
-मिना बुढाथोकी
सल्यान, ३० साउन । अरुको सुरक्षामा २४सै घण्टा तैनाथ रहने जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरीहरु आफू भने रातो स्टिकर टाँसेको जोखिमपूर्ण घरमा बस्न बाध्य छन् । ०७२ बैशाख १२ गतेको भूकम्पपछि जीर्ण बनेको जिल्ला प्रहरी कार्यालय सल्यानको भवनमा जिल्ला प्राविधिक कार्यालय सल्यानलले बस्नै नमिल्ने भन्दै रातो स्टीकर टाँसेको छ ।
सुरक्षाको दृष्टिकोणले जोखिमपूर्ण भनेर प्रमाणित हुँदा पनि प्रहरीहरु भने सोही भवनमा बस्न बाध्य छन् । झण्डै ७० वर्ष पुरानो कच्ची बयारेक भवन भूकम्पले क्षतिग्रस्त बनेपनि त्यसको विकल्प नभएकोले अहिलेसम्म आफूहरु त्यसैमा बस्दै आएको प्रहरी जवानहरुले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानको ब्यारेक भवन धेरै वर्ष पुरानो र जीर्ण अवस्थामा रहेपनि पुनर्निर्माण हुन सकेको छैन । ब्यारेक भवन पुरानो र जीर्ण अवस्थामा रहेको हुँदा यहाँ बस्ने प्रहरी जवानलाई जोेखिम मोलेर भएपनि बस्नै पर्ने बाध्यता रहेको छ । ६ कोठाको दुई तले कच्ची भवनमा अहिले झण्डै ४० जना प्रहरी जवानहरु बस्दै आएका छन् ।
नयाँ ब्यारेक भवन निर्माण नहुँदासम्म प्रहरी जवानहरुले जोखिम मोलेरै भएपनि यस भवनमा गुजारा गरिरहेको इनिस्पेक्टर भानु शर्माले बताए । ‘हामीले कर्णाली प्रदेश प्रहरी कार्यालयमा भवन निर्माण तथा मर्मतका लागि जानकारी गराई सकेका छौ’, उनले भने, ‘तर अर्को भवन निर्माण नहुँदासम्म प्रहरी जवानले जोखिम मोलेर भएपनि गुजारा गर्नु पर्ने भएको छ ।’ तर अहिले सम्म अर्को भवन बन्ने नबन्ने विषयमा कुनै टुङ्गो लागेको छैन ।
भूकम्पपछि यो भवनमा बस्नु जोखिमपूर्ण भनेर आफूलाई जानकारी हुँदा पनि भवनमा बस्नुको विकल्प नरहेको प्रहरी जवानहरुले बताएका छन् । कतिपय प्रहरीहरु भने नजिकैको घरहरुमा कोठा भाडामा लिएर पनि बस्दै आएका छन् ।
जिल्ला प्रहरी कार्यालयको भवन २०१२ सालमा बनेको भएको भएपनि ब्यारेक भवन भने अझैँ केही वर्ष पुरानो रहेको स्थानीयको भनाई छ । ‘सल्यानमा ०१२ सालमा प्रहरी कार्यालय बसेको हो’, स्थानीय यज्ञ बहादुर थापाले भने, ‘प्रहरी कार्यालय बस्नु भन्दा अगाडी नै यहाँ त्यो ब्यारेक भवन थियो, यो भवन धेरै पुरानो भइसकेको छ ।’
जिल्ला प्रहरी कार्यालयमा कार्यरत महिला जवानहरुका लागि पनि ब्यारेकको आवश्यकता रहेको भएपनि उनीहरु कार्यालय बाहिर स्थानीयको घरमा कोठा भाडामा लिएर बस्नु पर्ने बाध्यता रहेको उनीहरुको भनाई छ । माथिल्लो निकायमा यहाँको समस्याबारे जानकारी गराएको उनीहरुले बताएका छन् ।












प्रतिक्रिया