्चालकहरुले खानेकुरा फ्याँक्ने र पर्यटकलेसमेत माया गर्ने भएकाले बाँदर मानववस्तीकै छेउछाउ रमाउने गरेको पाईयो,’ उनले भने, ‘होटलमा बचेका खानेकुरा बाहिर नफ्याँक्न भनेका छौं ।’

बाँदरविशेषज्ञ त्रिवि प्राणीशाश्त्र विभागका प्राध्यापक मुकेशकुमार चालिसेले पनि मानिसले दिएका कुरामा बानी परेकाले मिठो खानाको आशमा यो जनावर सहर पसेको बताए । ‘सहरभित्रै जहाँतहीं खानेकुरा पाईन थालेपछि तीनले प्राकृतिक वातावरणका खानेकुराको स्वादै बिर्से,’ उनले भने, ‘मान्छेसंगको संगत र निकटताले उनीहरुको खानपिनमै परिवर्तन आयो ।’ खानेकुरा जथाभाबी फ्याँकिएकै कारण मठमन्दिर र घनाबस्तीमा बाँदर रमाउने गरेको उनले बताए ।

‘खानेकुरा सहजै पाईने ठाउँमा बाँदर आउनु स्वभाविकै हो’ उनले भने । विमानस्थल छेउमा खानेकुरालगायत फोहोर फ्याँकिएकै कारण बेलाबखतमा धानवमार्गमै आएर बाँदरले बितन्डा मच्चाउने गरेका छन् । विमानमा बचेका खानेकुरा एअरपोर्टको पूर्वीक्षेत्रको जंगलमा फ्याँकिने गरेकाले त्यसो नगर्न विभागले आग्रह गरेको छ । फोहोरकै कारण चरालेसमते विमानस्थलमा दुःख दिने गरेका छन् ।

स्थानीयवासीले निकै दुःख पाएका र संवेदनशिल क्षेत्रका बाँदर स्थानान्तरणबारे पनि विभागले सोच बनाएको छ । विशेषज्ञ चालिसे पनि तिनलाई स्थानान्तरण र अनुसन्धानमा प्रयोग गर्नुबाहेक विकल्प नभएको तर्क गर्छन् । ‘बाँदर मार्नु त हुन्न,’ उनले थपे, ‘कि टाढा लगेर छोड्नुपर्‍यो कि अनुसन्धानमा प्रयोग गर्नुपर्‍यो ।’

खेत, बारीको बाली, अन्न, फलफूल मात्रै होइन, घरभित्रै बाँदर पसेर पकाएका खाना र अन्नभण्डार नास गर्न थालेपछि केहि महिनाअघि स्थानियवासीले समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयअन्तर्गतको हेलो सरकार गुहारेका थिए । राजधानीका विभिन्न स्थानमा तीन प्रजातिका बाँदर छन् । सबैभन्दा बढी रातो बाँदर १२ सयको हाराहारीमा छन् । सबैभन्दा दुःख दिने भनिएका तीनै प्रजातिका हुन् । पहरे बाँदर २ सय ५० को हाराहारीमा छन् भने लंगुर जातका कहींरकहीं मात्रै छन् । कान्तिपुर दैनिकबाट