‘लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो ।
हिमालचुली मुन्तिर पानी भर्ने पधेँरो ।’
साहित्यकार माधवप्रसाद घिमिरेले सिर्जना गरेको यो गीत कानमा ठोक्किने बित्तिकै जो कोही नेपाली पनि आनन्दको संसारमा शयर गर्न पुग्छ । किनकी यो गीतले नेपाल बोल्ने कोशिस गरेको छ । आफ्नो देशको गुण भरिएको गीत मात्र होइन, हरेक चीजले जुन कुनै देशका नागरिक पनि आनन्दित हुन्छन् । यो गीत रेकर्ड भएको धेरै पहिले हो, तर पुरानो नबुझ्नुहोला । किनकी सिर्जना कहिल्यै पनि पुरानो हुँदैन । प्रतिकात्मक रुपमा सृजित यो गीतमा भनिए जस्तो अचेल मेरो देश रमाइलो छैन् । किनकी पाखा, पखेराहरु उजाड भएका छन्, सेतो दाँत देखाएर मुस्काइरहने हिमालहरु भुत जस्ता काला भएका छन्, कालो हिमालचुलि मुन्तिरबाट धमिलो पानी बगिरहेको छ । दश वर्षसम्म त त्यो पधेँरोमा पानी होइन रगत बग्यो ।
मेरो देशको गीत अब अर्कै बनेको छ । ‘लाग्दछ मलाई न्यास्रो मेरै पाखा पखेरो, रित्तै भयो गाउँघर चारैतिर अँध्यारो ।’ अब मेरो देशको गाउँलाई टर्च लाइट बालेर खोज्नुपर्ने भएको छ । किनकी अचेल मेरो देशको गाउँले आफैलाई चिन्दैन । रङ फेरिएर डाँडाँमाथिको घाम भएका केही अनुहारलाई ठम्याएर सुस्केरा हाल्छ मेरो गाउँ । हरियो पाखाहरु राता भएका छन्, खरको छानो चुहिने भएको छ, गाउँमा न मलामी छन् न भलाद्मी नै । छन् त केवल बुढाबुढी र केटाकेटी । अचेल मेरो देश केवल लास बिसाउने मसानघाट भएको छ । मेरो देशलाई ८० प्रतिशत पहाडले ढाकेको छ । त्यहा केही बजार जस्ता शहर होलान् । सबै पहाडी गाउँको नियति यहि हो भन्न हिच्किच्याउनु पर्दैन ।
विश्वका सफल देशहरुको इतिहास हेर्ने हो भने त्यहाँ सबैभन्दा पहिला कृषि क्रान्ति भएको छ । यसको अपवादमा केही देशहरु पनि छन् । विकासको रेलमा दौडिरहेका केही खाडी मुलुकहरुको बालुवामा हामी नेपालीहरुले नै पसिना सिञ्चिएर पालुवा लगाइदिएका छौँ, उजाड मरुभूमिलाई हरियाली बनाएर तरकारी उमारिदिएका छौँ । दक्षिण कोरियाको खेतबारीमा पुगेर खच्चड भएका छौँ । कोरिया अहिले खरायोको गतिमा आर्थिक सम्बृद्धिको दिशातर्फ कुदिरहेको छ । त्यही कोरिया हो, १० वर्ष पहिले जहाँको अर्थतन्त्र धान्नको लागि हामीले अनुदान दिने गर्दथ्यौँ । यता हाम्रो जमीन भने रोइरहेको छ । हिजो मकै, कोदो, धानले हरियाली हुने हाम्रा खेतवारी नगदेवाली र उन्नत जातका तरकारीको पर्खाइमा छ । अचेल हामी यति मुर्ख भएका छौँ कि आफ्नो आमालाई रुवाएर पराई आमालाई खुशी पार्न तँछाडमछाड गरिरहेका छौँ ।
हामी नेपालीहरु यति सस्ता भएका छौ कि ३०/४० हजारमा सजिलैसँग आफूलाई बेचिदिन्छौँ । आफ्नो दाजुभाई बिक्री गरेकोमा मेरो देशको सरकार गर्व गर्छ । हामी त यति अभागी रहेछौँ कि बेचिन पनि पैसा तिर्नुपर्ने, राहदानी विभाग अगाडि घण्टौँ लाइन बस्नुपर्ने ।
कृषिप्रधान मेरो देशले ८ अर्बको चामल आयात गर्छ, त्यो भन्दा वढी तरकारी । सुन फल्ने देशको भूमि बाँझै भएकोमा सरकारलाई न पश्चाताप छ, न कुनै चिन्ता । विदेशमा १८ घण्टा पसिना चुहाउन खुसी हुने हामी स्वदेशमा १२ घण्टा मेहनत गर्न हिच्किचाउँछौँ । सत्ताको नाफा–घाटामा मस्त नेताहरु युवालाई स्वदेशमै स्वरोजगार बन्न हौसाउनुको साटो कति नेपाली बेच्ने भनेर विभिन्न देशसँग बार्गेनिङ गरिरहन्छन् । दुई जिब्रे देशभक्तहरुले एकातिर ताली पाउनको लागि देश समृद्धिको भाषण ठोक्छन् अर्कातिर नेपालीहरुलाई निर्यात गरिरहन्छन् ।
सोलुले सगरमाथा आरोहणको लागि गतबर्ष आएका पर्यटकबाट संकलित ३५ करोड रुपैँया खर्च गर्न सकेको छैन । अरुको त कुरा छोडौँ हरेक आर्थिक बर्षमा पारित भएको बजेटको ५० प्रतिशत रकम खर्च गर्न पनि धौ–धौ पर्छ, सरकारलाई । हामीसँग भएका पर्यटकीय चीजहरु मुल्यहीन भएका छन् । जसलाई प्रयोग गर्न कहिल्यै तदारुकता देखाएनौँ । जडिबुटीहरु बनमै कुहिएका छन् । पर्यटन प्रबद्र्धनको लागि भन्दै अर्बौँ बजेट छुट्टिए पनि त्यसको आधा भन्दा बढी हिस्सा निश्चित टाठाबाठाको खल्तीमा पुग्छ । अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल ‘टप टेन जोखिमपूर्ण पर्यटकीय गन्तव्य’ भनेर परिचित भएको तितो यथार्थ छ । यति हुँदाहुँदै पनि हामीले किन विदेशमा भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रचार गर्न सक्दैनौँ ? सीएनएन र बिबिसीबाट किन सगरमाथाको विज्ञापन गर्न सक्दैनौँ ? अन्नपूर्ण पदमार्ग जस्ता साहसिक गन्तव्यलाई किन ओझेलमा राख्छौ ? पर्यटन प्रबद्र्धन र विकासको लागि किन नेपालको युवालाई नेपालमै परिचालन गर्न सक्दैनौ ? किन स्वदेशमै रोजगारीको सिर्जना गर्न सक्दैनौँ ? किन रेमिट्यान्समा र्याल चुहाएर बस्छ हाम्रो सरकार ? ए बेरोजगार नेपाली हो, किन पार्टीको झण्डा बोकेर हड्ताल गर्छौ ? सक्छौ भने राजगारीको लागि आन्दोलन गरौ न । देश सम्बृद्ध बनाउनका लागि आन्दोलन गरौं न । सडक, विद्युत, कृषि, शिक्षाको लागि आन्दोलन गरौं न ।
जलस्रोतमा दोस्रो धनी देश भन्ने हामी १२ देखि १८ घण्टासम्मको लोडसेडिङमा बस्नुपर्ने जस्तो लज्जास्पद पीडा भोगिरहेका छौँ । अँध्यारोमा बस्ने बानी परिसकेका हामी नेपालीले अब त उज्यालो भविश्य देख्न पनि छाडिसकेका छौँ । खैर पछिल्लो समय भएका जलविद्युत सम्बन्धी पिटिए, पिडिए जस्ता सम्झौताले आशाको सञ्चार गराएको छ । हामी आफ्नो देश समृद्ध भएको देख्नै चाहेनौँ । देशको भविश्यप्रति हाम्रो देशका नेताहरु कहिल्यै चिन्तित भएनन् । त्यसैले त अहिलेसम्म पनि जलसम्पदा र प्राकृतिक श्रोतको प्रयोग गरेनौँ । हामीसँग उपलब्ध जलसम्पदाको २५ प्रतिशत मात्र उपयोग गरेर बिजुली उत्पादन गरी निर्यात गर्न सक्ने हो भने नेपाल विश्वकै राम्रो अर्थतन्त्र भएको मुलुकमा गनिन्छ । हामी कस्तुरी जस्तै भएका छौँ । कस्तुरीले आफ्नै पेटमा भएको सुगन्धयुक्त वीणाको महत्व नबुझेर सुगन्ध खोज्न जंगलभरी दौडिरहन्छ । मेरो देश प्राकृतिक श्रोत र साधनले त धनी भयो तर तयसलाई प्रयोग गर्ने विषयमा भने अत्यन्तै कमजोर । त्यसैले त दिनहुँ १५ सय युवा झोला बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलतिर लम्किरहेका छन् । हाम्रो शासन व्यवस्थाले गर्दा हामी धेरै भएर पनि केही नभए जस्ता भएका छौँ ।
कुराको चुरो भनेको देशमै रोजगारीको सिर्जना गर्ने र नेपालीलाई विदेशिनबाट रोक्नु हो । विश्वमा कुनै पनि यस्तो देश छैन, जसले आफ्नो नागरिकलाई विदेशमा पसिना बगाउन पठाउँछ र पसिनाको मूल्यले देश धनी बनाउँछ । देश सम्बृद्ध बन्नको लागि त आफ्नै देशमा पसिना चुहाउनु पर्छ । चटपटे बेचेर करोडपति बनिन्छ भन्ने उदाहरण हाम्रै देशका नागरिकले देखाएका छन् । हाम्रो जस्तो मुलुकको नागरिक पनि संसारको अर्बपतिको सूचीमा सुचीकृत भएका छन् । चाहने हो भने हामीहरुले नै हाम्रो देशलाई स्वर्ग बनाउन सक्छौँ । यदि मनमा नेपाली पन र मुटुमा नेपालको माया छ भने झुकेर होइन स्वावलम्वी भएर बाँचौं । देशको उज्ज्वल भविश्य कोर्न हामीबाटै सम्भव छ । यदि आन्दोलन गर्ने हो भने देश बनाउनलाई गरौ, नेता वनाउनलाई होइन ।














प्रतिक्रिया