२८ आश्विन २०८३, बुधबार

मसिना दलसँग एकता खोज्दै संघीय समाजवादी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ashok-Raiकाठमाडौं । संघीय समाजवादीले जातीय पहिचानसहितको संघीयता र संघीयतासहितको संविधानका निम्ति संविधानसभामा नरहेका १२ दलसित एकता गर्ने भएको छ । त्यसका लागि एकताको आधारविन्दु निर्माणमा जुटेको अध्यक्ष अशोक राईले बताए ।

‘जातीय पहिचानसहितको संघीय संविधान निर्माणका निम्ति सडक र संविधानसभामा आवाज उठाउन एकताको प्रस्ताव गरेका छौं,’ अध्यक्ष राईले भने, ‘अहिले एकताको आधार खोज्दैछौं ।’ संघीयता पक्षधरसित एकताको सम्भावना खोजीसँगै तत्कालका निम्ति सहकार्य गर्ने सहमति भएको उनले जनाए ।

संघीयय समाजवादीले सामाजिक लोकतान्त्रिक पार्टी, खस समावेशी राष्ट्रिय पार्टी, लोकदल, तराई थरुहट पार्टी, संघीय लोकतान्त्रिक मञ्च लिम्बुवान, संघीय लोकतान्त्रिक मञ्च थरुहट, संघीय गणतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टीलगायतसित एकताको प्रस्ताव राख्दै औपचारिक पत्र पठाएको छ । पार्टीको शनिबारको स्थायी कमिटी बैठकले यसलाई औपचारिकता दिएको छ । तीमध्ये कतिपय पार्टीले मुद्दागत सहकार्यमात्र गर्ने प्रतिक्रिया दिएका छन् ।

संविधानसभामा समाजवादीको समानुपातिकतर्फबाट पाँच जना सभासद छन् । अध्यक्ष राई स्वयं सभासद बनेपछि पार्टीमा असन्तुष्टि चुलिएको थियो । केही पदाधिकारीले राजीनामै दिए । कतिपय निष्क्रिय बसे । नेतृत्व फितलो भएपछि उसले अन्य पार्टीसित एकता र सहकार्यको प्रस्ताव अघि बढाएको स्रोतको दाबी छ ।

पार्टी बैठकले सभासदहरूलाई संविधान निर्माण प्रक्रिया जारी रहँदासम्म विदेश भ्रमणमा नजान निर्देशन दिने निर्णय गरेको छ । उसले संविधानसभामा मनोनयन हुन बाँकी २६ सिटमा सर्वोच्च अदालतको फैसलाअनुसार राष्ट्रिय जीवनमा विशिष्ट योगदान पुर्‍याएका र संविधानसभामा प्रतिनिधित्व नपाएका आदिवासी जनजातिहरू नाम छनोट गरी सरकारलाई बुझाउने निर्णय गरेको छ । कान्तिपुर दैनिकबाट